मुख्यमन्त्री शंकर पोख्रेल आफै नै गरे सहिद कृष्णसेन इच्छुकको अपमान,

दाङ ,दाङको लमही–घोराही–तुलसीपुर सडकलाई यस अघि नै ‘सहिद कृष्णसेन मार्ग’ नामाकरण गरिएको र हाल त्यो नामाकरण हटाइएकोमा दाङमा व्यापक विरोध भइरहेको छ । वि.सं. २०६८ पुस ५ गते मंगलवार बसेको मन्त्रिपरिषद बैठकबाट सो राजमार्गलाई ‘सहिद कृष्ण सेन मार्ग’ नामाकरण गरिएको थियो ।

तर हालै बसेको दाङको जिल्लासभाको बैठकले सो राजमार्गको उक्त नामाकरण बदलेपछि यसका विरुद्ध विरोध सुरु हुन थालेको हो । घोराही–लमही सडकसमेत पर्ने गरी जिल्लासभाबाट नयाँ नाम प्रस्ताव अघि सारिएपछि बिहीवारदेखि यसको चौतर्फी विरोध शुरु हुन थालेकाे हाे ।
जिल्लासभाको निर्णयको विरोधसँगै ‘सहिद कृष्णसेन मार्ग’ कार्यान्वयनको पनि पहल थालिएको छ ।

यसैबीच सत्तारुढ नेकपानिकट अनेरास्ववियू दाङले सो मार्ग प्रचलनमा ल्याउन र आम जनमानसले बुझ्ने गरी चर्चामा ल्याउन घोराहीको गुम्राचौक र लमहीको अर्जुनखोलामा बोर्ड राखेको छ । तुलसीपुरमा पनि भोलि यस्तै बोर्ड राख्ने सो संगठनका केन्द्रीय सदस्य सन्तोष पोख्रेलले जानकारी दिए । यसैबीच संगठनका जिल्ला संयोजक जंगबहादुर रोकाले विज्ञप्ति जारी गरी २४ घण्टाभित्र जिल्लासभाको निर्णय सच्याउन जिल्ला समन्वय समितिसँग माग गरेका छन् ।

सहिदको बलिदानबाट प्राप्त लोकतान्त्रिक गणतन्त्रमा निर्वाचित जनप्रतिनिधिबाट सहिदकै नाम भेट्ने गरी प्रस्ताव आउनु अमान्य भन्दै विज्ञप्तिमा आफ्नो संगठनका संस्थापक अध्यक्ष सेन आफूहरुको आस्था र निष्ठाको प्रतिबिम्ब भएको उल्लेख छ । त्यस्तै नेपाल पत्रकार महासंघ दाङले पनि जिल्लासभाको सो निर्णय सच्याउन माग गरेको छ । २०६८ सालमा सो ‘कृष्ण सेन मार्ग’ घोषणा गरिएपछि नेपाल पत्रकार महासंघ र तत्कालीन क्रान्तिकारी पत्रकार संघले कार्यान्वायका लागि बोर्ड स्थापना गरेका थिए ।

बुधबार सम्पन्न दाङ जिल्लाको सभाले सो सडकको नयाँ नामाकरण (गोरक्ष मार्ग) बनाउने निर्णय गरेको थियो । दाङ जिल्ला समन्वय समितिको सभामा जम्मा ३० जना सदस्य रहेका छन् । जसमा नेकपाबाट २१ र नेकाबाट ९ जना रहेका छन् । कृष्ण सेनमार्ग नाम हटाएर गोरक्ष मार्ग नाम प्रस्ताव गर्नेमा प्रस्तावक सांसद अमरबहादुर डाँगी रहेको समाचारमा जनाइएको छ ।

डाँगी पूर्वएमाले नेता हुन् । जिल्ला समन्वय समितिको संयोजकमा जितेन्द्रमान नेपाली छन् भने सह–संयोजकमा श्रीधर शर्मापौडेल रहेका छन् । नेपाली पूर्वएमाले पृष्ठभूमीका हुन् र उनी शान्तिप्रकृयापछि मात्र माओवादीमा प्रवेश गरेका हुन् । नयाँ नामाकरण गर्ने निर्णयसभामा प्रमुख अतिथि सत्तारुढ नेकपा नेता तथा मुख्यमन्त्री शंकर पोख्रेल थिए । सो निर्णय गर्दा मुख्यमन्त्री पनि उपस्थित भएको समाचारलाई आधार मान्ने हो भने उनलेपनि सहिद कृष्ण सेनलाई अपमान गरेको मान्नु पर्ने हुन्छ ।

कृष्ण सेन इच्छुक राजनीतिक आस्थाका आधारमा माओवादी जनयुद्धलाई समर्थन गर्ने पत्रकार तथा साहित्यकार थिए । उनी २०५९ साल जेष्ठ १५ गते काठमाडौंबाट गिरफ्तारीमा परेपछि नेपाल प्रहरी क्लवभित्र कुटीकुटी हत्या गरिएका थिए । माओवादी युद्धमा सहभागी तथा समर्थकहरुले उनलाई आस्थाका धरोहर मान्छन् । उनकै नामबाट नामाकरण गरिएको राजमार्गलाई हालका पूर्वएमालेहरुले हटाउन खोजेपछि एकतामा गएका केही पूर्वमाओवदीहरुले सो कार्यको विरोध जनाइरहेका छन् ।

५ नम्बर प्रदेशका मुख्यमन्त्री समेतको उपस्थितिमा गरिएको सो नामाकरण अदलबदलले विशेष अर्थ राख्नेखालको छ । यसबाट पूर्वएमालेहरु माओवादीको नाममा स्थापना गरिएका कुनैपनि संरचनाहरु स्थापति गर्न चाहन्नन् भन्ने स्पष्ट भएको छ । लोकतन्त्रको नाममा पुरानै संरचना स्थापना गरिएको सत्तामा मिसिन गएका पूर्वमाओवादीहरुले संसदीय जालीझेली राजनीतिमा खप्पीस भएका एमालेहरुको प्रतिवाद कसरी गर्ने हुन् त्यो भने हेर्न बाँकी नै छ ।