सुदूरपश्चिम सरकारले ल्यायो सवा ३३ अर्बको बजेट

धनगढी, सुदूरपश्चिम सरकारले आगामी आर्थिक बर्ष २०७७-०७८ का लागि ३३ अर्ब २८ करोडको बजेट ल्याएको छ। प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहराले प्रदेशसभामा ३३ अर्ब २८ करोड १३ लाख ४८ हजार बराबरको बजेट प्रस्तुत गरेका हुन्।

गत आर्थिक वर्षको भन्दा यो वर्षको बजेट पाँच अर्ब बढी हो। गत वर्ष प्रदेश सरकारले २८ अर्बको बजेट ल्याएको थियो। चालूतर्फ १४ अर्ब १८ करोड ७८ लाख र पुँजीगततर्फ १६ अर्ब ७५ करोड ८४ लाख बजेट विजियोजन गरिएको छ।

प्रदेश सरकारले स्वास्थ्य, कृषि, सडक, खानेपानी, सिँचाई, उर्जा, तटबन्ध आदि पूर्वाधार विकासलाई प्राथमिकता दिएको छ। प्रदेश सरकारले ‘निर्वाचन क्षेत्र पूर्वाधार विकास कोष’ का लागि पनि बजेट छुट्याएको छ। प्रत्येक निर्वाचन क्षेत्रमा तीन करोडका दरले ९६ करोड बजेट विनियोजन गरिएको हो।

मन्त्री बोहोराले प्रदेश सरकारले वित्तीय समानीकरण, सशर्त विशेष र समपुरकसमेत गरी नेपाल सरकारबाट १४ अर्ब २१ करोड ८२ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको बताए।

चालू आबका लागि सोही शीर्षकमा नेपाल सरकारबाट प्रदेशले १४ अर्ब ५० करोड ३० लाख रुपैयाँ अनुदान प्राप्त गरेको थियो। सरकारले यस वर्ष कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणलाई प्राथमिकतामा राखेर स्वास्थ्य क्षेत्र सुधारका योजनामा बढी बजेट विनियोजन गरेको छ।

बजेटमा स्वास्थ्य क्षेत्रको सुधार, कोरोनाका कारण रोजगारी गुमाएकाहरूलाई स्वरोजगारको कार्यक्रमलाई प्राथमिकताका दिइएको छ। कोरोनाका कारण रोजगारी तथा आयस्रोत गुमाएका प्रदेशवासीलाई रोजगारी दिलाउने खालका कृषि कार्यक्रम, पूर्वाधार विकासका योजना र उद्योग विकासका कार्यक्रम अगाडि सारिएको छ।

बजेटमा अधिकांश पुरानै योजनालाई निरन्तरता दिइएको छ। यस्तै सरकारले आगामी वर्ष कोरोना भाइरसबाट प्रभावित भएकाहरुलाई लक्षित गर्दै रोगबाट बचाऔँ, भोकबाट जोगाऔँ अभियान, कामका लागि खाद्यान्न सञ्चालन गर्ने जनाएको छ।

बजेटमा विदेशबाट फर्केकाहरुलाई स्वरोजगारका कार्यक्रममा जोड्ने र त्यसका लागि स्वरोजगार कोष मार्फत विना धितो ऋण प्रवाह गरिने उल्लेख छ। स्वदेश फर्केकाहरुलाई कृषि र गैर कृषिमा आवद्ध हुने गरी कार्यक्रम ल्याइएका छन्। रोजगारी सिर्जनासँगै कृषिलाई व्यवसायिक बनाउनका लागि किसानलाई कृषि ऋण दिने घोषणा पनि सरकारले बजेट मार्फत गरेको छ।

स्वरोजगारी र रोजगारी सिर्जना गर्ने उद्यम र उद्यमीलाई पनि प्रोत्साहनका कार्यक्रम बजेटमा ल्याइएका छन्। बजेटमा स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिइएको छ। प्रदेशमा कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गर्दै संक्रमितको उपचारका लागि आवश्यकताका आधारमा थप श्यैया व्यवस्थापन गर्दै लैजाने, ९ वटै जिल्ला अस्पतालको स्तरोन्नति गर्ने, धनगढी, महेन्द्रनगर र डडेल्धुराका स्वास्थ्य संस्थाको स्तरोन्नति गर्ने, बैतडी, डोटी र अछाम अस्पतालमा मोलीक्युलर सेटअफ सहितको प्रयोगशाला स्थापना गर्ने बजेटमा उल्लेख छ।

यस्तै प्रदेशमा एउटा सुविधा सम्पन्न ट्रमा सेन्टर स्थापना गर्ने, एक सय श्यैयाको सरुवा रोग नियन्त्रण अस्पताल र क्यान्सर अस्पताल सञ्चालन गर्ने, सेती र महाकाली अस्पतालबाट विशिष्टकृत सेवा सञ्चालन गर्ने कार्यक्रम बजेटमा समावेश गरिएको छ।