कोरोना भाइरसविरुद्ध चीनको साहसिक कदम : मानिसमा परीक्षण गर्न अनुमति

एजेन्सी, चीनले कोभिड-१९ को उपचारका लागि प्रयोग हुने भ्याक्सिनको मानिसमा परीक्षणका लागि अनुमति दिएको छ। प्रयोगशालामा तयार भइरहेका दुई भ्याक्सिनलाई परीक्षणका लागि प्रारम्भीक चरणमा नै चीनले अनुमति दिएको हो। भ्या

क्सिन सम्बन्धि अनुसन्धान तथा विकास बेइजिङ स्थित सिनोभ्याक बायोटेक र सरकारी स्वामित्व रहेको फर्मासिटिकल समूह वुहान इन्स्टिच्युट अफ वायोलोजिकल प्रोडक्ट्समा भइरहेको छ।

चीनले सुरुवाती चरणमा नै मानिसमा परीक्षणको अनुमति दिएको हो। चीनमा कोभिड-१९ नियन्त्रणतर्फ रहे पनि इम्पोर्टेड केसहरु देखिइरहेका छन्। सिन्ह्वाले प्रयोगात्मक भ्याक्सिनलाई मानिसमा परीक्षणका लागि अनुमति दिइएको जनाएको छ। भ्याक्सिनका लागि ट्राइल गर्न चीनको राष्ट्रिय स्वास्थ्य आयोगले समेत अनुमति दिइसकेको अलजजिराले जनाएको छ। बेइजिङले मार्चमा चिनियाँ जनमुक्ति सेनाको मिलटरी मेडिकल साइन्स र बायोटेक फार्म क्यानसिनोलाई मानिसमा परीक्षणका लागि अनुमति दिएको थियो।

‘हामीले यो पुष्टि गर्न सकेका छौं कि चीनमा तीन वटा भ्याक्सिन परीक्षणका क्रममा छन्। चिनियाँ स्वास्थ्य आयोगले यसको विषयमा स्पष्ट भइसकेपछि मात्र विश्वव्यापी रुपमा उत्पादनमा जाने बताएका छन्,’ अल जजिराका हङकङस्थित पत्रकार साराहा क्लार्कले भनेका छन्। विश्वका वैज्ञानिकहरु यतिबेला कोरोना भाइरस विरुद्धको भ्याक्सिन अनुसन्धानमा जुटिरहेका छन्।

चीनले पहिलो पटक अनुमति दिएको भ्याक्सिनको दोस्रो ट्राइल सुरु भइसकेको छ। त्यसका लागि पहिलो चरणमा पाँच सय जनालाई स्वयम् सेवकको रुपमा परीक्षणका लागि छनोट गरिएको छ। उनीहरुमा भ्याक्सिनको प्रयोग गरी अनुसन्धान गरिने छ।

विश्वकै इतिहासमा यो पहिलो पटक हो – एक्टिभेट भइनसकेको भ्याक्सिन मानिसमा परीक्षणका लागि अनुमति दिइएको हो। यसले उपचारको आशा जगाए पनि हतार गर्न नहुने हङ्कङ विश्वविद्यालयका प्राध्यापक जोन निकोलासले बताएका छन्।

उनको समूह मुख्यभूमि चीन बाहिर पहिलो पटक प्रयोगशालामा अनुसन्धानका लागि भाइरस उत्पादन गर्ने मध्येको एक हो। ‘सामान्यतय भ्याक्सिनको परीक्षण साना जनावरमा गरिन्छ। त्यसपछि मात्र मानिसमा गरिन्छ,’ उनले भनेका छन्, ‘अहिले के देखिन्छ भने उनीहरु (चीन) सिधै मानिसमा गइरहेका छन्। यो साहसिक निर्णय हो।’

उनले कोरोना भाइरसका कारण वृद्ध उमेर समूहका व्यक्तिहरुको बढी मृत्यु भएको भन्दै युवामा भन्दा पनि वृद्ध जनसंख्यामा यसको परीक्षण गरेर हेर्नुपर्ने सुझाव दिएका छन्।