पासपोर्ट भन्दा सस्तो जिन्दगी !

यो आलेख लेख्न सुरु गर्दै गर्दा दुनियाँको सबैभन्दा प्यारो मान्छे आमालाई सम्झीरहेको छु । खै सन्तानले आफनी आमालाई कतिबेला कसरी सम्झन्छन मलाई थाह छैन । सुर्योदयको यो क्षणमा म मेरी आमालाई बेस्कन सम्झीरहेछु । आमापछि उमेरका पाका फलहरुसंगै मातृत्वको अभावमा हराईरहेको मेरो जवानीका सपनाहरुलाई के पुग छ के अपुग छ यो बर्तमानमा चलिरहेको समयलाई मात्रै थाह छ ।

आज अर्थात यो दिनमा आमाको धेरै याद आइरहेको छ । नआओस् पो कसरी पासपोर्ट बनाउन जान्छु आमा, भन्दा कानमा लगाएका रिङ निकालेर सहजै हातमा थमाइदिएकी थिइन्, आमाले । आमा गुमाएको आजको दिनमा ठिक छ महिना बित्यो । न आमा भन्ने शब्द बिर्सेको छु, न म जिन्दगीमा कहिले आमा भेटाउने आशा नै गरेको छु । म जन्मेको आँगनी छोडेर बिदेशिएको पनि दुई बर्ष बितिसकेछ । जिन्दगीले मलाई ठग्यो अनि मेरि आमालाई भगवानले ठग्यो यहि ठगाईको बिचमा जिन्दगी दन्कीरहेछ ।

छोरो बिदेशबाट आउँदा सुन लगाउने धोको पूरा हुन्छ, अनि मेरो छोराको घर, यो आमाको मुखैको बोली थियो । इच्छा थियो, सपना थियो । आखिर म बिदेशबाट पनि फर्किन्छु । सुन पनि ल्याउछु अनि घरपनि लगाउँछु । तर खै सुन लगाउन पर्खिरहेकी मेरि आमा ? अघिल्लो बर्षको त्यस्तै भदौ महिनामा मैले गाउँ छोडेको थिँए । नजिकिदै गरेको दशैं तिहार, अनि धेरै सपनाहरू सजाएर बिदाई गर्ने मेरि आमालाई छोडेर यात्रा तय गरेको थिँए ।

झोला भरी सेलरोटीको पोको पारेर एक हातले बिदाई गर्दै अर्को हातले आँसु पुछ्दै गरेकी मेरी बहिनी अँ साच्चै अहिले जस्तै लाग्छ त्यो पल समय बितेको पत्तै भयन । साँच्चै मेरो जिन्दगीको मानसपटलमा घामजस्तै हर बिहान् उदाउनेनै भैसकेका छन् । आमाको सपना र बहिनीको किताब, कलमको आबस्यकता पूरा गर्न मुस्कुराउदै बिदाई भएको म बबुरोको पीडा मेरि आमाले मात्र बुझेकी थिइन् । गाउँका डाँडा, उकाली र ठाडा बाटाहरुका प्रत्येक ढुङ्गामा मेरि आमा बसिरहेकी जस्तो लाग्थ्यो ।

मलाई नै बिदाइका हात हल्लाउदै छन् जस्तो लाग्थ्यो । म झन् झन् टाढा जाँदै थिएँ यानकी सात समुन्द्र पारीको यात्रा थियो । मेरो गाउँ, मेरो ठाउँ , स्कुलका साथी खुब यादमा पछ्याइरहेका थिए । २० बर्षको अल्लारे केटो कतिबेला बहकिन्थेँ त कतिबेला डाको छोड्दै रुन्थेँ पत्तै भयन । जब म डाको छोडेर रुन्थेँ, त्यतिबेला मलाई लाग्थ्यो मसँग अब भगवान बाहेक अरु कोहि छैनन् । सानो उमेर, सानो हृदय, सानो मान्छे, सानो घर, सानो सोचाइले सायद यति धेरै बहकिएको हुनुपर्छ म । म त्यस्तो ठाउँ जादैछु, सायद त्यहाँ मेरो भन्ने कोही नि छैन । छ त केबल मेरि आमाको याद भन्ने लाग्थ्यो । दिनभर हिँडेर म गाडी भेट्टिने ठाउँमा पुगेँ ।

अझै मेरा आँखा ओभाएका थिएनन् । गाउँबाट हिँडेको म बबुरो गाडीहरू ट्याँ, ट्याँ र टुँ, टुँले मलाई एकछिन अल्झाए । एकजना खलासी आएर भन्यो दाई कता जाने ? भन्यो, मैले भने काठमाण्डौ ! सिधै भने । त्यसो भए ल ल चडिहालौं । अहिले सिट पाउन मुस्किल हुन्छ ।काठमाण्डौ जानेभए तपाइंलाई ढिलो होला फेरि । काठमाण्डौ जाने गाडी नाइट मात्र भेटिन्छन्, भन्यो ! म भने जति ढिलो भएपनि होस् । एकैछिन आफ्नो भूमीमा कमसेकम पाइला राख्दा आनन्द त आइराख्छ भनेर सोच्थेँ । म गाउँले ठिटो शहर सम्म कहिले नगएकाले त्यति गाउँलाई छोड्दा पीडा हुन्छ भन्ने पनि थाहा थिएन । एकैछिन पछि हर्न बज्यो ।

खलासीले जाउँ दाई भन्यो । हुन्छ भनेर म गाडी भित्र पसेँ । तेस्रो सिट थियो, मेरा लागि । गाडी भरी मान्छे, फेरि कर्णालीको कष्टकर बाटो, कालोपत्र भन्ने नाम मात्र । गाडीले हल्लाउँदै, उफार्दै, थिचार्दै आफ्नो गन्तव्य तिर हुइँकियो । म भने यादको गरुंगो भारी बोकेर कर्णालीको तिर नयन फैलाउँदै बैरागिएर मौन रहिरहेँ । दिनभर बाटो हिड्दा मैले सेलरोटी होइन याद मात्र बोकेको छु जस्तो लाग्थ्यो ।तर बेलुका भोक लागेर आमा सम्झिदै सेलरोटी खाँदै बाटो काट्दै थिएँ । अघिल्लो समय कर्णाली राजमार्गमा रात्रि बसको पनि सेवा थियो ।

तर धेरै गाडी दुर्घटनाका कारण अहिले बन्द गरिएको छ । रातभरको यात्रा पछि गाडीले मलाई झिसमिसेमा सुर्खेत पुर्यायो । बसपार्कका होटेल, साहुजी र जड्याँहाको हल्लाले म बिहान सम्म पनि सुत्न सकिन । उज्यालो हुँदै गयो । घाम लाग्दै गयो । म भने सुर्खेत बसपार्कको डिलपट्टी रहेको पिपलको रुखमुनी बसेर दिन कटाँएँ । बेलुका ४ बज्यो काठमाण्डौ जाने रात्रि बसको टिकट काटेर मन फुरुङ्ग बनाएँ । बेलुकाको नास्ता खाँदै ६ बजे सुर्खेत बाट बिदा भएँ । जादाँजाँदै भेरी पुल लाग्यो । मलाई बचपनको याद आयो बेस्सरी ।

जतिबेला शसस्त्र जनयुद्धको, भेरिका छाल, झुक्दैन सिस्ने हिमाल भन्ने तत्कालीन माओवादी समर्थित कलाकारहरुले गाएका गीतहरुको झल्झल्ति याद दिलायो । यहि रहेछ आखिर भेरी पुल भन्ने लाग्यो । रातभरको यात्रापछि म काठमाडौ पुगेँ । काठमाडौको बालाजु बसाई भयो ।

पासपोर्ट बनाउन परराष्ट्र मन्त्रालय राहदानी बिभाग राजदरबार जानुपर्ने रहेछ ।भोलिपल्ट बिहान ट्याक्सि चढेरराहदानी बिभाग गएँ । पासपोर्ट बनाउन लाइनमा बसेर झन्डै ६ घण्टा पछि पालो आयो । जिल्लाबाट लिएका सबै कागजातहरु पेस गरिसकेपछि १० हजार लिएर एक हप्ता पछि आउनु भनियो । सोही अनुसार एकहप्ता पछि भनेबमोजिमको पैसा लिएर राहदानी बिभाग पुगेर पासपोर्ट लिएँ ।

अब सुरु भयो मेरो जिन्दगीको नयाँ सपना र यात्रा । एकातिर सपनाहरूको खेती गरिरहेको थिएँ भने अर्कोतिर गाउँघरमा दशैको चटारो आइसकेको थियो । बानेश्वरको एक मेनपावरमा गएर हिमाल तिर छोडुवा घोडा भैंसी हानेजस्तै गरि एक अपरिचित मान्छेलाई पासपोर्ट दिएँ । त्यो पासपोर्टमा भिसा लगाइदिनु झर्यो भने खबर गर्नु भने । मेनपावरको मान्छेले तपाइको भिषा एक हप्ता भित्र झर्छ ।

तपाई पैसाको जोहो गर्दै गर्नु भन्यो ।हुन्छ भनेर फिर्ता भएँ । नभन्दै एक हप्तामा भिसा आयो भन्ने खबर आयो । मैले घरमा फोन गरेर भिसा आयो भने । त्यही अनुसार पैसाको जोहो पनि गरियो । भिसा आएको दिनमा मेरो खुट्टा भुइमै थिएन । किनभने म बेरोजगारी र गरिबिले थिचिएको नेपाली युवा थिएँ । महिनाको ३० देखि ४० हजार कमाउने सपना देखाएपछि कहाँ बाट भुइँमा खुट्टा हुनु ।

बिस्तारै प्रक्रिया पुरा भएपछि नेपाल छोड्ने दिन पनि नजिकिदै आए । बिदेशी पैसा साँटियो, अलिअलि सामान किनमेल गरियो, टिकट हातमा पनि आयो । अब भोलि जाने भन्ने दिन पनि आयो । जब भोलि भन्ने दिन एक बिहान आयो तब जिन्दगी देखि उराठ लाग्यो । किनहो आफ्नै जिन्दगी अध्यारो जस्तो लागिरहेको थियो । ठम्याउनै सकिन आजको दिन के हो ? कसरी यति चाडो आयो ?

अक्सर देखिने घाउ भन्दा नदेखिने घाउ निक्कै पीडादायी हुँदारहेछन् ।

किन कता,कता केही गुमाएको र हराए जस्तो लाग्दै छ ? शहरको कोलाहल पनि मेरो लागि निसम्म लागिरहेको थियो । त्यो दिन खाना पनि खाइन । धेरैलाई छोड्नुथियो । केहिबाट सदा बिदाइका हात हल्लाउनु थियो होला सायद । त्यसैले फोन मै बित्यो त्यो दिन । दिनको दुई बजे एयरपोर्ट आउने भन्ने थियो । सोहिअनुसार दुई बजे नै एयरपोर्ट पुगेँ । अब तीन बजे फ्लाइट थियो । काठमाण्डौ हुने साथिभाई एयरपोर्टमा भेटेर बिदाई गरे । म बबुुरो भित्र गएर जहाजको पर्खाइमा बसेँ । समय नजिकिदै आयो ।

जहाज आइपुग्यो । गेट खोल्यो । तर मेरो हृदय भने बन्द हुँदै थियो । खै किन ? एक जन्मदिने आमाबाटटाढा हुँदै थिएँ भने अर्कोतिर मातृभुमी । सायद त्यसैले होला देश र आमा नै संसार हुन भनेर । मलाई त्यस्तै त्यस्तै लाग्थ्यो । कोहि सेल्फि खिच्न ब्यस्त थिए, त कोहि गहभरी आँसु झार्दै मन अमिलो बनाएर जहाज चड्दै । मसँग भने सादासेट मोबाइल थियो । सेल्फि खिच्ने कुरै भएन । जहाज चढियो । जिन्दगीमा पहिलो पटक, बिदेश यात्रा गर्नुपर्ने मन यति रोइरहेको थियो म संसार त्याग्दै छु । नरोओस् पो कसरी म मेरो मातृभुमी छोड्दै थिएँ ।

मेरा साथिसंगी अनि मेरो प्राणप्यारी आमा र बहिनी । जब जहाज क्तबचत भयो तब, त्यहाँभित्र खुसी कम बहकिने धेरै । धेरैलाई लागेको थियो होला । म बाँचेभने मेरा परिवारका सपना पूरा हुन्छन् । नत्र रातो बाकसमा आएँभने । झन् मेरो परिवारलाई पीडा थपिन्छ होला । यस्तै यस्तै सोच्दै बहकिरहेका थिए सायद नै । त्यसमध्ये म पनि एक पात्र थिएँ । जहाज गुड्न लाग्यो । धर्र्ति छोड्न लाग्यो । प्राय धेरैका आँसु बर्बर्ती बगिरहेको थिए । धेरैका मन अमिलिएका थिए । जहाजले नेपालको धर्ती छोड्यो । धेरै मनहरु डाको छोडरै रुन थाले ।

जबसम्म काठमाण्डौ शहर देखिरह्यो । कसको के नै लाग्थ्यो र जहाज केहि समय पछि बादलको देशमा बिलिन भयो । जहाँ सुन्यतामा जहाज आफ्नै गतिमा प्रदेश तिर लम्किरहेको थियो । केही निदाएका थिए त केही टोलाइरहेका । लाग्थ्यो म जस्तै सपनाहरू बोकेर बिदेश हानिएका हुन् । साढेचार घण्टापछि आकाशको बाटो हुँदै जहाजले सपनाहरूको देश मलेसियाको राजधानी क्वालालम्पुर पुर्यायो ।

गर्मी अत्याधिक बढिरहेको थियो । एयरपोर्टको झिलिमिलिले मन कता कता रमाइरहेको आभास भयो । त्यसपछि एयरपोर्टको झिलिमिलि संगै धबष्तष् रुममा लगेर राखियो । झन्डै १० घण्टा कुरेपछी कम्पनिको मान्छेलिन आए । दिनको एक बजिसकेको थियो । खाना खाएको थिएन । बोल्नको लागि भाषा पनि नआउने । भोको पेट,नयाँ ठाउँ, नयाँ मान्छे, नयाँ भूमि । जिन्दगी भोकमा भन्दा हृदयको पीडामा मस्त सँग दौडिरहेको थियो । जाँदाजाँदै २ बजे बाटोमा पाउरोटी र रेडबुल खाएर कम्पनी तिर हानियौं ।

बेलुकाको ४ बज्यो । झण्डै ५ घण्टा लगाएर क्वालालम्पुर बाट जोहोर राज्यको बातुपाहतमा एक कम्पनीको अगाडि गाडीले छोड्यो अनि हामी भित्र पस्यौं । पसेपछि थाहा भयो जिन्दगी अब एक नयाँ जेलभित्र प्रवेश भयो । अब सपना र सपना भित्रकी आमालाई खुसी बनाउन केही दिनपछि काम लाग्नुपर्ने देखियो । सोही अनुसार काममा लागियो । समय बित्दै गयो, सपना बढ्दै गए, पारिश्रमिक कम भयो । के यि सपनाहरू पूरा हुन्छन् त भन्ने मनमनै प्रश्न खडा हुनथाल्यो । अथक दुःख,पीडा त छँदै थियो । अब त घरमा दशैं तिहार पनि नजिकिदै आयो, । घरबाट आमाको फोन आउँछ ।

मः  हेलो आमा, ढोग गरेँ ।
आमाः  भाग्यमानी भएस बाबू, । सञ्चै छस् ?
मः  सन्चै छु आमा, हजुरलाई कस्तो छ ?
आमाः म जसोतसो बाँचिरहेकी बाबु, त आउने बाटो कुरिरहेकी छु ।
म ः ह्या आमा म त आईहाल्छु नि । हजुरको मायाले कति साथ दिइरहेको छ । मलाई काम गर्न ।
यति के भनेको थिएँ ।
आमाः  गहभरी आँसु झार्दै, काम कस्तो छ बाबु तेरो ?
मः  ठिक छ आमा । अलिअलि काम मात्र गर्नुपर्छ । महिनामा १० दिन त छुट्टि मात्र हुन्छ ! स्यालरी पनि भनेजस्तो आइरहेको छ । म भने ढाँटिरहेको थिएँ मेरि आमालाई ! जिन्दगीमा पहिलो पटक तर बाध्यताबस मैले मेरो आमालाई खुसी पार्न भएपनि यति त गर्नैपर्ने थियो । म मन थाम्न नसकेर होला आवाज लुकाएर रोइरहेको थिएँ । मेरो आमाको कान भित्र आवाज नगुञ्जिने गरि । शहर उज्याला थिए । तर कता कता जिन्दगी अध्यारो र अपुरो जस्तो । छुट्टी महिनामा एकदिन पनि नदिने, स्यालरी अनि पाँच, छ सय मात्र आउँथ्यो । घरमा पैसा पठाउन पनि साथिसँग मागेर पछिल्लो आउने महिनाको पैसा लैजालास् भनेर मागिन्थ्यो । काम भने फोहोर स्वरेर दिनभर घाममा खटिनुपथ्यो । यसरी मैले जवाफ दिएँ आमालाई ।
आमाः  दशैं तिहार पनि आउन लाग्यो बाबु अलिअलि घरखर्च पनि पठाए हुन्थ्यो ?
मः  हुन्छ आमा म पर्सि आइतबार पठाइदिन्छु ।
आमाः  अ तेरो बहिनी पनि कुरा गर्ने रे ।
मः  ए हो । त्यतै छ सानि, ल ल फोन दिनुस् त आमा ।
बहिनीः  दाई दर्शन । म अनु !
मः  भाग्यमानी साने, सन्चै छेस् ?
बहिनीः  अँ, म सन्चै छु दाई । तपाइलाई कस्तो छ ?
मः  म नि ठिक छु साने, राम्रोसँग पढेस्, आमाको ख्याल राखेस् है ।
बहिनीः  ल ल हुन्छ दाई । यो तिहारमा मलाई गिफ्ट मोबाइल पठाइदिनुस् है ।
मः  हस् । अनि आमा पहिले देखि नै दमको बिरामी हुनुहुन्छ ! औसधि खान नछुटाउनु भन्नु है ।
बहिनीः  हस् दाई ।
मः  ल ल बाई साने ।
म फोन राख्छु ।

त्यसपछिसमय बित्दै गएपछिघरमा छोडेकी आमा मेरो बियोगले कमजोर हुँदै जानुभएछ । त्यसमाथि दमको रोगी । म भने साहुको काममा ब्यस्त, गाउँमा राम्रोसँग फोन पनि नलाग्ने ! आमालाई दमको ब्यथाले च्याप्दै गएपछिझन्झन् कठिन भएछ । यस्तै यस्तै ब्यथा र बियोगले आमाले प्राण त्याग्नु भएछ ।

मलाई दुई दिन पछिमात्र माथिल्लो घरको काकाको छोराले आमाले प्राण त्यागेको खबर दियो । दाई आमाले त प्राण त्याग गरिन । म भने एक्कासी रुखको छाँगाबाट खसेजस्तो भएँ । संसार अध्यारो देखेँ । भगवान पनि निर्दयी देखेँ । धरधरी रुन थालेँ । त्यो बाहेक अरु म के नै गर्न सक्थेँर त्यो बिदेशमा । घरमा रहेकी एक्लि बहिनी, के गर्दै होलि, के खाँदै होलि, साख सन्तानले कस्तो ब्यवहार गर्दै होलान् ।

म भावविह्ल हुँदै बियोगमा डुबेँ । अक्सर देखिने घाउ भन्दा नदेखिने घाउ निकै पीडादायी हुनेरहेछन् । यस्तै यस्तै पीडा र ब्यथाका साथ तिन बर्ष कटेछन् बिदेशको भूमीमा, जुन हाँसेर होइन आँसुले मुख धोरएर । अब घरफर्निने समय भयो । मलाई याद थियो, मेरि आमाको सुन लगाउने धोको ।

बगैंचा भन्दा सुन्दर हुने इच्छा, ब्रह्माण्डभन्दा ठूलो खुसी भेट्ने क्षण, समुन्द्र भन्दा गहिरो मन, जमिन भन्दा फराकिलो हृदय हुने सपना, सपना मै सिमित रह्यो । त्यसैले मलाई लाग्यो यो पासपोर्ट भन्दा मेरि प्राणप्यारि आमाको जिन्दगी सस्तो रहेछ ।