शिक्षालाई रमाइलो र रोचक बनाऔँ, हाउगुजी र कठिन होइन

केही विषय र पाठ्यपुस्तकका कुनै कुनै विषयवस्तुहरु धेरै विद्यार्थीहरु सुन्दै डराउँछन् । शिक्षकले पनि भनिहाल्छन् यो गाह्रो छ ध्यान दिएर सुन । शिक्षा दिने नाममा किन यस्तो हुन्छ रु धेरैतिर गुणस्तरीय शिक्षा, प्रभावकारी शिक्षा, व्यावहारिक शिक्षा आदिलाई यस्तै हाउगुजी शैलीमा प्रस्तुत गरिन्छन् ।

विद्यार्थीलाई मात्र होइन शिक्षकलाई पनि क्रियात्मक अनुसन्धान, विद्यार्थी केन्द्रित सिकाइ, मामला अध्ययन, निरन्तर विद्यार्थी मूल्यांकन आदि जस्ता उपयोगी विधिहरुलाई पनि यस्तै हाउगुजी बनाएर तालिम दिइन्छ । यही हो भनेर स्पष्ट रुपमा देखाउन नसकिए पछि जति वर्णन गरे पनि त्यो हाउगुजी नै हुन्छ, पढने र सिक्नेका लागि ।

हाउगुजी भनेको त्यस्तो डर देखाउन प्रयोग गरिने त्यस्तो कुरा हो, जसलाई केवल वर्णन गरिन्छ । तर यस्तै हो भनेर कसैले देखाउन सक्दैन, केवल डर देखाउन प्रयोग गरिन्छ । आमाबाबु र केही ठूला नातेदार मानिसले आफ्ना चञ्चले नानीबाबुहरुलाई डर देखाई तह लगाउन हाउगुजी शब्दको खुब प्रयोग गर्दछन् । हाउगुजी भनेको यस्तो हुन्छ, उस्तो हुन्छ भनेर वर्णन गर्छन् तर देखाउन कसैले सक्दैनन् ।

सिकाइको एउटा नियम सजिलोबाट कठिनतिर पनि हो ।

कतै कतै त गणित, अंग्रेजी, विज्ञान आदि जस्ता विषयलाई यो एउटा कठिन विषय हो, यो विषय सिक्न कठिन छ आदि भनेर पाठ शुरु गरिन्छ । शुरु मै शिक्षकले गाह्रो छ भनिदिएपछि कमजोर विद्यार्थीले कसरी पढिहेर्ने कोशिस गर्छ र । यसले दिमागमा नैविषय नै कठिन हो भन्ने धारणाबन्छ । तर शुरुमा नै यो सजिलो विषय हो भनेर सजिला उदाहरण दिन सकियो भने पढन र सिक्न खोज्छन् । अनि क्रमश कठिन पाठ तिर लागे हुन्छ । सिकाइको एउटा नियम सजिलोबाट कठिनतिर पनि हो ।

अब चाहिँ शिक्षकका लागि लेखिने शैक्षिक लेख रचनाहरु पनि चुस्त र सजिलो भाषा शैलीमा आऊन् । सिकाउने शैलीका उपयोगी टिप्स आऊन् । तालिममा शिक्षकलेसजिलै ग्रहण गर्न सक्ने विषयवस्तुहरु आऊन् । शिक्षाका विषयवस्तुहरु पनि हेल्थ टिप्सजस्तै वा बिउटी टिप्सजस्तै गरी बुँदाबुँदामा छिटोमिठो सल्लाहका रुपमा आऊन् ।

शैक्षिक टिप्सलाई तत्कालै उपयोग गर्न र लगत्तै नतिजा अनभूत गर्न सकिने गरी आऊन् । किनभने तत्काल काम लाग्ने टिप्सलाई नै मानिसहरुले छिटो प्रयोगमा ल्याउँछन् । सिकेको कुरा छिटो प्रयोगमा आयो भने सिक्नेलाई सिके जस्तो लाग्छ, सिकाउनेलाई पनि सिकाउन सकेछु जस्तो लाग्छ । सिकाइ उपलब्धि पनि छिटो हासिल भएको जस्तो लाग्छ । विद्यार्थी र अभिभावक प्रसन्न हुन्छन् ।  अनि शिक्षा पनिव्यावहारिक र गुणस्तरीय भएको अनुभूत हुन्छ ।

रमाइला खेल, गीत सङ्गीत र कथाहरुमा विषयवस्तु मिसाएर शिक्षादिक्षा दिने गरेमा त्यसले क्याप्सुलको काम गर्छ ।

विद्यार्थीका लागि पनि सिक्ने तरिकाका अनेक टिप्स आऊन् । समयको माग अनुसारशैक्षिक नीतिका टिप्स आऊन् । अभिभावकहरुको मन छुने अभिभावक शिक्षाका टिप्स आउन् ।शिक्षण र सिकाइ उपयोगी शैक्षिक टिप्स आऊन् ।तिनलाई भरपूर उपयोग गर्न सकियोस् विद्यालयमा र घरमा । अनि देखिन्छ, शिक्षामा हामीले चाहे जस्तो शैक्षिक उपलब्धिका संकेतहरु । कक्षाकोठामा पाठहरुलाई दोहोर्याएर तेहेर्याएर पढेर सुनाउँदैमा र अर्थ सुनाउँदैमा मात्र त केही होला जस्तो लाग्दैन ।

त्यस्तै अर्को, हामीले बाटोघाटो चोक गल्लीमा पत्र पत्रिकामा देखिने गरेको विज्ञापनको एउटा प्रसङ्गको कुरा पनि गरौँ । त्यो के हो भने – थाहै नपाइकन जाँड रक्सीको कुलतबाट छुटाउने औषधिको विज्ञापन । आमाबाबु परिवार बालबच्चा सबैलाई बिर्सेर हजारौँ रुपैयाँ सिध्याउने मानिसको लत त थाहै नपाई मानिसबाट हटाउन सकिन्छ भने सिकेको थाहै नपाउने गरी हामीले बालबालिकाहरुलाई शिक्षदिक्षा दिन नसकिने हो र ।

के यसका लागि कुनै उपाय छैन होला त । गुलियो क्याप्सुलभित्र राखेर थाहै नपाउने तरिकाले तितो औषधि खुवाएजस्तो गरी शिक्षा दिने पनि उपायहरु छन् कि, तिनको खोजी गरौँ । रमाइला खेल, गीत सङ्गीत र कथाहरुमा विषयवस्तु मिसाएर शिक्षादिक्षा दिने गरेमा त्यसले क्याप्सुलको काम गर्छ । के गर्नै नसकिने काम हो र यो ?

अर्को कुरा, लुकेको पाठ्यक्रममा भएका कुरा बालबालिकाले सिकेको पत्तै नपाई सिकिरहेका हुन्छन् । विद्यालयको संस्कार र नियम कतै नपढी बालबालिकाहरुले सिकिरहेका हुन्छन् । बालबालिकाहरुले माग आपूर्ति र मूल्यको नियम घोकेका हुँदैनन् । तर बजारमा सस्तो छान्न, राम्रो खानेकुरा किनेर खान र कापी कलम किन्न उनीहरुले अर्थशास्त्र नपढी जानेका हुन्छन् । यही हो लुकेको पाठ्यक्रम । यसरी नै पाठ्यपुस्तकमा भएका कठिन कुरालाई पनि लुकेको पाठ्यक्रमका रुपमा रुपान्तरण गरेर शिक्षण गरिहेरौँ त, नतिजा के आउँछ ।

टिप्सबाट वा लत छुटाए जस्तै सिक्दैछु भन्नेथाहै नपाउने गरी सबै उमेर समूहका पढनै नचाहने विद्यार्थीलाई भनेजस्तोसबैखाले शिक्षादिक्षा दिन त नसकिएला । सबै पाठलाई क्याप्सुलकै रुपमा वा लुकेको पाठ्यक्रमका रुपमा प्रस्तुत गर्न त नसकिएला । तर कुन पाठका लागि के कतिसम्म गर्न सकिन्छ, सोच विचार गरी तयारी गरेर शिक्षण गर्न सकिन्छ । मूल कुरा शिक्षालाई रमाइलो र रोचक बनाऔँ, तरविषय पाठलाई चाहिँ हाउगुजी कहिल्यै नबनाऔँ ।

लेखक कोहलपुर नगरपालिका शिक्षा  शाखा प्रमुख हुन ।