भारतीय बाँधका कारण अधिकांश भू-भाग डुवानको जोखिममा

बाँकेकाे डुढुवाक्षेत्र  भारतिय बाँधका बारणा हरेक वर्ष बाँकेमा बाढीको जोखिम क्षेत्र बढ्दै गएको छ। अघिल्ला वर्षमा कहिल्यै डुवान नहुने क्षेत्र पनि डुवानको जोखिममा परेका छन्। भारतले निर्माण गरेको बाँधरुपी सडकका कारण डुडुवा गाउँपालिकाको हिरमिनिया र होलिया, जानकी गाउँपालिकाको साईगाउँ, बेलभार तथा इन्द्रपुरमा डुवान समस्या उत्पन्न भएको छ।

भारतले बनाएको सडकका कारण खजुरा गाउँपालिकाको राधापुर पनि डुवानमा पर्न थालेको छ। नेपालगन्ज उपमहानगरपालिकाको पानी बग्ने बाटो दोन्द्रा नालामा भारतले पुल बनाउनु पर्नेमा कल्भर्ट निर्माण गरेपछि कहिल्यै डुवान नहुने साईगाउँ, बेलभार र राधापुर डुवानमा परेको बेलभारका समाजसेवी किशोर थापाले गुनासो गरे।

‘कहिल्यै डुवान नहुने साईगाउँ र बेलभार तीन दिन परेको पानीले डुवानमा परे,’ उनले भने। थापाले भारतले निर्माण गरिरहेको सडकका बारेमा बेलैमा नसोँचे नेपालगन्ज पनि डुवानमा पर्ने बताए। प्राकृतिक रुपमा बग्ने पानीको वहावलाई भारतले निर्माण गरिरहेको सडकले छेकेपछि डुवान समस्या निम्तिएको साईगाउँका साविर इद्रिसीले बताए। उनले भने, ‘वर्षातको पानी बग्ने ठाउँ नै नभएपछि गाउँ डुवान हुने नै भयो। दक्षिण बग्नुपर्ने पानी पुनः उत्तरतिर फर्किन थालेको छ।’

बाँकेका अधिकांश स्थानीय निकाय बाढीको जोखिममा बाँकेको राप्ती नदी आसपासका साविक १२ गाविसका पाँच हजार घर बाढीको उच्च जोखिममा छन्। हालको डुडुवा गाउँपालिकामा गाभिएका कम्दी, बनकट्टी, बेतहनी र होलिया तथा राप्तीसोनारी गाउँपालिकामा रहेका साविकका खासकुश्मा, कचनापुर, बैजापुर, विनौना, फत्तेपुर गाविस तथा नरैनापुर गाउँपालिकामा समाहित भएका गंगापुर, मटेहिया गाविसका दुई हजार बढी घर राप्ती नदीको उच्च जोखिममा रहेका छन्। राप्ती सोनारी गाउँपालिकाका सवैजसो वडा बाढीको उच्च जोखिममा रहेको गाउँपालिका अध्यक्ष लाहुराम थारुले बताए।

उनले अधिकांश वडाका गाउँमा राप्ती नदीमा आएको बाढी पसेर धन, जनमा क्षति पुर्‍याउने गरेको बताए। डुडुवा खोलाका कारण कोहलपुर नगरपालिकाका अधिकांश वडा डुवानमा पर्ने गरेका छन्। डुडुवा नालाले कटान गर्ने र गाउँमा पस्ने समस्या त छदैँ छ। अव्यवस्थित रुपमा घर निर्माण हुँदा नगरपालिकाका अधिकांश वडा डुवानमा पर्ने गरेको नगर प्रमुख लुटबहादुर रावतले जानकारी दिए। बैजनाथ गाउँपालिकाका सवै वडा पनि बाढीको जोखिममा छन्। बैजनाथ गाउँपालिकाका झण्डै चार हजार घर खोला र नालामा आउने बाढीको जोखिममा रहेको गाउँपालिका अध्यक्ष मानबहादुर रुचालले जानकारी दिए।

उनले मानखोला, बुढीनाला, जेठीनाला र इटा नालामा आएको बाढीले वर्षेनी क्षति पुर्‍याउने गरेको बताए। ‘मानखोलाले, जेठीनाला र बुढीनालाले चार-चार वटा वडामा डुवान हुन्छ,’ उनले भने। खजुरा गाउँपालिका अन्तर्गत पर्ने साविकका उढरापुर, राधापुर र बागेश्वरी गाविस पनि बाढीको जोखिममा छन्। मानखोलामा आएको बाढीले उढरापुरमा क्षति पुर्‍याउँदै आएको गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपतिले जानकारी दिए। उनले डुडुवा नाला र जेठीनालामा आएको बाढीले बागेश्वरीका बासिन्दालाई असर गर्दै आएको बताए। नरैनापुर गाउँपालिका अन्तर्गत पर्ने साविकका गंगापुर, मटेहिया र नरैनापुर पनि बाढीको जोखिममा भएको स्थानीय प्रशासनले जनाएको छ।

नरैनापुर गाउँपालिकाको गंगापुर र मटेहियाका बासिन्दालाई राप्तीनदीमा आएको बाढीले हरेक वर्ष दुख दिँदैआएको छ। यी दुई वडालाई बाढीको उच्च जोखिममा राखिएको प्रमुख जिल्ला अधिकारी केसीले बताए। नेपालगन्ज उपमहानगरपालिकाका अधिकांश वडा पनि डुवानमा पर्दै आएका छन्। यहि वर्ष परेको पानीले न्यूरोड,सेतुविक चोक, गणेशपुर, बेलासपुर, भृकुटीनगर, घरबारी टोल, कोरियनपुर डुवानमा परेको प्रशासनले जनाएको छ। पानी बग्ने र पोखरीमा घर निर्माण भएपछि पानीको बहाव रोकिन गई नेपालगन्ज डुवानमा पर्न थालेको प्रशासनले जनाएको छ।

जोखिम क्षेत्रमा उच्च सतर्कता

प्रशासन राप्तीसोनारी गाउँपालिका ६ र ७ सवैभन्दा बाढीको उच्च जोखिममा रहेको बाँके प्रशासनले जनाएको छ। बाढीले हरेक वर्ष ठूलो परिमाणमा क्षति पुर्‍याउने गरेका कारण उक्त वडालाई बाढीको उच्च जोखिम क्षेत्रमा राखिएको बाँकेका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले बताए। डुडुवा गाउँपालिकाको बेतहनी, बनकट्टी र होलियालाई पनि बाढीको उच्च जोखिम क्षेत्रमा राखिएको केसीको भनाई छ। उनले विगतमा आएको बाढी र नदीले परिवर्तन गरेको धारलाई आधार मानेर उच्च जोखिम, जोखिम र कम जोखिम क्षेत्रको वर्गीकरण गरेको बताए। ‘जोखिम क्षेत्रको पहिचान गरी उच्च सतर्कता अपनाइएको छ,’ उनले भने।