ओली र मोदीले काठमाडौंमा स्विच थिचे, रिमोर्ट कन्ट्रोलबाटै भयो सङ्खुवासभामा अरुण तेस्रोको शिलान्यास

भारतीय सतलज कम्पनीले निर्माण गरिरहेको बहुचर्चित राष्ट्रिय गौरवको परियोजना अरुण तेस्रो जलविद्युत आयोजनाको प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा शिलान्यास गरेका छन्। शुक्रबार साँझ दुबै देशका प्रधानमन्त्रीले काठमाडौंबाट रिमोर्ट कन्ट्रोलको स्वीच दबाएर आयोजनाको शिलान्यास गरेका हुन्।

जसको लागि लगानी बोर्डका प्रतिनिधी र अरुण तेश्रो परियोजना विकासकर्ता सतलज जल विद्युत निगमका प्रतिनिधीहरूले ड्याम निर्माण क्षेत्रमा मन्चभित्र रिमोर्ट सिस्टमबाट खुल्ने पर्दाको व्यवस्था गरेका थिए। काठमाडौंस्थित द्वारिकाज होटेलबाटै दुवै देशका प्रधानमन्त्रीले भिडियो कन्फरेन्स गर्दाै आयोजनाको शिलान्यास गरेका हुन्। पाँच वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको अरुण तेस्रो ९०० मेगाबाट विद्युत उत्पादन हुने र आयोजना निर्माणका लागि १ खर्व २० अर्व खर्च अनुमान गरिएको छ।

आयोजनाका लागि अहिले सडक, ड्याम साइड, पावर हाउस, सुरुङ मार्ग निर्माणको कार्य सुरु भइसकेको छ। प्रभावित परिवारलाई आयोजनाले ३० युनिटका दरले निःशुल्क विद्युत् उपलब्ध गराउने सम्झौता भएको छ। आयोजनाले दुई सय ६९ परिवारको घर तथा जग्गा अधिग्रहण गरेर करिब एक अर्ब २९ करोड रुपैयाँ मुआब्जा पनि बाँडिसकेको छ।

यस आयोजनाबाट नेपालले २५ वर्षमा ३ सय ४० अर्व रोयल्टी, निःशुल्क बिजुली, आयकर, भ्याट र भन्सार शुल्कबाट लाभ हुने छ। उत्पादन सुरु भएको २५ वर्षपछि सतलजले आयोजना नेपाल सरकारलाई हस्तान्तरण गर्नुपर्नेछ। त्यसपछि नेपाल सरकारको पूर्ण स्वामित्वमा आयोजना सञ्चालन हुनेछ।