हिमाली जिल्ला डोल्पामा हिमाञ्चलको तरकारी

हिमाली जिल्ला डोल्पामा भारतको हिमाञ्चल प्रदेशमा उत्पादित महँगा तरकारी र फलफूल खपत बढेको छ। सदरमुकाम दुनैलगायत जिल्लाका अरु साना बजारमा प्याज, लसुन, अदुवा, गोलभेडा, खुर्सानी, भिण्डी, तितेकरेला प्रतिकेजी ३ सय रुपैयामा बिक्री हुने गरेको व्यापारीहरुले बताएका छन्।

 

त्यसैगरी सिमी २ सय ६० रुपैयामा बिक्री हुने गरेको तरकारी तथा फलफूल बिक्री गर्दै आएको व्यापारी सरोज आचार्यले जानकारी दिए। समयमा नआउने र हिउदे सिजन भएको कारण पनि तरकारी महँगो भएको उनले बताए। फलफूलमा अनार ४ सय रुपैया प्रति केजी, सुन्तला ३ सय प्रति केजी र प्रतिवटाको ३० रुपैया पर्ने गरेको अर्का व्यापारी सन्तोष गुप्ताले जानकारी दिए। त्यसैगरी केरा प्रति गोटा ३० रुपैया र प्रति केजी ३ सय नै तोकिएको छ।

दर्जनको ८० रुपैयमा पाइने केरा र प्रति केजी ५० मा पाइने हरियो खुर्सानी डोल्पाका बजारमा आइपुग्दा प्रति केजी ३ सय रुपैयामा बिक्री हुने गर्दछ। अन्य दैनिक उपभोग्य बस्तुहरुमा उद्योग बाणिज्य संघले मुल्य निर्धारण गरेको भए पनि यसरी हिउदमा तराइबाट ल्याएर बिक्री हुने तरकारी र फलफूलहरुको भने मुल्य निर्धारण गरेको पाइदैन।

हरियो साग, रायो, भाजी, बन्दा र काउलीमात्र डोल्पामा उत्पादन हुने गर्दछ। अण्डा प्रति क्यारेट ६ सय ५० र माछा मासु ५ सय रुपैयामा बिक्री हुने गर्दछ। त्यसैगरी ब्रोइलर मासु, तरकारी र फलफूलहरु सबैं नेपालगञ्ज र सुर्खेतबाट डोल्पामा आयात गर्ने गरिन्छ।

ब्रोइलर मासु अत्यधिक खपत

ब्रोइलर कुखुराको मासु दैनिक ३ सय केजी खपत हुने गरेको छ। सदरमुकाम दुनैमामात्र जिल्ला पशु सेवा कार्यालयबाट अनुमति पाएका ७ वटा फ्रेस हाउस रहेको जिल्ला पशु सेवा कार्यालयका प्रमूख बरिष्ठ पशु चिकित्सक चन्द्रदलाल धरालाले जानकारी दिए। उनकाअनुसार कहिले अझै अनुमति नलिएको र अब तत्काल अनुमति नलिनेलाइ कारवाही गरिने बताए ।

दुनै बजारमा नौ वटा बोइलरको मासु बिक्री गर्ने फ्रेस हाउस रहेका छन्। नेपालगञ्जामा २ सय ९० रुपैया केजी पर्ने बोइलरको मासु डोल्पासम्म पुग्दा प्रति केजी ५ सय रुपैया पर्ने मासु वितरक भरत खड्गाले जनाए। उनकाअनुसार जहाज भाडा प्रति केजी १ सय १० जुफालबाट दुनै सम्म गाडीको भाडा १६ रुपैया प्रति केजी रिक्सा भाडा र मासु प्याक गरेको कार्टून ४ सय रुपैया गरी ४ सय २० मा बोइलरको मासु नेपालगञ्जबाट डोल्पा आइपुग्ने बताए।

डोल्पाको दुनैमा मात्र होइन जुफाल, त्रिपूराकोट र लिकु जस्ता ग्रामिण बजारमा पनि मासु र भारतीय तरकारी बिक्री हुने गर्दछ। एकै दिनमा १० केजी देखी ५० केजीसम्म ब्रोइलरको मासु बिक्री हुने गरेको रोयल फ्रेस हाउसका संचालक नन्दरामा ऐरिले बताए।

नेपालगञ्जबाट उपभोक्ताले खानयोग्य मासु आउछ की आउदैन भन्ने कुराको भने कसैलाइ पनि जानकारी छैन। जिल्ला पशु सेवा कार्यालय डोल्पामा बुझ्दा नेपालगञ्जमा क्वारेण्टाइन हुने र प्रहरी र पशु सेवा कार्यालयल हेर्ने बताउछन् । तर यता नागरिकहरु हप्तौ दिनको मासु बिना चेकजाँच डोल्पा, हुम्ला, मुगु जस्ता हिमाली जिल्लामा पठाउने गरेको बताउछन्।

हिमाली जिल्ला भएको कारण मासु जन्य बस्तुको उत्पादन कम हुने र मासुको माग बढ्दो भएको कारण पनि बोइलर उपभोक्ताको रोजाइमा पर्ने गरेको होटेल ब्यावसायीहरु बताउछन्। बजारमा मात्र नभएर गाँउगाँउमा ब्रोइलर मासु पुग्नुको कारण जिल्लामा मासुजन्य बस्तुको उत्पादनको कमीले भएको विज्ञहरु बताउछन्।