ठगीको यस्ताे पराकाष्ठा,३ हजारको जुत्ता २६ हजारमा बिक्री

२० प्रतिशतभन्दा बढी मुनाफा लिने व्यवसायीलाई ५ वर्ष कैद र जरिवानाको व्यवस्था 

दसैँको मुखमा उपभोक्तालाई ठगी गर्ने दरबारमार्गस्थित अन्तर्राष्ट्रिय ब्रान्डका सामान बिक्री गर्ने चार पसलमा आपूर्ति मन्त्रालयले सिल गरेको छ । मन्त्री शिवकुमार मण्डलको सक्रियतामा आपूर्ति व्यवस्थापन तथा उपभोक्ताहित संरक्षण विभागले स्टोर वान, बेन्ट्ली, पुमा र नाइकको सोरुम सिल गरेको हो ।

मन्त्री मण्डलले दसैँ–तिहारका वेला ‘सेल’ लगाएको देखाउँदै ठगी गरेको भेटिएपछि सिल गरेको बताए । उपभोक्ता ठग्ने नियतले नै सेल स्किम लगाउने देखिएको उनले बताए । विभागका महानिर्देशक कुमारप्रसाद दाहालले नाइक ब्रान्डको जुत्ता व्यवसायीले ४ हजार ७ सय रुपैयाँमा खरिद गरेको बिल देखाएका थिए । ‘तर, उपभोक्तालाई छुटमा समेत दिँदा पनि सो जुत्ता २६ हजार ९ सय ९० रुपैयाँमा बिक्रीका लागि राखिएको देखियो,’ उनले भने, ‘यसलाई हेर्दा उपभोक्ता अत्यन्तै ठगिएका छन् ।’ आजको नयाँपत्रिका दैनिकमा समाचार छ ।

त्यस्तै २ हजार ६ सय रुपैयाँको सामानको बिक्री मूल्य २६ हजार रुपैयाँ राखिएको अवस्थामा भेटिएको उनले बताए । नर्थ फेसको सोरुममा १३ हजार रुपैयाँमा बिक्री गरेको वस्तुको बिल ४ हजार रुपैयाँमा मात्रै काटेको अवस्था भेटिएको टोलीले जानकारी दिएको छ । महानिर्देशक दाहालले खरिद–बिक्रीको बिलमा ठूलो अन्तर आउनु अस्वाभाविक रहेको बताए । ‘दसैँका वेला विभिन्न गुणस्तरका सामानलाई सेलको नाम दिएर ठग्ने प्रवृत्ति देखियो,’ उनले भने, ‘बिलबिजक देखाउन नसक्नेको पसल सिल गरेका छौँ ।’

विभागले नर्थ फेसलाई सम्पूर्ण बिलबिजकसहित ३ दिनभित्र विभागमा सम्पर्क गर्न निर्देशन दिएको छ । महानिर्देशक दाहालले सेल लगाउनुअघि कुन मूल्यमा बिक्री भएको भन्ने कागजात माग्दासमेत व्यवसायीले दिन नसकेको जानकारी दिए । सेलअघिको मूल्य थाहा हुन आए तोकिएको छुटअनुसार हाल मूल्य तय भए–नभएको थाहा हुन्छ । ‘हामीले योभन्दा अघि कतिमा बिक्री भएको थियो र ५० प्रतिशत सेल भनेर कतिमा बिक्री भएको छ भन्ने कुराको कागजात मागेका छौँ । उपभोक्ताका सामान बिक्री गरेको यहीँ बिल माग्दा पनि नपाइरहेको स्थिति छ,’ उनले भने । ठग्ने व्यवसायीलाई कारबाही गरी उपभोक्ता अधिकार सुरक्षाका लागि खट्ने उनले दाबी गरे । ‘व्यवसायी र उपभोक्ताको बीचमा समन्वय गरी जनता ठगिने कार्यलाई नियन्त्रण गर्नु आवश्यक छ,’ उनले भने, ‘नियम र कानुनले भेटेअनुसार कानुनसम्मत तरिकाले हदैसम्मको कारबाही हामी गर्छौँ ।’

कानुनमा के छ ?
कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, ०३२ ले २० प्रतिशतभन्दा बढी नाफा कमाउन नपाउने व्यवस्था गरेको छ ।

ऐनको दफा ३ (१) मा भनिएको छ, ‘सरकारले तोकेको कुनै मालवस्तुको व्यापार गर्ने व्यक्तिले मालवस्तु र व्यापारको प्रचलनअनुसार सामान्यतया सयकडा २० भन्दा बढी मुनाफा लिएको अवस्थामा वा अभावको लाभ उठाई सो मालवस्तुको समुचित नाफा लिई बिक्री गरेमा निजलाई ५ वर्ष कैद वा जरिवाना वा दुवै सजाय हुन सक्नेछ ।

फोन बजिरहेको छ, तर कारबाही भएरै छाड्छ शिवकुमार मण्डल, आपूर्तिमन्त्री

व्यवसायीको मनपरी मूल्यले समाजमा अत्यन्त विकृति ल्याएको हामीले बुझेका छौँ । अनुगमनका माध्यमबाट यसलाई न्यूनीकरण गर्ने प्रयास भइरहेको छ । यहाँ अनुगमन भइरहँदा कतिपय व्यवसायीले मेरो मोबाइलमा घन्टी बजाइरहेका छन्, त, त्यस्ता फोनले केही फरक पार्दैन । नियमसंगत ढंगले र कानुनले भेटेसम्मको हदैसम्मको कारबाही गरेर छाड्छौँ । निर्दोष व्यवसायीलाई अनुगमनले कुनै पनि दख्खल पुर्याउँदैन । तर, गलत गर्नेलाई क्षमा दिइँदैन ।
आतंक सिर्जना गर्ने काम भयो ।

राजेशकाजी श्रेष्ठ, अध्यक्ष, नेपाल चेम्बर अफ कमर्स

दरबारमार्गमा पसलमा भएको अनुगमन शैली गलत छ । त्यहाँका व्यवसायीले गलत गरेका छन् भने अन्य हिसाबले कारबाही प्रक्रिया चाल्नुपर्छ, पसल नै सिल गरेर व्यापार बन्द गराउने काम गर्नुहुँदैन । व्यापारीलाई आतंकित पार्ने काम भएको छ ।