नवलपरासीमा सिमेन्ट उद्योगका लागि चीनबाट आयो ३६ अर्ब

दैनिक ६ हजार टन उत्पादन गर्ने

लगानी बोर्ड र होङ्सी शिवम् सिमेन्ट प्रालिबीच नेपालमा एक ठूलो सिमेन्ट कारखाना स्थापनाको लागि आइतबार परियोजना लगानी सम्झौतामा हस्ताक्षर भएको छ। अर्थमन्त्री तथा लगानी बोर्डका उपाध्यक्ष ज्ञानेन्द्रबहादुर कार्की तथा नेपालका लागि चिनिया राजदुत यू होङको उपस्थितिमा सम्पन्न उक्त सम्झौतामा नेपाल सरकारका तर्फबाट लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी र कम्पनीका तर्फबाट कम्पनीका निर्देशक÷महाप्रवन्धक लाई वेईपेङले हस्ताक्षर गरेका छन्।

सम्झौता अनुसार कम्पनीले नवलपरासी जिल्लामा सिमेन्ट कारखाना स्थापनाको लागि ३६ अर्ब ७५ करोड रुपैयाँ (करिब ३५ करोड ९१ लाख अमेरिकी डलर) लगानी गर्नेछ। कारखानाको लागि आवश्यक खानी पाल्पाको ज्यामिरेमा रहेको छ। चीनको होङसी सिमेन्ट ग्रुपको सहायक कम्पनी हङकङ रेडलायन सिमेन्ट ३ लिमिटेडको लगानी रहेको यस परियोजनामा नेपालका विभिन्न व्यवसायीक समुह रहेको शिवम् होल्डिङ्को पनि लगानी रहेको छ। उक्त कम्पनीले दैनिक ६,००० टन सिमेन्ट उत्पादन गर्ने लगानी बोर्डले जनाएको छ। कम्पनीले सन् २०१८ भित्र उत्पादन शुरु गर्नेछ र पछि उत्पादन वृद्धि गरी दैनिक १२,००० टन पुर्‍याउने लक्ष्य राखेको छ।

सम्झौता हस्तक्षर कार्यक्रममा बोल्दै अर्थमन्त्री कार्कीले यो लगानी सम्झौताबाट नेपालको व्यवसायीक वातावरणबारे सकारात्मक सन्देश सम्प्रेषण भएको बताए। उनले परियोजनाको कार्यान्वयनको क्रममा नेपाल सरकारको तर्फबाट आवश्यक सहयोग समयमै उपलव्ध गराउने प्रतिवद्धता समेत व्यक्त गरे। “परियोजना कार्यान्वयनको लागि नेपाल सरकारको तर्फबाट आवश्यक सहयोग र सहजीकरणको सुनिश्चितता दिलाउन चाहन्छुु” उनले भने। अर्थमन्त्री कार्कीले बजेटमा प्रतिवद्धता व्यक्त भएअनुसार आवश्यक पूर्वाधार सुविधा सरकारले उपलव्ध गराउने पनि बताए।

लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत अधिकारीले यस सम्झौताले विदेशी लगानीकर्ताहरुका लागि नेपाल वास्तवमै आकर्षक गन्तव्य बन्दै गएको प्रमाणित भएको बताए। “आजको सम्झौतासँगै हामीले नेपालमा विश्वस्त भएर लगानी गर्न र नेपालको आर्थिक समृद्धिको यात्रामा साझेदार बन्न विदेशी कम्पनीहरुको लागि नेपालमा लगानीका अवसरको अनन्त ढोका खोलेका छौं,” उनले भने। होङसी शिवम् प्रा.लिका निर्देशक/महाप्रवन्धक लाई वेईपेङ्ले परियोजनालाई यो अवस्थामा ल्याउनको लागि लगानी बोर्डले खेलेको भूमिकाको लागि प्रशंसा सहित धन्यवाद् दिए। “यो सम्झौता साकार पार्नको लागि लगानी बोर्डको भूमिका निकै महत्वपूर्ण रह्यो। नेपालमा लगानीको वातावरण सम्बन्धी हाम्रै अनुभवले पनि नेपालमा विदेशी लगानी भित्र्याउन लगानीकर्ताहरुमा सकारात्मक सन्देश प्रवाह गर्न सहयोग पुग्नेछ” लाईले भने।