१० लाखको लागतमा निर्माण गरिएको निर्वाचन आयोगको मोबाइल एप्स प्रभावहीन

काठमाडौं,स्थानीय तहको निर्वाचनमा सूचना प्रवाहलाई चुस्त बनाउने भन्दै निर्वाचन आयोगले मोबाइल एप्स सन्चालनमा ल्यायो । निर्वाचन गतिविधिबारे आमजनतालाई जानकारी गराउने उद्देश्यले ‘इसीएन’ नामक मोबाइल एप्स सन्चालनमा ल्याएपनि पहिलो चरणको निर्वाचनमा त्यसको प्रयोग प्रभावकारी हुन सकेन ।

स्थानीय तह निर्वाचनलाई लक्षित गरी गत वैशाख १५ गते सार्वजनिक गरिएको इसीएन मोबाइल एप्स नेपालको निर्वाचन इतिहासमा पहिलोपटक हो । स्थानीय तहको निर्वाचनमा सूचना प्रवाहलाई चुस्त र प्रविधिमैत्री तुल्याउने भन्दै निर्वाचन आयोगले मोबाइल एप्स सन्चालनमा ल्याएपनि पहिलो चरणको निर्वाचनमा प्रभावकारी हुन नसकेको हो ।

एप्सबाट मोबाइल प्रयोगकर्ताले निर्वाचन कार्यक्रम, मतदाताको संख्या, विवरण, मतदानस्थल र केन्द्रको जानकारी, उम्मेदवारको विवरण, मतपरिणामलगायत १० विषयमा जानकारी दिनेगरी निर्वाचन आयोगले निर्माण गरेको थियो ।

तर, १० लाखको लागतमा निर्माण गरिएको एप्सले १० ओटामध्ये एउटा विषयमा पनि प्रभावकारी काम गर्न सकेन । मतदाताले न त सहजरुपमा आफ्नो विवरण हेर्न पाए न त निर्वाचनको परिणाम नै । न त यो एप्स मतदाता शिक्षा प्रभावकारी बनाउन नै उपयोग भयो ।

तर, निर्वाचन आयोग एप्स प्रभावकारी हुन नसकेको तथ्यलाई स्वीकार गर्न चाहँदैन । निर्वाचन आयोगका उपसचिव श्रीचन्द्र शाहले एप्स अपेक्षा गरेअनुरुप प्रभावकारी नभएपनि असफल नै भयो भन्न नमिल्ने बताए । विभिन्न प्राविधिक र व्यावहारिक कारणले गर्दा मतदाता र स्वयं आयोगले अपेक्षा गरेअनुसार एप्स प्रभावकारी हुन नसकेको उपसचिव शाहको भनाइ छ ।

दोस्रो चरणको निर्वाचनको लागि निर्वाचन मोबाइल एप्सलाई कसरी प्रभावकारी बनाउने भन्ने ठोस योजना पनि आयोगसँग छैन । निर्वाचनसम्बन्धी सम्पूर्ण गतिविधिबारे सहजरुपले मतदातालाई जानकारी गराउन एप्सलाई प्राविधिकरुपले सवल बनाउन आवश्यक छ । एप्सलाई एन्ड्रोइड मोबाइलको प्लेस्टोर र एप्पल मोबाइलको एप्स स्टोरबाट ‘डाउनलोड’ गर्न सकिन्छ । निर्वाचन आयोगले ल्याएको एप्सबाट निर्वाचनसम्बन्धी जानकारी नेपाली र अंग्रेजी दुबै भाषामा दिइएको छ ।