विश्वकै सबैभन्दा ‘जेठो हिमाल’ अन्नपूर्णको आरोहण दिवस यसरी मनाइयो

पोखरा,पर्यटकीय नगरी पोखरालाई विश्वव्यापीरुपमा चिनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको अन्नपूर्ण हिमालको आरोहण दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ । नेपालमा आउने विदेशी पर्यटकमध्ये ७० प्रतिशतले पदयात्रा र १० प्रतिशतले हिमाल आरोहण गर्ने गरेको तथ्यांक छ ।

हिमाल आरोहणको क्षेत्रमा सबैभन्दा जेठो हिमालकारुपमा अन्नपूर्ण प्रथमलाई लिइन्छ । त्यसैले पनि अन्नपूर्ण हिमालको छुट्टै महत्व छ । सन् १९५० जुन ३ तारिखमा सर्वप्रथम फ्रान्सका मोरिस हर्जोेगले सफल आरोहण गरेसँगै विश्वमा नै हिमाल आरोहणतर्फ आकर्षण बढ्दै गएको हो । अन्नपूर्ण हिमाल आरोहण गर्न आएको टोलीको चहल–पहलसँगै पोखराको पर्यटकीय विकासको यात्रा सुरु भएका कारण पनि यसको आरोहण दिवसलाई पोखरामा महत्वका साथ लिने गरिएको छ ।

नेपालमा पहिलोपटक हिमाल आरोहण गरेको दिन जुन ३ तारिखलाई प्रत्येक वर्ष ट्रेकिङ एजेन्सीज् एसोसिएसन नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय संघले अन्नपूर्ण आरोहण दिवसकारुपमा विभिन्न कार्यक्रमका साथ मनाउने गरेको टान पश्चिमाञ्चल क्षेत्रीय संघका अध्यक्ष दीपकराज अधिकारी बताउँछन् ।

फ्रान्सेली टोलीद्वारा आरोहण गरिएको अन्नपूर्ण प्रथम हिमालको उचाइ ८ हजार ९१ मिटर रहेको छ । अन्नपूर्ण हिमाल आरोहणको सफलतासँगै सन् १९५३ मे २९ तारिखको दिन विश्वको सर्वोच्च शिखर सगरमाथामा सर्वप्रथम स्व. तेन्जिङ नोर्गे शेर्पा र सर एडमन्ड हिलारीले सफल आरोहण गरेर कीर्तिमान कायम गरेका थिए ।

सर्वोच्च शिखर सगरमाथाभन्दा अन्नपूर्ण प्रथम हिमालको उचाइ कम भएको र आरोहणका दृष्टिले कठिन हिमाल भएका कारण अन्नपूर्ण आरोहणको सफलताले उल्लेख्य चर्चा पाउन नसके पनि यसलाई विश्वमै सबैभन्दा ‘जेठो हिमाल’कोरुपमा चिनिन्छ ।

त्यसैले अन्नपूर्ण क्षेत्रको पर्यटकीय विकास र पदयात्रामार्गको प्रबद्र्धनका लागि काम गर्ने नवनिर्वाचित अन्नपूर्ण गाउँपालिकाका प्रमुख युवराज कुँवरले बताए । अन्नपूर्ण आरोहण दिवसका अवसरमा यसवर्ष अन्नपूर्ण गाउँपालिका–८ दाङसिङस्थित मोहोरिया गाउँको प्रवद्र्धन गरिएको छ ।

पञ्चेबाजासहित पाहुँनाको स्वागत गरिरहँदा मोहरियाबासीले अन्नपूर्णको काखमा रहेको गाउँलाई पदयात्रामार्गले जोड्नसके वैकल्पिक पर्यटकीय गन्तव्यकोरुपमा स्थापित हुनसक्ने अपेक्षा व्यक्त गरे ।

स्थानीय बुद्धिबहादुर गुरुङले मोटरबाटोले पुरानो पदयात्रामार्ग नासिएकाले नयाँ पदमार्गको लागि मोहरिया उपयुक्त भएको बताए ।

अन्नपूर्ण हिमाल र यस आसपासको सात हजार ६ सय २९ वर्ग किमिलाई अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनामार्फत् संरक्षण गरेर राखिएको छ । जसअन्तर्गत् मनाङ र मुस्ताङ जिल्लासहित म्याग्दीका तीन, कास्कीका १७ र लम्जुङका साविक ८ ओटा गाविस संरक्षण क्षेत्रभित्र छन् ।