अस्पतालमा एकदिन

उसो त ‘कहिल्यै अस्पताल जान नपरोस्’ भनेर कामना गर्ने म मात्रै एक्लो होईन हुँला । जिन्दगीका धेरै बाध्यताहरु मध्ये अस्पताल जानैपर्ने बाध्यतासँग मलाई सख्त घृणा छ, त्यति घृणा मेरा दुस्मनहरुलाई पनि गर्दिन म ।
केही दिन अघिको कुरा हो, श्रीमतीको पेटमा असमान्य समस्या देखिएपछि जाजरकोट अस्पतालको पुर्जी काट्ने लाईनमा पालो पख्र्यौ । साथमा अढाई वर्षकी छोरी काव्या पनि थिईन । पुर्जी काट्ने फाँटमा होचो कदको सुख्खा अनुहारमा आँखा रसिला देखिने व्यक्ति थियो । हेर्दा यस्तो लाग्थ्यो, ऊ पनि रोगी हो । पुर्जी हातमा थमाउदै भन्यो — ‘खै ! दश रुप्या पाँम !’
श्रीमती निराले रातो हाते झोलाको गोजी खोलखाल पारेर दशको नोट टेबलमा राखिदिईन् ।

  • लेखक

मैले छोरीलाई काखमा राखेको थिए । अस्पतालको गेट भित्र पसेदेखि नै बाबा, घर जाम् भनेर छोरीले अत्याउन शुरुवात गरिसकेकी थिईन् ।
छोरीलाई फकाउदै विरामी दर्ता पुर्जी हातमा च्यापेर हामी चेकअपका लागि डाक्टरको कोठा तर्फ लाग्यौं ।
डाक्टरको कोठाको ढोकाको छेउमा एकजना ख्याउटे कार्यालय सहयोगी विरामी पुर्जी हातमा राखेर पालैपालो बोलाईरहेको थियो । निराले आफ्नो पुर्जी उसलाई दिईन् । प्रतिक्षालयको खाली बेन्च देखाउदै उसले पालो कुर्न ईशारा गर्यो । हामी गएर थपक्क बेन्चमा बस्यौं । अन्य बेन्चहरु विरामी र कुरुवाहरुले खचाखच भरिएका थिए ।
कुर्ता माथि सेतो कोट लगाएकी युवती डाक्टरको कोठामा छिरिन्, उनीसँगै पछिपछि हातमा पुर्जी लिएकी अर्की अधवैंशे आईमाई पनि छिरिन् । ढोकामा बसेको सहयोगी उसको छेउमा बसेका विरामी र कुरुवासँग गफीरहेको थियो ।
‘बाहिर यति धेरै बिरामीहरु पालो कुरिरहेका छन्, चिनजानका आधारमा किन यसरी पालो मिचेको होला ?’ निराले मसँग असन्तुष्टि पोखिन् ।‘भैगो छोडिदेउ, एकजना त हो नि । अलि सिरियस केस छ कि ?’ मैले विस्तारै भनें ।
प्रतिक्षालयमा पालो कुर्न थालेको पनि एक घन्टा वित्दै थियो हाम्रो । ‘बाबा, पानी खान मन लाग्यो ।’ छोरीले अनुहार विगार्दै भनिन् ।
मैले यताउता हेरें । प्रतिक्षालयको एउटा कुनाको भित्तामा ए फोर साईजको कागजमा ‘शुद्ध पिउने पानी’ भनेर लेखिएको रहेछ । म पानी पाईने आशामा छोरीलाई काखमा राखेर कुनामा पुगें । त्यहाँ पानीको जर्किन, गाग्री या जग केही पनि थिएन । म निराश भएँ ।
‘मामुको चेकअप गरेपछि बाहिर गएर पानी खाउँला है छोरी ।’ छोरीलाई सम्झाएँ । आखिर, बच्चाको लिडें ढिपी न हो बुझ्ने कुरै भएन । उनी झनै अत्याउन थालीन् ।

उता ढोका छेउमा बसेको दाईले नाम बोलाए । निराको पछिपछि म पनि डाक्टरको फाँटमा छिरें । साँघुरो कार्यकक्षमा दुईजना डाक्टर आ—आफ्ना बिरामी चेकअप गर्दै थिए । अनुहारमा दारी जुंगा झपक्क पालेको डाक्टर एउटा विद्यार्थीको छातीमा ‘आला’ राखेर सोधपुछ गर्दै थिए । अर्का डाक्टर भने बिरामीलाई औषधि लेखिदिएर बाहिर निस्के ।
विद्यार्थी स्कुल पोशाकमै थियो । छेउमै उसको साथी पनि स्कुल पोशाकमै थियो । ऊ उत्सुक नजरले आफ्नो साथी र डाक्टरको आला हेरिरहेको थियो ।
‘तिम्रो समस्या के हो ?’ डाक्टरले ठाडो स्वरमा प्रश्न तेस्र्याए ।
‘एक हप्ता जति भयो, खाना खान मनै लाग्दैन ।’ विद्यार्थीले आफ्नो दायाँ गाला मुसार्दै भित्ता तर्फ फर्केर भन्यो ।
सेनाको क्याप्टेनले ‘जवान हो अलर्ट’ को शैलीमा अस्पतालको टिनको छानो थर्किने गरी भन्यो —‘अनि चाउचाउ, कुरमुरे खान मन लाग्छ त ?’डाक्टर कराएको सुन्दा डराएर छोरी मेरो पाखुरा जोडले समात्दै थिईन् । विरामी विद्यार्थीको साथमा आएको साथी डरले ढोका बाहिर लुसुक्क निस्क्यो । विरामी विद्यार्थीको आँखाको चेपचेपमा आँशु रसाएका देखिन्थे । शायद डाक्टरको प्रस्तुतीले ऊ डराएको थियो । डाक्टरले आँशु झर्न थालेको देखेपछि थप केरकार नगरी औषधि लेखिदियो । र, विरामी विद्यार्थी दायाँबाँया नहेरी बाहिरीयो । बाहिरिदै गर्दा मनमनै उसले भगवानसँग प्रार्थना गर्यो होला— ‘हे ! भगवान मलाई अस्पतालमा कहिल्यै आउनु नपरोस् ।’
त्यो दृष्यले मेरो मन अमिलो भैरहेको थियो । निराको पालो आयो ।
‘के हुन्छ ?’ डाक्टरले ठाडो लवजमा सोध्यो ।

‘के हो तपाईहरुको तरिका ? मेडिकलबाट जथाभावी औषधि किनेर खाने अहिले सन्चो भएन भनेर अस्पताल आउने ?’ निराले सबैकुरा ईतिवृतान्त सुनाईसकेपछि अन्त्यमा उसैगरी टिनको छाना थर्काउदै भन्यो— ‘ती औषधिहरु प्रयोग गर्न योग्य छन् की छैनन्? मेडिकलहरु दर्ता छन् कि छैनन् । हावामा औषधि खाइदिने ?’ पुर्जीमा पिसाब र रगत जाँचको सिफारिस गरेपछि हामी बिल काट्न गयौं । नगदी फाँटले दुईसयको विल काटीदियो । र, रसिद लिएर प्रयोगशालामा छिर्यौ । त्यहाँ एकजना सिस्टर कुन्नी के जाँच गर्दै थिईन् । हामीलाई देखेपछि उनले पुर्जी र रसिद मागिन् । सरर्र पढेपछि उनले भनीन्— ‘यसको त सय रुपैया मात्रै हो । दुईसय किन तिर्नुभयो । जानुस् सय रुपैया फिर्ता माग्नुस् ।’‘ठिकै छ भई त हाल्यो ।’ मैले निरालाई हेरेर हलुका हाँसो हाँसे ।
‘काँ त्यस्तो हुन्छ । सिस्टरले भनेको जस्तै हो भने बिना सित्ती किन सय रुपैया दिने ?’ हजुर नगए म जान्छु भन्दै निरा नगदी फाँट तर्फ लागिन् । म हाँसे मात्रै ।

छोरीलाई नजिकैको क्यान्टीनमा लिएर पानी खुवाएँ । एकछिनपछि छोरीले भनिन् — ‘बाबा ! आची गर्ने ।’
छोरीलाई शौचालय लिएर गएँ । शौचालयको भित्र महिला, पुरुषको छुट्टा छुट्टै फाँट थियो । शुरुमा पुरुषकै फाँटमा छिरें । त्यहाँ भित्र पनि दिसा र पिसाबको लागि थप फाँटको व्यवस्था थियो । तर, ती सबै फाँटमा दिसा नै दिसा थियो । त्यहाँबाट छोरीलाई महिला फाँटमा लिएर गएँ । त्यहाँ झनै फोहोर, गन्हाउने र हरियो झिंगा भन्किरहेको । चारैतिर दिसा नै दिसा । दिक्क लाग्यो । त्यहाँ भएका कुनै पनि बाल्टीनमा पानी थिएन । दुई तीन वटा बाल्टीनको पानी जम्मा गरेर पहिलेको दिसा सफा गरें । र, छोरीलाई प्यानमा बसाएँ ।
जग लिएर बाहिर पानीको खोजीमा निस्किए । शौचालयको बाहिर अलि ठुलो ड्रम थियो । ड्रमको पिँधमा थोरै पानी थियो, त्यो पनि कालो लेदों मात्रै ।

त्यही पानी लिएर छोरीको दिसा सफा गरिदिए । आठ दश मिनेट शौचालयमा भित्र यताउता गरिरहदा टाउको भारी भैसकेको थियो ।
प्रयोगशालाबाट रिपोर्ट लिएर अस्पतालको ईन्डोरमा निरा आईपुगिन, म पनि भारी टाउको सहित छोरीलाई लिएर त्यहाँ पुगें ।
ईन्डोरमा तीनजना युवतीहरु नर्सको पोशाकमा टेवुल वरीपरी बसीरहेकी थिईन् । ती मध्ये एउटा गहुँगोरो वर्णकी नर्स अलि सिनियरजस्तो देखिन्थि । चिउँडोमा कालोकोठी हुने नर्स जुरुक्क उठेर बाहिर हिडि । छेउकीले टाउको झुकाउदै सिनियर जस्ती देखिने नर्ससँग कुरा लाई— ‘दिदी यो खुब जान्ने पल्टिन्छे । मैले जे काम गर्न लागेपनि खै यता देखाउ त भनेर पो भन्छे त ।’
उसको कुरा सुनेर अर्कीले दायाँ ओठ कुना अली पर लिई ।

मैले निराको रिपोर्ट टेबुलमा राखें । ल्याबको रिपोर्ट र डाक्टरको सिफारिस सरर्र पढेपछि बगलको अर्को कोठामा निरालाई लिएर गई । नर्सले निराको स्वास्थ्य अवस्था जाँच गरेपछि एक हप्ता पछि आउने सल्लाह दिदै भनी— ‘डाक्टरले सिफारिस गरेजस्तो गम्भीर अवस्था छैन । डाक्टर साव नयाँ भएकाले उहाँलाई यस्तो केसबारे त्यती अनुभव छैन । तपाईहरु नआत्तिनुहोस् ।’
हामी अस्पतालबाट घर पुग्दासम्म दुबै मौन रह्यौं । छोरीले घरको आँगनमा पुगेपछि नाक खुम्च्याउदै भनीन्— ‘बाबा, अफताल त कथ्थो गन्हाउने रच बाइ !’

(लेखकः कारोवार दैनिकका सम्वाददाता तथा रेडियो जाजरकोटका स्टेसन मेनिजर हुन्)