…..र उ आयो अनि गयो !

बाँकेको मसानघाट खोलाको किनारालाई लक्षित गरि,
त्यो बाटो पुरै,
हसिया हथौड़ा र सुर्य अंकित रंगीन-अझ सप्तरंगिन,
तोरण अनि ब्यानर र झण्डाहरुले सुसज्जित छ ।
बाटो पुरै चकाचक छ-रंगिन टीका र पुष्पले सजिएको,
यत्तिकैमा चिल्लो गाडीबाट सुट, पाइन्टमा सजिएको,
झुपडी र पछौटे बस्तिलाई बिर्सेर अझ झुपडिकै बाटो हुँदै,
एउटा प्रचण्ड आयो, मार्क्सवाद-माओबादको पाठ सुनायो
सबैले क्रान्ति र प्रतिक्रान्ती, युद्ध र शान्तिको पाठ सुने ।

तर एउटा उहीँ प्रचण्डको पुर्व लडाकु-सहयोद्वा,
जो गेट्मा कुर्दैछ, अँ अलमल्ल छ अझै,
थाहा छैन प्रचण्ड कुन हो ? कता छ ।
वा, आयो कि आएन उसो भए कतिबेला आउँछ ?

अब,
सब सुन्दैछन बिकास र समृद्धिका भाषण, युवा बेरोजगार
र, स्वरोजगारका अर्थशास्त्रीय दर्शन र सिद्धान्तहरु,
रिमिक्स प्रचण्डले उल्लेख गरेको पुजिबादी-एकाधिकार, एमसिसी र बिआरआईको आफु अनुकुलभाषण !

तर अझै; उसले बुझेन् सायद,,
किन बुझेन उसले आखिर ?
किनकी उसले प्रचण्डलाई प्रचण्ड बनाउन,
बन्दुक र बारुद बोकेरै श्रवण शक्ती गुमायो, उ अंगभंग भयो
अब एकमुठी श्वास मात्र चलेको छ उसको,
मुस्किलले बाचेको छ उ,
प्रचण्डलाई चिन्न, प्रचण्डलाई साक्षात गर्न ।

किनकी,
प्रचण्डलाई प्रचण्ड बनाउन आफ्नो ज्यानलाई बचत गरेन ।
अब उसका जोस प्रचण्डले पाएको सुसम्पन्नता
र सर्बस्वकै कारण बिलिन हुने भयो, भयो नै,,
साच्चै उसले प्रचण्ड चिन्न सकेन उसले देखेको र,
भोगेको प्रचण्ड बिच यत्रो अन्तर किन आखिर ?

उ त्यो अतितलाई सम्झिन खोज्छ अँह सक्दैन,
उसले इच्छाएको प्रचण्ड अहिले किन अकल्पनीय भयो !
तर पनि उसले फेरि अर्को प्रचण्ड खोजिरहेको छ ।
तसर्थ,
उसले प्रचण्डको अर्को विकल्प खोजिरहेको छ ।
पत्याउछौ प्रचण्ड ? प्रचण्डको विकल्प प्रचण्ड नै भन्दा ?
अझ भनौ त वास्तविक प्रचण्ड नामिक र ब्यबहारिक !

अन्यथा,
प्रचण्डको ब्यस्त जिन्दगीले उसलाई चिन्दैन,
उसको फुर्सदिलो जिन्दगीले प्रचण्डलाई ठम्याउन सकेन !
फरक छ नि आखिर प्रचण्डले सिकाएको, घोकाएको
अनि उसले बुझेको वर्गसंघर्षको शास्त्रीय सिद्धान्त !
उ सत्तामा जान पनि सक्दैन, बन्दुक पनि बोक्न सक्दैन
बन्दुक त के गुलेली र मट्याङ्ग्रा पनि बोक्न सक्दैन,

उ सक्दैन अँह,
सत्तालाई बन्दुक ताक्न त के चरालाई गुलेली ताक्न,
शारीरिक सबलता र दुर्बलताको अन्तरका कारण !
उ निर्दोष छ,
तर पनि प्रचण्डको बिकल्प खोज्दैछ,
प्रचण्ड जितेर हार्दै छ, उ हारेर जित्ने ल्याकत राख्दछ !
प्रचण्डको विकल्प प्रचण्ड नै किन त ?
किनकि,
राम्ररी जान्दछ उ,
फरक छ उसले चिताएको प्रचण्ड र भोगेको प्रचण्ड बिच !