ओमानसँग नेपाल ८ विकेटले पराजित

काठमाडौं ,आईसीसी विश्वकप लिग २ अन्तर्गत अन्तर्गत आइतवार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा पाहुना टोली ओमानसँग नेपाल ८ विकेटले पराजित भएको छ।

टस हारेर पहिले ब्याटिङमा उत्रिएर ८ विकेट गुमाउँदै नेपालले दिएको २५० रनको चुनौती ओमानले २ विकेटको क्षतिमा १६ बल बाँकी छँदै भेट्टाएको हो। प्रतियोगितामा नेपालविरुद्ध दोस्रो जित निकाल्ने क्रममा ओमानका लागि अकिब लैयसले सर्वाधिक १०९ रन बनाए । त्यस्तै कप्तान जिसन मक्सुदले ६८ रनको गतिलो योगदान दिए। ओमानका ओपनर जितेन्द्र सिंहले २३ रन बनाए। अर्का ओपनर खावार अलीले ४१ रनको योगदान दिए।

नेपालका लागि सुसन भारी र कुशल मल्लले एक/एक विकेट लिए। यसअघि पहिले ब्याटिङ गरेको नेपालका कप्तान ज्ञानेन्द्र मल्लले एक दिवसीय क्रिकेटमा अर्धसतक पूरा गर्दै ७६ बलमा ५६ रन बनाएका थिए। नेपालले गतिलो स्कोर तयार गर्ने क्रममा ८ विकेट गुमाएको थियो। मल्लले ७० बलमा ५० रन पूरा गरेका थिए। ज्ञानेन्द्रले पहिलो अर्धशतक नेदरल्याण्ड्सविरुद्ध प्रहार गरेका थिए । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले सम्हालिएर प्रदर्शन गरेको थियो। नेपाली ओपनरहरुले पनि सम्हालिएर खेलिदिएपछि नेपालले ८ विकेटको क्षतिमा स्कोर २४९ रनमा पुर्‍याएको थियो।

नेपालका लागि पूर्वकप्तान पारस खड्काले दोस्रो सर्वाधिक स्कोर गरेका थिए। उनले ३४ बलमा ३८ रनको योगदान दिए। त्यसपछि करण केसीले ४७ बलमा ३५ रनको योगदान दिए। आरिश शेख र कुशल मल्लले समान २८/२८ रन बनाउन सफल भए। ओपनर सुबास खकुरेलले २२ रनको योगदान दिए। अन्तिम क्रममा आएका सन्दीप लामिछानेलेसमेत १० रनको योगदान दिए। ओमानका लागि अकिब लेयसले सर्वाधिक ४ विकेट लिन सफल भए। त्यसैगरि मोहम्मद नदिमले ३ विकेट लिए। पहिलो खेलमा ओमानसँग पराजित नेपालले आज पनि बदला लिन सकेन। दोस्रो खेलमा नेपालले अमेरिकालाई पराजित गरेको थियो।