यस्तो छ राष्ट्रियसभाको अन्तिम मत परिणाम, प्रतिपक्षी कांग्रेसले गुमायो सातै सिट

नेकपाका १६ र राजपाका २ निर्वाचित

काठमाडौं, राष्ट्रियसभा निर्वाचनमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेतृत्वको गठबन्धनले विजय हासिल गरेको छ । १८ पदका लागि भएको निर्वाचनमा नेकपाका १६ र राष्ट्रिय जनता पार्टीका २ जना निर्वाचित भएका छन् ।

कमजोर प्रतिपक्षी र आन्तरिक कलहमा फसेको विपक्षी नेपाली कांगे्रसले पूर्वानुमान अनुसार नै एकसीट पनि जितेन । विहीबारको निर्वाचनपछि राष्ट्रियसभामा रहेका कांग्रेसका ७ जना सांसदको सीट गुमाएको छ।

राष्ट्रियसभामा प्रदेश एकबाट ३ जना, प्रदेश दुईमा ४, बागमतीमा २, गण्डकी प्रदेशमा २, प्रदेश पाँचमा ३, कर्णालीमा २ र सुदूरपश्चिम प्रदेशमा २ जनाका लागि बिहीबार मतदान भएको थियो ।

प्रदेश २ मा नेकपाले राष्ट्रिय जनता पार्टी राजपासँग तालमेल गरी २÷२ सिट बाँडफाँट गरेको थियो । र, नतिजा पनि सोही अनुसार आएको छ ।

यस्तो छ नतिजा

प्रदेश १
प्रदेश १ बाट पनि तीनजना नेकपाका उम्मेदवार विजयी भएका छन्। नेकपाका उम्मेदवार गोपी अछामी, इन्दिरा गौतम र देवेन्द्र दाहाल निर्वाचित भएका हुन्। अछामी दलिततर्फका सदस्यमा, गौतम महिला र दाहाल अन्यतर्फका सदस्यमा निर्वाचित भएका हुन्।

प्रदेश २
प्रदेश २ बाट राष्ट्रियसभा सदस्यमा दाजु विजयी हुँदा भाइ पराजित भएका छन्। एकै परिवारबाट चुनावी प्रतिस्पर्धामा उत्रिएका मृगेन्द्रसिंह यादव विजयी हुँदा भाइ अनिरुद्र सिंह पराजित भएका हुन्। सहोदर दाजुभाइ दुई फरक पार्टीबाट प्रतिस्पर्धामा थिए। अल्पसंख्यकतर्फ राष्ट्रिय जनता पार्टी (राजपा) का शेखरकुमार सिंह विजयी भएका छन्। महिलार्फ नेकपाकी तुलसा दाहाल, दलिततर्फ राजपाका राधेश्याम पासवान विजयी भए।

बागमती प्रदेश
बाग्मती प्रदेशबाट नेकपाका दुईजना उम्मेदवार विजयी भएका छन्। महिलातर्फ गंगाकुमारी बेल्बासे, अन्यतर्फ बेदुराम भुषाल विजयी भएका छन्।

गण्डकी प्रदेश
गण्डकी प्रदेशका दुवै पदमा नेकपाका उम्मेदवार विजयी भएका छन्। नेकपाका नारायणकाजी श्रेष्ठ ३ हजार ४६२ मतभारसहित विजयी भएका हुन्। निकटतम प्रतिस्पर्धी कांग्रेसका सूर्यप्रसाद रेग्मीले २ हजार २४० मतभार ल्याए। श्रेष्ठ गत प्रतिनिधिसभा सदस्य निर्वाचनमा समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराइसँग पराजित भएका थिए। गण्डकी प्रदेशबाट महिला सदस्यमा नेकपाकी भगवती न्यौपानेले कांग्रेसकी विमला गौचनलाई पराजित भएकी छन्। यस प्रदेशबाट राष्ट्रियसभामा निर्वाचित कांग्रेसका सुरेन्द्रराज पाण्डे र वृन्दादेवी आलेको दुईवर्षे कार्यकाल सकिएपछि ती पदमा निर्वाचन भएको थियो।

प्रदेश ५
प्रदेश ५ बाट राष्ट्रियसभामा विमला घिमिरे, जगप्रसाद शर्मा र गोपालप्रसाद भट्टराई निर्वाचित भए । महिला सदस्यमा घिमिरे, अपांगता भएका वा अल्पसंख्यक सदस्यमा शर्मा र अन्य समूहबाट भट्टराई निर्वाचित भएका हुन् ।

घिमिरेले नेपाली कांग्रेसकी गिरिजादेवी न्यौपाने, शर्माले कांग्रेसका मेराज अहमद हलवाई र समाजवादी पार्टीका सुनीलकुमार सिंघललाई पराजित गरे । त्यस्तै भट्टराईले कांग्रेसका बालकृष्ण पाण्डे र समाजवादी पार्टीका कृष्णप्रसाद अहिर र राष्ट्रिय जनमोर्चाका शिवप्रसाद पौडेललाई पराजित गरे ।

कर्णाली प्रदेश
कर्णाली प्रदेशबाट नेकपाकै अन्य समूहका मायाप्रसाद शर्मा र महिला समूहकी सुमित्रा विसी निर्वाचित भए । शर्माले तीन हजार ६ सय १८ मतभार पाए भने उनका प्रतिद्वन्द्वी कांग्रेसका डिल्लीराम पाठकले एक हजार २६ मतभार पाए ।यस्तै, बीसीले तीन हजार ६ सय ८४ र निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी गणेशकुमारी बस्नेतले एक हजार २६ मतभार पाए ।

सुदूरपश्चिम प्रदेश
सुदूरपश्चिम प्रदेशमा महिला समूहबाट शारदा भट्ट र अन्य समूहबाट तारामान स्वाँर निर्वाचित भए । भट्टले ३ हजार ७ सय ३८ र स्वाँरले ३ हजार ७ सय २० मतभार पाए । महिला समूहकी कांग्रेस उम्मेदवार तुलसा देवकोटाले १ हजार ८ सय ५४ र अन्य समूहका कांग्रेस उम्मेदवार प्रताप ठगुन्नाले १ हजार ८ सय ४२ मतभार पाए ।

बिहीबार भएको निर्वाचनमा स्थानीय तहतर्फ ९९ दशमलब १९ प्रतिशत र प्रदेशसभा सदस्यतर्फ भने ९९.१५ प्रतिशत मत खसेको निर्बाचन आयोगले जनाएको छ। मतदान शान्तिपूर्ण र उत्साहजनक रूपमा भएको जनाउँदै आयोगले सम्पूर्ण मतदाता, उम्मेदवार, राजनीतिकर्मी, निर्वाचनमा संलग्न कर्मचारी, सुरक्षाकर्मी, समाजसेवी, सञ्चारकर्मीलगायत आम नागरिकप्रति आभार प्रकट गरेको छ।