हिमपात रोक्नको लागि उपल्लो डोल्पामा लामा-पूजा

डोल्पा ,उपल्लो डोल्पाको पुग्मो गाउँमा निरन्तर परिरहेको हिउँ रोक्न लामा-पूजा गरिएको छ। 

लगातार तीन दिनसम्म हिउँ परेपछि रोक्नका लागि हिउँको थुप्रोमै बसेर लामा पूजा गरिएको शे-फोक्सुण्डो गाउँपालिका ९ पुग्मोका स्थानीय रिग्जिन बैजीले जानकारी दिए। धर्म गुरु गेखो रिन्छेन ग्याल्छेनको नाममा रहेको स्तुपामा लामा-पूजा गरेर हिउँ पर्न रोकिएर घाम लागोस् भनेर पुग्मो गाउँका स्थानीयले सामुहिक पूजा गरिसकेपछि हिउँ पर्न रोकिएको बैजीले दाबी गरे।

धेरै हिउँ परेपछि ठाउँ ठाउँमा हिम पहिरो खस्ने र त्यसबाट जन धनको ठूलो क्षति हुने भएकाले छिटै हिउँ रोकिएर कुनै क्षति नहोस् भनेर सबैले गुरु लामाको स्तुपामा सामुहिक पूजा गरेको बैजीले बताए। लगातार तीनदिनसम्म परेका हिमपातका कारण उपल्लो डोल्पामा पाँच फिटसम्म हिउँ जमेको र घरबाहिर निस्कन समेत कठिन भएको स्थानीयले बताए।