आजदेखि प्रदेश ५ मा हिउँदे अधिवेशन, चर्चा स्थायी राजधानी र नामको

बुटवल, चार महिनासयता स्थगित भएको प्रदेश ५ संसद्को हिउँदे अधिवेशन आजबाट सुरु हुँदैछ। मुख्यमन्त्री शंकर पोखरेलको सिफारिशमा नवनियुक्त प्रदेश प्रमुख धर्मनाथ यादवले दिउँसो १ बजेका लागि अधिवेशन आह्वान गरेका छन्। अधिवेशन सुरु हुन लाग्दा स्थायी राजधानी र नामको टुंगो कहिले लाग्ला भन्ने आम चासो देखिन्छ। जेठ २ गते सुरु भएको बजेट अधिवेशन चौथो अधिवेशन असोज २ मा सकिएको थियो।

सरकारले बिजनेस दिन नसकेकाले चार महिनायता संसद् बैठक चल्न सकेको छैन। संघीय संसद् अवरोध, संघीय सरकारले बनाउनुपर्ने कानुन निर्माणमा ढिलाइ, उपनिर्वाचनलगायत कारणले प्रदेशसभा बैठक सञ्चालनमा ढिलाइ भएको हो। हिउँदे अधिवेशनमा सरकारले ६ वटा विधेयक संसद् पठाउने गरी तयारी गरेको छ। अधिवेशनमा सुशासन, वातावारण, स्थानीय तह सम्बन्धी, विश्वविद्यालय, लोक सेवा, चलचित्र सम्बन्धि विधेयक पेश हुने छ। प्रदेशसभाको चौथो अधिवेशनसम्म ४९ वटा विधेयक पारित गरेको छ।

टुंगिएला स्थायी राजधानी र नाम

हिउँदे अधिवेशनले प्रदेशको नाम र स्थायी राजधानी टुंग्याउने प्रदेश सरकारले जनाएको छ। नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०का नेताले हिउँदे अधिवेशनले स्थायी राजधानी र नामको टुंगो लगाउने बताएका छन्।

प्रदेशसभामा नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०का ६१, नेपाली कांग्रेसका १९, संघीय समाजवादी फोरमका ५ र राजपाका तथा राष्ट्रिय जनमोर्चा नेपालका १÷१ जना सांसद गरी ८७ जना छन्।