तामाकोसी गाउँपालिकामा जनप्रतिनिधिको विवादले विकाशका काममा अवरोध

रामेछाप, रामेछाप लिखु तामाकोसी गाउँपालिकामा जनप्रतिनिधिको विवादले विकासका काम रोकिएको छ ।स्थानीय सरकार आएपछि पछाडि पारिएका क्षेत्र र वर्गका
लागि अवसर आउँछन् भन्ने अपेक्षा नागरिकमा थियो । तर दुई वर्षभन्दा धेरै समय बित्दा पनि विकास निर्माणका कामले गति लिन नसकेको स्थानीयको गुनासो छ । धेरै स्थानीय तहमा विकासका काम हुन नसक्नुको एउटा मुख्य कारण जनप्रतिनिधिबीचको विवाद पनि हो ।

रामेछापको लिखुतामाकोशी गाउँपालिका ५ का कार्यालय सहयोगी छिरिङ तामाङका अनुसार चालु आर्थिक बर्षको योजना कार्यन्वयन गर्ने बेला धमाधम सेवाग्राहीको भीड हुनुपर्ने हो । तर गाउँपालिकामा योजना तर्जुमा बाहेक कुनै पनि काम भएका छैनन् । लिखुतामाकोशी ५ का दालचिनी मगर आफूहरुले प्रस्ताव गरेको योजनामा अहिलेसम्म बजेट नछुट्टिदा बेखुशी छन् ।

आर्थिक वर्ष २०७६/०७७ का लागि गाउँपालिकाले ४८ करोड ११ लाखभन्दा धेरैको बजेट विनियोजन गरेको थियो । तर गाउँपालिका प्रमुख र उपप्रमुखसहित केही वडाध्यक्षहरु बीचको विवादका कारण ६ महिनादेखि कुनै पनि काम हुन सकेको छैन ।

गाउँपालिकामा प्रमुख प्रशासकिय अधिकृतसहित विषयगत शाखाका कर्मचारी छैनन् । ७ वटै वडाको काम पनि एकजना वडा सचिवले गर्नुपरिरहेको छ । स्थानीय तहमा उपभोक्ता समिति गठनको काम भर्खर भइरहेको छ ।

जनप्रतिनिधिबीचको विवादले नागरिकका काम प्रभावित पार्न कतिको सुहाउँछ ? यो प्रश्नमा लिखुतामाकोशी गाउँपालिका प्रमुख गोविन्द खड्काले भन्नुभयो, ‘एकमुस्ट बजेट त हामीले ल्याइसक्यौं त । अब त्यसलाई ब्रेक डाउन गरेर विकास गर्ने कुरा हो, साउन÷भदौमै ल्याएको भएपनि यो बीचमा एक दुईमहिना त विकास कही पनि हुँदैन ।

वडाका अध्यक्षहरुलाई वडा भेला गर्नु, जनताको जनगुनासो अनुसार आवश्यकताहरु पहिंचान गरेर योजना ल्याउनुस् भनेका छौं ।’ शान्तिपूर्ण र समावेशी समाजको प्रवद्र्धन गर्ने, न्यायमा सबैको पहुँच सुनिश्चित गर्ने र सबै तहमा प्रभावकारी, जवाफदेही र समावेशी संस्थाको स्थापना गर्ने दिगो विकासका लक्ष्यमा भनिएको छ । सन् २०३० सम्ममा प्राप्त गर्ने भनिएको लक्ष्य हासिल गर्न नेपाल सरकारले सहमति जनाएको छ । तर स्थानीय जनप्रतिनिधि भने एकआपसको विवादका कारण विकासनिर्माणका कामलाई गति दिन सकिरहेका छैन् ।