सुर्खेत जेलब्रेकको त्यो अविस्मरणीय क्षण

१८ बर्ष पुरानो जेलब्रेकको कथा

अध्यक्ष कामरेड प्रचण्डको नेतृत्वमा संचालित महान् जनयुद्धको दौरानमा भएको ऐतिहासिक सफल घटना मध्यको एक परिघटना सुर्खेत जेलब्रेक हो । हरेक वर्ष माघ २ गते नजिकिँदै गर्दा सुर्खेत जेलब्रेकको त्यो अविस्मरणीय घटना मानसपटलमा जिवन्त रुपमा आउँछ। माओवादी आस्थाका बन्दिहरुले गरेको त्यो अपत्यारिलो, रहस्यमय र दुश्साहसी कार्य वास्तविक,खुल्ला र वीरतापूर्ण परिणाम सहित सम्पन्न भएको थियो । जेल ब्रेकका मेरा सहयोद्धा मित्र देविराम देवकोटाको विशेष आग्रहमा १८ पर्ष पुरानो त्यो ऐतिहासिक जेलब्रेकलाई पुन: स्मरण गर्ने प्रयत्न गरेको छु । यसअघि हामीले विभिन्न लेख,रचना र पुस्तक मार्फत विस्तृत रुपमा उल्लेख गरिसकेका छौं ।

त्यसबेला हामी मुलतः बिद्यार्थी आन्दोलनमा होमिएका थियौं । बुर्जुवा शिक्षाको अन्त्य र बैज्ञानिक शिक्षा प्रणाली स्थापना गर्ने उदेश्यले हामीलाई आकर्षित गरेको थियोे । तत्कालीन अखिल (क्रान्तिकारी) केन्द्रीय समिति सदस्य र नेकपा (माओवादी) दैलेख-सुर्खेत जिल्ला कमिटी सदस्यको जिम्मेवारी लिएर काममा खटिएको थिएँ। पार्टी कामको शिलशिलामा बिरेन्द्रनगरबाटैै म र बिन्दमान बिष्ट ०५७ भाद्र महिनामा गिरफ्तारीमा पर्यौंं। हिरासतमा ब्यहोरेको चरम शारीरिक र मानसिक यातनाको चर्चा यहाँ नगरौं । २५ दिनको हिरासतपछि तत्कालीन एस.पी. बीरशरण थापाले ‘केटा हो तिमीहरू भाग्यले बाँच्यौ । अब तिमीहरू युनिभर्सिटी जाँदै छौ ।’ भनेर हामीलाई जिल्ला कारागार सुर्खेतमा पठाए ।

त्यही सेरोफेरोमा गिरफ्तारीमा परेर विष्णु चौधरी, पुष्पराज चौधरी, दल बहादुर घर्तीमगर र रामबहादुर रसाइली पनि जेलमा आईपुग्नुभयो । देविराम देवकोटा, लोकजङ्ग शाही गणेश भण्डारी अक्कल रावल, कृष्ण बडुवाल हामी भन्दा छ महिना अघि नै जेल परिसक्नु भएको थियो । हामी सबैजना उमेरमा करीव उस्तै २० र २२ वर्षका । अलिकति परिपक्क उमेरका विष्णु जम्मा २८ वर्षका । पार्टीका जिल्ला कमिटी देखि सेल कमिटी सम्मका हामी । जेलमा जानासाथ हामीले सबैभन्दा पहिला पार्टीको गोप्य फर्मेसन तयार गर्यौं । त्यसको सर्वसम्मत नेतृत्वको जिम्मेवारी मलाई दिईयो । अनि शुरू भयो त्यो महान सफलताको निम्ति संघर्षको शुरुवात ।

हामीले जेलभित्र कम्युन बनायौं । मेष छुट्टै बनाएर सबैले आलोपालो काम गर्ने वातावरण बनायौं । अध्ययन, खेलकुद, मनोरञ्जन आदि सबै हुने जब वातावरण बनायौं, जेल त जेल जस्तै लागेन । जेल प्रशासनसँग मागपत्र राखेर विविध संघर्षका कार्यक्रम गर्यौं । त्यही कारणले जेलभित्रका समस्या केही हदसम्म हल पनि भए । जेलभित्र ३ जनाको लडाकु टीम बनाएर केही बन्दिमाथि भौतिक कार्वाही गर्यौं । जसले गर्दा जेलभित्र हाम्रो पूर्ण नियन्त्रण हुनपुगेको थियो । भित्र पुर्ण नियन्त्रण र बाहिर संघर्षका कारण सिधा सिडियो र एस।पी।सँग वार्ता हुने भैसकेपछि जेल प्रशासन पनि हाम्रो प्रभावमा हुने नैं भयो । देशैभर विस्तार हुँदै गएको जनयुद्धको प्रभाव त झन पर्ने नैं भयो ।

हामीले भित्रै पुस्तकालय स्थापना गरेर अध्ययन,बहस र छलफल निकै जोड दिएर गर्ने गरेका थियौं । चिठी पत्रमार्फत पार्टी र घरपरिवारसँग पनि उत्तिकै जिवित सम्बन्ध कायम गरेका थियौँ । जेललाई एउटा संघर्षको मोर्चा बनाएर लड्नु पर्छ भन्नेमा स्पष्ट थियौं । हामीले बहसलाई अझै फराकिलो बनायौं । जेललाई एउटा मोर्चा मानिसकेपछि त्यसको उच्च रुप के हो रु जेल ब्रेक नैंं त्यो मोर्चाको सबैभन्दा उच्च रुप हो भन्ने साझा निष्कर्षमा हामी पुग्यौं । साझा बुझाई कायम गरेपछि हामीले जेल ब्रेकका अनेकौं उपाय र विकल्प खोजी गर्यौं । कतिपय योजना अनुकुल देखिएनन् भने कतिपय प्रयास विफल भए तर प्रयास जारी राख्यौं ।

२०५८ साउनमा भएको पहिलो युद्धविराम र वार्ताबाट हामीले छुट्ने आशा निक्कै गरेका थियौं । देशभरिका धेरैजसो जेलबाट सयौंको संख्यामा माओवादी आस्थाका बन्दीहरू छुटे । हामीलाई पनि छोड्ने पत्र आउला भनेर हरेक दिन जेल प्रशासनमा सोध्ने गर्थ्यौं । पत्र आएन बरु एकदिन ऋषि घिमिरे, डम्बर रानाभाट लगायतका साथीहरू आएर वार्ता सफल भएन, यो नैं हाम्रो अन्तिम भेट हुनसक्छ भनेर जानुभयो । हाल उहाँहरू सहिद र वेपत्ताको सुचिमा हुनुहुन्छ । हामी त्यतिबेला सार्है निराश, स्तब्ध र थकित भयौं । हामीले सल्लाह गरेर निराशालाई आशामा बदल्ने अठोट गर्यौं । पुराना योजनालाई निरन्तरता दिने निधो गर्यौं ।

एकदिन टोलायर घाममा बसिरहेको थिएँ । दुईजना नाईके आएर सोध्न थाले, किन निरास भएको ? मैले पनि सहज रुपमा भनें वार्ताबाट नछाड्ने भयो हामीलाई । यो जवानी सारा यही जेलमा वित्ने भयो । के गर्ने होला रु उनिहरुले पनि सहज उत्तर दिए, किन निराश हुनुहुन्छ र रु अब सुरुङ खनेर जानुस् । बरु के सहयोग चाहिन्छ हामी गरौंला । उनिहरुको कुराले केही हदसम्म सान्त्वना दियो र झन गम्भीर पनि बनायो । मैले त्यो प्रस्ताव आन्तरिक कमिटीको मिटिङ नैं राखेर गरें । सम्भावना र चुनौतिबारे छलफल सँगसँगै योजना पनि समृद्ध भए झैं लाग्न थाल्यो । जब जीवन र मृत्युकाबारे बहसमा आवश्यक परे बलिदान दिने पहिलो मान्छे आफै बन्ने प्रतिबद्धता सहित छलफल उचाइमा पुग्यो, सिङ्गो टीम त्यो योजना कार्यान्वयनमा लैजान तयार भयो ।

हामीले त्यो बेलाको संविधान दिवश कार्तिक २३ गतेको दिनलाई सुरुङ खन्न शुरु गर्ने दिन छनौट गर्यौं । त्यही संविधानको कारण हामी जेल परेको भनेर सबै बन्दिहरुलाई भन्दा भावनात्मक रुपमा सकारात्मक सन्देश जान्थ्यो । सुरुङ्गको शुरुवात पनि छारेरोगी बस्ने कोठाबाट गर्यौं । बन्दीलाई राख्ने चारवटा कोठामध्ये हामी बस्ने कोठा र हलमा बढी निगरानी हुन्थ्यो । बाहिरसम्मको दुरी पनि नजिक र पुलिस प्रशासनले पनि खासै वास्ता नगर्ने छारेरोगी बस्ने कोठा नैं उपयुक्त हुने भएरै त्यो ठाउँ छानेका थियौं । छाना मर्मत गर्दा छोडेको ठुलो फलामको रडलाई हेक्साब्लेडले छड्के पारेर काटेपछि त्यो २ वटा खन्ती भयो । हेक्सा पनि साथीहरू अदालत जाँदा परिवार मार्फत किताबको बीचमा राखेर भित्र लगेका थियौं ।

२३ कार्तिकमा सानो खाडल खनेर सुरुङको सुरुवात त गर्यौं तर टीममा समस्या आयो । केहीले यो योजना सफल नहुने र अनावश्यक बलिदान हुने भन्ने जिकिर गरे । झण्डै एक साता आन्तरिक छलफलपछि टीम कन्भिन्स भयो । अन्य साथीहरूलाई पनि विश्वस्त पारेर शुरु गर्ने तयारी गर्दै थियौं, युद्धविराम भंग भयो । दाङ लगायत देशभर जनमुक्ति सेनाले हमला गर्यो । सरकारले संकटकाल घोषणा गर्यो । बेला बेला जेलमा पनि शाहीसेनाले गस्ती गर्न थाल्यो । त्यतिबेला हामीले योजना अघि बढाउने कुनै सम्भावना थिएन । संकटकाल पुरानो सत्ताको आफ्नो संकट हो, भन्दै सबैको मनोबल उठाउन निकै मिहिनेत गर्नुपर्यो ।

दोस्रो पटक मंसिर २३ देखि सुरुङ खन्न शुरू गर्यौं । सुरुङबाट निस्केको माटो सिलिङमा राख्ने गरेका थियौं । तेस्रो दिनको राति माटोको लोड धान्न नसकेर बीम भाँचियो । हामीले झ्याल बन्द गरेर मादल बजाउने, गीत गाउने र टीभीको आवाज बढाएर सबै माटो हलमा लगाएको विस्तरामुनि राख्यौं । खासगरी सुरक्षाकर्मीको ध्यान अन्यत्र मोड्न त्यसो गरियो भाँचिएको बीमलाई डोरीले बाँधेर सिधा पार्यौं । बिहान उठ्दा सबैचीज सामान्य देखियो तर अर्को चुनौति थपियो । हामीले सबैलाई योजनाको जानकारी दिएका थिएनौं । कतिपय मान्छे सम्झाएर मान्ने खालका थिएनन् । हामीले भित्रै बनाएका चक्कु र रड देखाएर सबैलाई हाम्रो योजनाबारे जानकारी दियौं । यो जीवनमरणको लडाइँमा जसले गद्धारी गर्छ, त्यो हामीभन्दा पहिले नैं मारिने कुरा घोषणा गर्यौं ।

भोलिपल्ट दिनभर शान्तपुर्वक सबैलाई सम्झायौं। त्यसपछि हामीले राति काम गर्न जरुरी थिएन । अर्कोदिन बिहानै ढोका खोलेर पुलिस र चौकिदार जानासाथ काम शुरु गरियो । एकैछिनमा म सिडयो हुँ, कारागार चेक गर्न आएको भन्दै एक हुल पुलिस सहित मेनगेटबाट भित्र छिरे । हतार हतार सुरुङबाट

साथीहरू निकालेर बाहिर बोलाईयो । सिडियो रामकृष्ण भुर्तेल हामीलाई देखेर निकै दयावत रुपमा प्रस्तुत भए । तिमीहरू जीवन बर्बाद नगर, तिम्रा नेता प्रचण्ड विदेशमा मस्ति गरेर बसेका छन्, आत्मसमर्पण गर । यत्तिकैमा कुरा गर्नेभए फिल्डमा जाउँ भन्ने हाम्रो प्रस्तावमा उनी सहमत भए । पछाडिको फिल्डमा हामीले तथानाम प्रश्नको बर्षा गरेर उनको समय सक्ने काम गर्यौं । भित्र छिरेर सामान्य चेक गरेर उनी गएपछि निकै ठूलो राहत भयो ।

त्यसपछि हामी रोकिएनौं । रातदिन लगाएर काम गर्यौं । सुरुङ्गभित्र तार नैं लगेर बत्तीको ब्यवस्था गरेका थियौं । यसरी काम गर्दा पौष २ गते हामीले काम नैं सक्यौं । तर अर्को ठूलो अबरोध हाम्रो अघि आयो । सिडीयोको निरिक्षणपछि जेलमा सुरक्षाकर्मी थप गरियो । दुईवटा पोष्ट थप भयो । त्यसमध्ये एउटा त हामीले खनेको सुरुङ्गको मुखैमा राख्यो । सुरुङ्ग तयार भएर पनि कामै भएन । निस्किने ठाउँमा पुलिसको ड्युटी गर्ने पोष्ट छ । हाम्रोसामु कुनै पनि बिकल्प थिएन । निस्कौं भने थाहा भैहाल्छ, बसौंभने योजना लिक हुने डर छ । सुरुङ्गलाई त्यही अवस्थामा राखेर हामी सम्भावनाको खोजीमा लाग्यौं । त्यो नयाँ बंकरको छानो नभएकोले पानी परेकोबेला खाली हुन्छ भन्ने अनुमान गर्यौं । आखिर हाम्रो अनुमान सही सावित भयो ।

पौष महिनाभर आकाश सफा नैं रह्यो । हरेक दिन जसो हामी आकाशमा वादलको खोजी गरिरहेका हुन्थ्यौं । सम्पूर्ण बन्दीहरुको निगरानी गर्ने, विविध बहानामा बाहिर निस्कने र त्यो बंकरको अवलोकन गर्ने अनि राति सुरुङभित्रबाट पुलिसको गतिविधि बुझ्ने आदि कामले त्यो दुखद र पीडदायी समयलाई भुलाईदिन्थ्यो । खुला आकाशमा दौडिने सपनाकोसामु सबै चुनौतीपूर्ण क्षण सामान्य लाग्थे । निकै ठूलो प्रतिक्षापछि हामीले चाहेको समय आयो । अर्थात आकाशमा डम्म वादल र सिमसिम पानी ।

सदा झैं माघ २ गते बिहानै ढोका खुल्यो । हामी मेनगेटमा गयौं । सिमसिम पानी पर्न शुरु भैसकेको थियो । सुरक्षाकर्मीहरुले त्यो बंकरबाट बन्दोबस्तीका सामान ल्याउँदै थिए । छानोबिनाको त्यो बंकर हिउँदे झरीमा खाली हुने निश्चित थियोे । दिनभर बाहिर पानी परिरहेको थियोे । भित्र हामी निस्कने कुराको चर्चा भुसको आगो झै बलिरहेको थियो । अप्ठ्यारोमा सबैले सोच्ने एउटै कुरा हो, मलाई के हुन्छ ? सबैै बन्दीले खासखुस गरिरहेका थिए । हामी भने निस्कने योजनाको ठोस खाका कोर्नमा ब्यस्त थियौं । जब साँझ पर्दै गयो, छलफल झन सघन हुँदै गयो । जब भित्री गेट र ढोका बन्द भयो अनि शुरु भयो निर्णायक छलफल । चौकीदारलाई पहिल्यै माओवादी बनाएर भगाईसकेका थियौं । मुल नाईके र नाईकेहरु हाम्रो पक्षमा पारि सकेका थियौं ।

साथीहरूलाई सुरुङ सफा गर्न पठाएर हामी निर्णायक छलफलमा जुट्यौं । हामीसँग भएको रुपैयाँ, लत्ताकपडा र भाँडाकुँडा सबै त्यतिबेलासम्म बाँडिसकेका थियौं । माहोल अझै तयार भएन । मुल नाईकेले बोल्यो, हेर केटा हो यीनीहरु देशको लागि जान लागेका हुन् । जान दिनुपर्छ । जे पर्छ म जिम्मा लिन्छु । सबैजना बन्दीहरु चुपचाप भए । हामीले एउटा सुझाव दियौं, हामी निस्केको खबर पुलिसलाई केही समयपछि दिनु । उनिहरु अलि खुशी भए । झरी निरन्तर परिरहेको थियो । एकजोर कपडा र एउटा डायरी बोकेर म पनि राति १० बजेतिर सुरुङमा छिरें ।

हामीले निस्कने प्वाल बनाउन अर्को ठूलो दुखको सामना गर्नुपर्यो । जेलको ठुलो पर्खालमुनिको माटो चट्टान झैं भएको रहेछ । जतिसुकै जोडले फुटाउन खोजे पनि सानो टुक्रा झर्ने । हामी अगाडि आएका रामबहादुर, बिन्दमान र मेरो हातबाट रगतको धारा बग्नथाले तर सुरुङबाट निस्कने बाटो तयार हुँदैन । तीन घण्टाको अथक प्रयासमा हामीले सुरुङ तयार गर्यौं । पर्खाल बाहिर, खुल्ला आकाशमा हामी निस्किदा पानी रोकिसकेको थियो । हल्का जुनेली रात । परिस्थिति हाम्रो अनुमान जस्तै थियो । ५० जना बन्दी मध्य हामी ३० जना निस्केर लहरै पर्खालमा टाँसिएर उभियौं । अरु नआउने निश्चित भएपछि पुर्व योजना बमोजिम एकसाथ हामी दक्षिण हुँदै पश्चिम खोर्केखोलातिर दौडियौं ।

हामी करीब एक किलोमिटर टाढा पुगेपछि प्रहरीले गोली हान्यो । २ जना साथीहरू त्यहीँबाट छुटे । अरू सबैजना सकुशल गन्तव्यमा पुग्यौं । यसरी भएको थियो एक ऐतिहासिक सुर्खेत जेल ब्रेक । आज त्यो जेलब्रेकका सहयोद्धा पुष्पराज चौधरी र दल बहादुर घर्तीमगर महान जनयुद्धका सहिद भैसक्नुभएको छ । बाँकी रहेका हामी देश र जनताको मुक्ति र स्वतन्त्रताको अभियानमा निरन्तर लागिपरेका छौं ।