पोखरा प्रिमियर लिगको उपाधि चितवन राइनोजलाई

काठमाडौं,चितवन राइनोजले दोस्रो संस्करणको पोखरा प्रिमियर लिग क्रिकेटको उपाधि जितेको छ । आज भएको फाइनलमा विराटनगर टाइटन्सलाई ३२ रनले पराजित गर्दै चितवनले उपाधि जितेको हो । पोखरा रंगशालामा २०३ रनको लक्ष्यसहित जवाफी ब्याटिङ थालेको विराटनगर निर्धारित २० ओभरमा १७० रनमा समेटिएपछि पारस खड्काको कप्तानीमा रहेको चितवन अपराजित रहँदै उपाधि जित्न सफल भएको हो ।

विराटनगरका लागि मोहम्मद जाइद खानले सर्वाधिक ५७ रन बनाए । ४८ बलको सामना गरेका उनी ५ चौका ३ छक्का प्रहार गर्दै रोहन मुस्ताफाको बलमा भुवन कार्कीमार्फत क्याच भए । नोमन खानले १८ रनमा रनआउट हुँदा कप्तान प्रदिप ऐरी ३६ र पुनित मेहराले ३२ रन आउट भए । आजको ३२ रनसँगै पुनित लिगमा सर्वाधिक रनकर्ता बने ।

लोकेश बम १ रनमा पवेलियन फर्किदाँ सुनिल धमालाले ४ रन जोडे । दिलिप नाथले खाता नै खोल्न सकेनन् । चितवनका लागि करण केसीले ३ विकेट लिए । सन्नी पटेलले २ विकेट लिदाँ रोहन मुस्ताफाले १ विकेट लिए ।

यसअघि पोखरा रंगशालामा पहिला ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा २ सय ३ रनको लक्ष्य दिएको थियो । जसमा अनिल कुमार साह र रोहन मुस्ताफाको अर्धशतक बनाए । ओपनिङमा आएका मुस्ताफाले ५० रन बनाए । कप्तान पारस खड्कासँगै क्रिजमा आएका उनले ४३ बलको सामना गर्दै ४ चौका र १ छक्का प्रहार गरेका थिए ।

कप्तान पारस २५ रनमा पवेलियन फर्किए । ११ बलमा ४ चौका र १ छक्का प्रहार गरेका किशोर महतोको बलमा नोमन खानमार्फत क्याच भए । त्यसपछि क्रिजमा आएका बाबर हायत ५ रनमा आउट हुँदा मुस्ताफासँग अनिल शाहले उत्कृष्ट साझेदारी गरे । ३४ बलमा अनिलले ३ चौका र ३ छक्काको मदतमा ५० रन बनाएका थिए । अनिल पुनित मेहराको बलमा क्याच भए ।

आरीफ शेख १९ रनमा जाइद खानको बलमा जितेन्द्रमुखियामार्फत क्याच भए । सन्नी पटेलले १६ र करण केसीले २६ रन बनाए । विराटनगरका लागि जाइद खान र पुनित मेहराले २ –२ विकेट लिए । किशोर महतोको नाममा १ विकेट रहेको थियो । जितसँगै चितवनले राइजोजले २७ लाख रुपैयाँ पुरस्कार पाएको छ । उपविजेता विराटनगरले १० लाख रुपैयाँ पुरस्कार पाएको छ ।