भ्रमण वर्षलाई लक्षित गर्दै बैतडीमा प्याराग्लाइडिङको परीक्षण उडान

बैतडी, बतडी एमेजिङ एड्भेन्चर प्राइभेट लिमिटेडले नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै जिल्लामा प्याराग्लाइडिङको परीक्षण उडान गरेको छ । पाटन नगरपालिका र दोगडाकेदार गाउँपालिकामा परीक्षण उडान गरिएको हो ।

जिल्लामा पर्यटन प्रवर्द्धनका लागि आफूहरूले प्रयास थालेको संस्थाका संस्थापक कृष्णप्रसाद जोशीले बताए । अब नियमित प्याराग्लाइडिङ सञ्चालन गर्ने तयारी छ । त्यसका लागि आवश्यक प्रक्रिया थालिएको प्याराग्लाइडिङ सञ्चालक भूपेन्द्र कार्कीले बताए । ‘अबको १ महिनाभित्रै नियमित उडान गर्नेछौं,’ उनले भने, ‘सुरुमा पाटन र त्यसपछि अन्य ठाउँमा समेत टिकट काटेर प्याराग्लाइडिङबाटउड्न पाइनेछ ।’

प्याराग्लाइडिङ सञ्चालन भएपछि भारतबाट समेत पर्यटक भित्र्याउन सकिने उनको भनाइ छ । पाटन नगरपालिकाका कपिल केसीले पर्यटन प्रवर्द्धनका लागि यो प्रयास ठूलो सहयोग हुने आशा गरे । भारतसँग सीमा जोडिएको जिल्ला भएकोले सीमापारिका बासिन्दाहरू पनि अवलोकनका लागि आउनेमा ढुक्क भएको उनले बताए । दोगडाकेदार गाउँपालिकाका अध्यक्ष चक्रबहादुर कार्कीले प्याराग्लाइडिङ सञ्चालनमा स्थानीय सरकारले आवश्यक सहयोग गर्ने जानकारी दिए ।