तरकारीमा प्याज र गोलभेँडाको आतङ्क

पाकिस्तानमा गोलभेँडाको मूल्यले नयाँ रेकर्ड राखेको छ । सबैभन्दा ठुलो सहर कराचीमा मङ्गलवार गोलभेँडा प्रति केजी ६४० रुपैयाँमा कारोबार भएको पाकिस्तानी सञ्चारमाध्यम डन न्युजले जनाएका छ ।

पाकिस्तान सरकारले पछिल्लो हप्तादेखि ४,५०० टन टमाटर आयात गर्ने परमिट जारी गरेको थियो । यद्यपि बजारमा हुने गरेको गोलभेँडा खपतको सामुन्ने यस आयात अपुग ठहरियो । बढ्दो मागसँगै गोलभेँडाको मूल्य निरन्तर वृद्धि हुँदै गइरहेको छ । रिपोर्टमा एक व्यापारीलाई उद्धृत गर्दै बताइएको छ – इरानबाट ४५०० टन गोलभेँडा आयात गर्ने परमिट दिएता पनि ९८९ टन मात्रै पाकिस्तान पुगेको थियो ।

कराचीमा मङ्गलवारसम्म प्रति केजी रु. ४८० मा कारोबार भइरहेको गोलभेँडा बुधवार एकाएक रु. ६४० पुगेको हो । यस वर्ष गोलभेँडाको पैदावार कम रहेको कारण मूल्यमा माथि पुगेको अधिकारीहरूले बताएका छन् । यस महिनाको सुरुवातमा कराचीमा गोलभेँडाको अधिकतम खुद्रा मूल्य रु. १८७ रुपैयाँ रहेको थियो ।

यस्तै दक्षिण एसियाली मुलुक बङ्गलादेशमा प्याजको मूल्यमा निरन्तर वृद्धिपछि बङ्गलादेशी प्रधानमन्त्री शेख हसिनाले प्याज नै नखाने बताएकी थिइन् । बङ्गलादेशका रेस्टुरेन्टहरूमा पनि प्याजको प्रयोग घटेको समाचारमा जनाइएको छ । प्याजको मूल्यलाई लिएर राजधानी ढाकामा उपभोक्ताहरूले विरोध प्रदर्शन शुरु गरेका छन् । बङ्गलादेश प्रति वर्ष ४० प्रतिशत प्याज विदेशबाट आयात गर्ने गर्छ ।

भारतमा बढेको प्याजको मूल्य असर बङ्गलादेश, भुटान सहित नेपालमा पनि देखिएको छ । नेपालमा प्रायशः ३० देखि ४० रुपैयाँ प्रति केजीमा कारोबार हुँदै आइरहेको प्याज यति बेला प्रति केजी १ सय ६० भन्दा बढी मूल्यमा कारोबार भइरहेको छ । प्याजको भाउ अत्यधिक भएपछि भारत सरकारले भने प्याज आयात गर्ने तयारी गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन्। एजेन्सी