आगामी शैक्षिक सत्रदेखि कक्षा १ र ११ मा नयाँ पाठ्यक्रम लागू हुने

काठमाडाैँ, सरकारले आगामी शैक्षिक सत्रमा कक्षा १ र ११ बाट नयाँ पाठ्यक्रम शुरू गर्ने भएको छ । पाठ्यक्रम विकास केन्द्रले १५ विषयको पाठ्यक्रम राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्बाट पारित गरिसकेको छ भने ४० विषयको पाठ्यक्रम तयार गरी पारित गर्न परिषद्मा लैजाँदै छ ।

पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक डा. लेखनाथ पौडेलले आगामी वैशाखबाट कक्षा १ र साउनदेखि कक्षा ११ को पाठ्यक्रम शुरूगर्ने जानकारी दिए । उनले विद्यार्थी संख्या धेरै हुने १५ विषयको पाठ्यक्रम पारित भइसकेको, ४० विषयमा पाठ्यक्रम निर्माण गरी परिषद्बाट पारित गर्ने तयारी भएको बताए ।

अघिल्लो वर्षदेखि नै नयाँ पाठ्यक्रम लागू गर्ने भनिए पनि तयारी कम र निजी विद्यालय सञ्चालकहरूले गुनासो गरेका कारण लागू हुन सकेको थिएन । अघिल्लो वर्ष सात विषय पढाउनुपर्ने व्यवस्था भए पनि त्यसलाई परिवर्तन गरी ६ विषय पढाए पुग्ने व्यवस्था गरिएको थियो ।

केन्द्रले राष्ट्रिय पाठ्यक्रम प्रारूपमा केही परिवर्तन गरेर ०७७ देखि नयाँ पाठ्यक्रम कार्यान्वयन गर्ने तयारी गरेको हो । यसअघि सातवटा विषय पढाउनुपर्ने व्यवस्था गरेकामा नयाँ व्यवस्थाअनुसार केन्द्रले ६ विषय पढाउनैपर्ने र क्रेडिट आवर कम भएका विषय पढ्नेले थप एक विषय पढ्न सक्ने व्यवस्था गरेको छ । केन्द्रले राष्ट्रिय पाठ्यक्रमको प्रारूप परिवर्तन गरी नयाँ व्यवस्था गरेको हो ।

निर्देशक पौडेलले आगामी शैक्षिक सत्रमा कक्षा १ र ११ बाट शुरूभएपछि कक्षा १ माथि माथिल्लो कक्षा र ११ बाट १२ तथा तल्ला कक्षामा नयाँ पाठ्यक्रम लागू गर्दै जाने बताए । ०७८ मा कक्षा ६ बाट पनि नयाँ पाठ्यक्रम लागू गर्ने गरी तयारी भइरहेको उनको भनाइ छ । ‘०७७ मा कक्षा ६ को पाठ्यक्रम परीक्षण गर्नेछौँ,’ पौडेलले भने । नयाँ पत्रिकामा खबर छ ।