अस्पतालको भर्‍याङमा झुण्डिएको अवस्थामा एक पुरुषको शव फेला

चितवन । चितवनको भरतपुर अस्पतालको मेडिसिन विभाग नजिकको भर्‍याङमा एक पुरुषको शव झुण्डिएको अवस्थामा फेला परेको छ । लमजुङको दूधपोखरी गाउँपालिका वडा नम्बर २ स्थायी ठेगाना भएका विष्णु सुनारको झुण्डिएको अवस्थामा शव फेला परेको अस्पताल स्रोतले जनाएको छ ।

गएराति करिब ८ बजे उनी मृत अवस्थामा फेला सुनारको घाँटीमा रुमाल जस्तो सलको पासो रहेको प्रहरीले जनाएको छ । तीन महिना अगाडि सुत्केरी भएकी श्रीमतीलाई मुटुको तल्लो भागमा पानी जमेपछि उपचार गराउन कात्तिक १७ गते सुनार भरतपुर अस्पताल आएका थिए ।

सासुसहित अस्पताल आएका उनले आत्महत्या गरेको चितवन प्रहरीको भनाइ छ । यद्यपि उनले आत्महत्या गर्नुको कारण खुलेको छैन । अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका उनसार उनको श्रीमतीको स्वास्थ्यमा सुधार हुँदै गएको थियो र शनिबार(आज) डिस्चार्ज गर्ने तयारी भइरहेको थियो ।

मृतककी सासुको भनाइ उल्लेख गर्दै सूचना अधिकारी पौडेलले श्रीमतीसँग विष्णुको सधैं झगडा पर्ने गरेको बताए । सासुले आत्महत्या आर्थिक कारणबाट नभएको जनाएको सूचना अधिकारी पौडेलको भनाइ छ । प्रहरीले घटनास्थलको मचुल्का उठाई अनुसन्धान शुरु गरेको छ । शव अस्पतालको शवगृहमा राखिएको छ ।