शिक्षा मन्त्रालयद्वारा सहसचिवहरुको व्यापक सरुवा

काठमाडौँ । शिक्षा मन्त्रालयले सहसचिवहरुको व्यापक सरुवा गरेको छ । सोमवार साँझ सहसचिवहरुको व्यापक सरुवा गरिएको भएपनि सार्वजनिक गरिएको छैन । मन्त्रालय स्रोतका अनुसार शिक्षा मन्त्रालयमा कार्यरत वैकुण्ठ अर्याल शिक्षक सेवा आयोगमा सरुवा भएको छ । कमलप्रसाद पोखरेललाई मन्त्रालयमा सरुवा गरिएको छ ।

केन्द्रिय आयोजना कार्यान्वयन इकाई(शिक्षा) सिएलपिआइयुका इमनारायण श्रेष्ठलाई शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा र शिक्षा तथा मानव स्रोत विकास केन्दका चुडामणि पौडेललाई सिएलपिआइयुमा सरुवा गरिएको छ ।

यस्तै, इभेन्ट परियोजनाका केशव दाहाललाई शैक्षिक गुणस्तर परिक्षण केन्द्र र चिकित्सा शिक्षा आयोगका चन्द्रकान्त भुसाललाई इभेन्ट परियोजनामा सरुवा गरिएको बुझिएको छ । शिक्षा मन्त्रालयका हरि लम्साललाई चिकित्सा शिक्षा आयोगमा सरुवा गरिएको मन्त्रालय स्रोतले जनाएको छ । स्रोतका अनुसार शिक्षा तथा मानव स्रोत विकास केन्द्रका दिपक शर्मालाई शिक्षा मन्त्रालय सरुवा गरिएको छ ।

पाठ्यक्रम विकास केन्द्रका सहसचिव लेखनाथ पौडेलको पनि सरुवा गर्ने भनिएपनि उनले त्यो थमाउन सफल भएका छन् । पाठ्यक्रम प्रारुप, नेपाली विषयको पाठ्यपुस्तकको नामाकरण, पाठ्यपुस्तकको मूल्यवृद्धि, निजी प्रकाशनका पुस्तकहरुको मूल्यवृद्धिलगायतका विषयमा विवादित बन्नपुगेका पौडेलको पनि सरुवा हुने हल्ला चलेको थियो ।