कर्णालीबासीले अब सहज र सुलभ स्वास्थ्य सेवा पाउनेछन्–शहरी विकास मन्त्री राई

बिरेन्द्रनगर, सुर्खेत शहरी विकास मन्त्री मो.इश्तियाक राईले प्रदेश अस्पतालको निर्माणपछि अब कर्णालीका जनताले सहज र सुलभ तरिकाले राम्रो स्वास्थ्य सेवा पाउने बताएका छन । 

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा संघीय सरकारले निर्माण गरेको ३०० शैयाको नवनिर्मित अस्पताल भवनको शनिवार एक समारोहका विच उद्घाटन गर्दै मन्त्री राईले सो कुरा बताएका हुन । 

प्रदेश सरकारले गौरवको अस्पतालका रुपमा यो अस्पताललाई अगाडि बढाएको भन्दै सेवा प्रवाहलाई प्राथमिकता दिन प्रदेश सरकारलाई सुझाव दिए ।

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेश सरकारले नीति तथा कार्यक्रममार्फत नै बजेट ल्याएको भन्दै अव सोही बमोजिम अस्पतालबाट सेवा प्रवाह हुने बताए। 

मुख्यमन्त्री शाहीले प्रदेश सरकारले ३०० शैयाको अस्पताल बनाउने लक्ष्य सहित काम अघि बढाएको जानकारी दिदैं अव थप आवश्यक पूर्वाधार बनाइने बताए । 

कार्यक्रममा प्रदेशका सामाजिक विकास मन्त्री दल रावलले प्रदेश सरकारले अस्पताललाई आफू मातहत ल्याएसंगै यसको स्तरोन्नति गर्नतर्फ केन्द्रित बनेको जनाए । 

करिव ५४ करोडको लागतमा निर्माण गरिएको भवन सम्झौता मितिको ६ महिना अगावै सकिएको हो ।

प्रदेश अस्पतालका प्रमुख मेडिकल सुपरीटेन्डेन्ट डा. डम्मर खड्काले अस्पतालको भौतिक पूर्वाधारको विकासका साथै अव जनशक्ति र उपकरण थप गर्नुपर्नेतर्फ ध्यान केन्द्रीत गर्न आग्रह गरे । 

सो अवसरमा उक्त भवन निर्माणमा सहयोग गर्ने विभिन्न व्यक्तित्वहरुलाई सम्मान समेत गरिएको थियो । उक्त अस्पताल भवनको निर्माण पुरा भएपछि अब कर्णालीका जनताले उपचारका लागि नेपालगन्ज र काठमाण्डौ जाने समस्याबाट क्रमशः मुक्ति पाउँदै जाने विश्वास स्थानीयले गरेका छ ।