चाउचाउ खाएर एक बालिकाको मृत्यु, दुइ सिकिस्त

जनकपुरधाम ,चाउचाउ खाएर सुतेकी एक बालिकाको मृत्यु भएको छ भने उनकी आमा र भाइसमेत बिरामी परेका छन्। धनुषाधाम नगरपालिका ३ तेजनगरका शत्रुधन साहकी ६ वर्षीया छोरी काजल साहको मृत्यु भएको हो।

शुक्रबार साँझ चाउचाउ खाएर सुतेकी उनको शनिबार मृत्यु भएको आफ्न्तले जनाएका छन्। काजलसँगै चाउचाउ खाएर सुतेकी आमा पवित्रीदेवी साह र ४ वर्षीय भाइ राकेश साह सिकिस्त बिरामी परेका छन्।

दुवै जनाको उपचार स्थानीय अस्पतालमा भइरहेको इलाका प्रहरी कार्यालय धनुषाधामका प्रहरी निरीक्षक सुमन थापाले बताए। उनका अनुसार मृतक बालिका र सिकिस्त आमा–छोराले शुक्रबार साँझ घर नजिकैको पसलबाट ‘ज्याकपोट’ नामको चाउचाउ किनेर खाएका थिए। घटना विषयमो अनुसन्धान सुरु गरिएको उनले बताए।

उक्त पसलमा बेच्न राखिएको सोही कम्पनीको चाउचाउ परीक्षण लागि जनकपुर पठाएको उनको भनाइ छ। मृतक बालिकाको शवलाई स्थानीयले गाड्ने प्रयास गरेका थिए। तर, प्रहरीले शवलाई पोष्टमार्टका लागि जनकपुर प्रादेशिक अस्पताल पुर्‍याएको छ। पोष्टमार्टमको रिपोर्ट आएपछि पनि घटनाको रहस्य बाहिर आउने प्रहरीको विश्वास छ।