मेस्सीलाई तीन महिने प्रतिबन्ध

एएफपी । अर्जेन्टिनाको राष्ट्रिय फुटबल टोलीका कप्तान लियोनल मेस्सीलाई तीन महिने प्रतिबन्ध लगाइएको छ । मेस्सीलाई कोपा अमेरिकाको समयमा दक्षिण अमेरिकी फुटबल प्रशासक निकायको आलोचना गरेपछि शुक्रबार उनलाई अन्तर्राष्ट्रिय खेलमा प्रतिबन्ध लगाइएको हो ।

उनलाई खेलप्रतिबन्धसँगै ५० हजार अमेरिकी डलर जरिबाना तोकिएको अधिकारीहरुले जनाएका छन् । अर्जेन्टिनाका र चिलीबीच तेस्रो स्थानका लागि भएको प्रतिस्पर्धाका क्रममा रातो कार्ड देखाइएपछि उनले मैदान छोड्नु परेको थियो ।

बार्सिलोनाबाट खेल्दै आएका ३२ वर्षीय मेस्सीले त्यतिबेला “प्रतियोगिताको कप ब्राजिलका लागि पहिले नै सुरक्षित गरिएको” टिप्पणी गरेका थिए ।

दक्षिण अमेरिकी फुटबल संंघको निर्णयविरुद्ध अपिल गर्न मेस्सीसँग एक हप्ताको समय रहेको छ । प्रतिबन्धका कारण आगामी सेप्टेम्बर र अक्टोबरमा चिली, मेक्सिको र जर्मनीसँग हुने मैत्रीपूर्ण खेलमा सहभागी हुनबाट उनी वञ्चित हुनेछन् ।

सन् २०२२ को विश्वकप फुटबल प्रतियोगिताको छनौट खेल अर्जेन्टिनाले सन् २०२० को मार्च महिनाबाट शुरू गर्दैछ ।

कोपा अमेरिका प्रतियोगिताको सेमिफाइनलमा ब्राजिलसँग २–० को अन्तरले पराजित भएपछि अर्जेन्टिनाको फुटबल संघले उक्त खेलमा ’रेफ्रिले गम्भीर त्रुटि गरेको’ गुनासो गरेको थियो ।

दक्षिण अमेरिकी फुटबल संघले भने आफ्नो निष्ठामाथि लगाइएको आरोप ’निराधार’ रहेको टिप्पणी गरेको थियो । चिलीका ग्यारी मेडलसँग मेस्सी भिडेपछि खेलको ३७ औ मिनेटमा दुवै जनालाई रातो कार्ड देखाइएको थियो ।