सुर्खेत जेलब्रेकका मुख्य कमाण्डर मल्ल १६ बर्षपछि बने सुर्खेतकै सह-इन्चार्ज

आखिर को हुन् मल्ल ?

सुर्खेत,सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सुर्खेतको सह–इन्चार्जमा झक बहादुर मल्ल चयन भएका छन् । आईतबार बसेको नेकपाको सचिवालय बैठकले ७७ वटा जिल्ला र जिल्ला सरहकै मान्यता दिईएका ६ महानगरपालिकाको इन्चार्ज र सह–इन्चार्जको टुंगो लगाउने क्रममा मल्ललाई सुर्खेतको सह–इन्चार्जको जिम्मेवारी दिएको हो ।

मल्लले १६ बर्षपछि आफ्नै गृहजिल्ला सुर्खेतमा फेरि सह–इन्चार्जको जिम्मेवारी पाएका हुन् । उनी यसअघि वि.सं. २०५९ सालमा तत्कालीन नेकपा माओवादीको सुर्खेत सेक्रेटरी भएका थिए ।

सुर्खेतको इन्चार्जमा भने पूर्व माओवादीकै नरबहादुर बिष्ट चयन भएका छन् । पूर्व सांसद समेत रहेका विष्ट पूर्व माओवादीको सुर्खेतको इन्चार्जको भूमिकामा थिए । सुर्खेतमा पूर्व माओवादीले इन्चार्ज र सह–इन्चार्ज दुबै पाएको हो ।

सह-इन्चार्ज बनेका मल्ल को हुन् ?

बुवा बज्रबहादुर मल्ल र आमा मनिसराको कोखबाट वि.सं. २०३६ साल मंसीर २२ गते सुर्खेतको लाटीकोइलीमा जन्मेका मल्ल ६ दाजुभाई मध्येका कान्छा हुन् । मल्लका ५ दाइ, दुई दिदी र एक बहिनी मध्ये दाई कुलबहादुर मल्ल र जेठी दिदीको निधन भईसकेको छ । दाई कुलबहादुर मल्लको २०५७ सालमा तत्कालीन माओवादीले चलाएको जनयुद्धमा शहादत भयो भने दिदीको असामयिक निधन भयो ।

वि.सं. २०५२ सालबाट संचालन भएको जनयुद्ध र यसले उठान भएका मुद्धाहरुबाट प्रभावित भएका मल्ल विद्यार्थी जीवनबाटै तत्कालीन अखिल क्रान्तिकारीमा आबद्ध भएका थिए । वि.सं.२०५० सालमा विद्यार्थीको इकाई समिति अध्यक्ष बनेका मल्ल माध्यममिक तहको पढाइ सकिएसंगै वि.सं.२०५४ साल असारतीर जनयुद्धमा पूर्णकालीन भए ।

वि.सं. २०५४ मा जिल्ला सचिव, वि.सं. २०५५ मा जिल्ला अध्यक्ष हुँदै वि.सं. २०५७ मा तत्कालीन अखिल क्रान्तिकारीको केन्द्रिय सदस्यमा चयन भएका मल्ल वि.सं. २०६० सालमा बिद्यार्थी राजनीतिबाट बिदाई भएका थिए ।

पार्टी संगठनतर्फ वि.सं. २०५४ मा एरिया सेक्रेटरी भएर भूमिगत भएका मल्ल वि.सं. २०५५ मा जिल्ला पार्टी सदस्य हुँदै वि.सं. २०५९ देखि २०६० मा सुर्खेतको जिल्ला सेक्रेटरी बनेका थिए । २०६९ सालमा मोहन बैद्य नेतृत्वमा तत्कालीन माओवादी बिभाजित भएपछि बैद्य तर्फ लागेका मल्ल बैद्य नेतृत्वको नेकपा–माओवादीको केन्द्रिय सदस्य चयन बनेका थिए ।

अहिले उनी सत्तारुढ नेकपाको केन्द्रिय सदस्य समेत छन् । २०६० सालपछि जनमुक्ति सेनामा सहभागी भएका मल्लसंग जनमुक्ति सेनाको कम्पनि कमिसार हुँदै ब्रिगेड कमिसारसम्म काम गरेको लामो राजनैतिक अनुभव छ ।

सुर्खेत जेलब्रेकका मुख्य कमाण्डर

मल्ल २०५८ साल माघ २ गते भएको सुर्खेत जेलब्रेकको मुख्य योजनाकार हुन् । उनकै योजना र नेतृत्वमा राजनैतिक आश्थाका १५ र अन्य १५ जना गरि ३० जनाले सुर्खेतको जेलब्रेक गरेका थिए ।

उनीसंग जेलब्रेक गरेका विन्दमान विष्ट अहिले कर्णाली प्रदेशको सांसद छन् भने बर्दियाका विष्णुप्रसाद चौधरी थारु आयोगको अध्यक्ष छन् । त्यस्तै दुई पटक चलचित्र बोर्डको अध्यक्ष भएका युवा कवि तथा साहित्यकार गणेश भण्डारी अहिले सुर्खेत जिल्ला पार्टी सदस्य छन् । कालीकोटका लोकजंग शाही विप्लव माओवादीको बाँके इन्चार्ज छन् । कालीकोटकै देवीराम देवकोटा अहिले पत्रकार छन् । बर्दियाका पुष्पराज चौधरी र बाँकेका दलबहादुर घर्ती ( विकास गुरुङ ) शहीद भइसकेका छन् ।

मल्लले ३२ फुट लामो सुरुङ खनेर सुर्खेत जेलब्रेक गर्ने सफल योजना कार्यान्वयन गरे । राजनैतिक, बैचारीक र सांगठनिक क्षेत्रमा परिपक्व युवा नेताका रुपमा परिचित मल्ल २०५७ साल भदौमा सुर्खेतबाटै गिरफ्तार भएका थिए ।

शहीद परिवार

मल्ल शहीद परिवार पनि हुन् । उनका दाइ कुल बहादुर मल्ललाई जनयुद्धकै क्रममा २०५७ सालमा सर्खेतको पश्चिममा प्रहरीले हत्या गरेको थियो । त्यस्तै मल्लले आफ्नो पहिलो पत्नी भूमिसरा वलीलाई पनि आन्दोलनकै क्रममा गुमाउनु पर्यो । वि स.२०५९ को जेठमा वलीलाई प्रहरीले नियन्त्रणपछि हत्या गरेको थियो । वलीसंग मल्लले २०५६ माघमा जनवादी विवाह गरेका थिए ।

त्यसपछि मल्लले दोस्रो विवाद बाँकेकी मञ्जुकुमारी रोकायसंग २०६१ सालमा गरे । मल्लका अहिले एक छोरा र एक छोरी छन् । मल्लका जेठान मनोज कुमार रोकाय सुदिप अहिले पनि बेपत्ता नै छन् भने साला महेन्द्र रोकाय बिनोदको जनयुद्धकै क्रममा शहादत भयो ।

घरपरिवार नै राजनीतिमय

मल्लको घर परिवार नै राजनीतिमय छ । उनको पत्नी मञ्जुकुमारी अहिले बाँकेको जिल्ला पार्टी सदस्य छन् । दाइ भीमबहादुर मल्ल समाजवादी पार्टी नेपालको कर्णाली प्रदेश अध्यक्ष छन् । उनी पनि बिगतमा पूर्व माओवादी पार्टीको सुर्खेतको इन्चार्ज थिए । ससुरा अशोक रोकाय सत्तारुढ नेकपाको ५ नम्बर प्रदेश सदस्य छन् ।