डिएसपी ढुंगेलको खातामा डन’ को ३ करोड , अख्तियारले पत्र काटेपछि फरार

रामेछाप, कुनै समय गुण्डा नाइके दिनेश अधिकारी ‘चरी’ इन्काउन्टरपछि चर्चामा थिए– प्रहरी नायब उपरिक्षक डिएसपी कुमोद ढुङ्गेल । तर यतिबेला उनै डिएसपी ढुङ्गेल ठूला डाँका, र गुण्डा नाइकेसँग ‘लसपस’का कारण विवादीत मात्रै छैनन् तालुकदार निकायले उनलाई निलम्बन नै गरिसकेको छ ।

ईलाका प्रहरी कार्यालय चन्द्रानिगाहापुर रौतहटमा कार्यरत रहँदा डिएसपी ढुङ्गेलले डकैत मुद्दामा समलग्न व्यक्तिसँग फोन सम्पर्क गरेको देखिएको थियो । त्यतिमात्रै होइन डिएसपी ढुङ्गेलको खातामा ३ करोड भन्दा माथि रकम देखिएपछि छानबीन गर्ने निकाय नै अचम्ममा परेको छ ।

डकैत मुद्दामा पक्राउ परेका विक्रम श्रेष्ठ, गुण्डा नाइके समिरमान बस्नेत लगायतका गुण्डा नाइकेहरुसँग डिएसपी ढुङ्गेलको व्यापारिक साझेदार खुलेपछि उनीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान थालेको छ ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७६ असार २८ गते प्रहरी प्रधान कार्यालयलाई पत्र काटेको थियो ।

प्रहरी प्रधान कार्यालयले अख्तियारको पत्रलाई उल्लेख गर्दै महानगरीय प्रहरी परिसर काठमाडौंलाई पत्राचार गरेको छ । ‘ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहापुर, रौतहटमा केहि समय अगाडिसम्म कार्यरत प्र.ना.उ कुमोध ढुंगेलसँग केही कुरा बुझ्न अति आवश्यक भएको हुदाँ अतिशिघ्र आयोगको कोठा नं. ४०३ मा सम्पर्क गर्न पठाई दिन हुन अनुरोध गरिएकोमा हालसम्म निज उपस्थित नहुनु भएकोले खोजतलास गरी तुरुन्त उपस्थित गराई दिनहुन भनी प्रहरी प्रधान कार्यालय प्र.म.नि.को सचिवालयको आदेश न.६८४७ मिति २०७६ र ०३ र २९ गतेको पर्चा साथ सम्मानित अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालको च.न. २७४० मिति २०७६ र ०३ र २८ गतेको पत्र प्राप्त हुन आएको हुँदा निजलाई अतिशिघ्र खोजतलास गरी सम्मानित आयोगको कोठा नं. ४०३ मा उपस्थित गराउन हुन निर्देशाअनुसार अनुरोध गरिएको छ,’ प्रहरी परिसर काठमाडौंलाई हेडक्वार्टरले काटेको पत्रमा भनिएको छ ।

स्रोतका अनुसार ढुङ्गेललाई अख्तियारले अकुत सम्पत्ति मुद्दामा अनुसन्धान गरी सम्पत्ति सुद्धिकरण अनुसन्धान विभाग मार्फत मुद्दा चलाउने तयारी गरेको छ । ‘उहाँको खातामा अस्वभाविक सम्पत्ति देखिएको छ ।आपराधिक गतिविधिमा समलग्न अधिकांश व्यक्तिहरु उहाँको सम्पर्कमा हुनुहँदो रहेछ,’ डिएसपी ढुङ्गेलको कारोबार सम्बन्धि अनुसन्धान गरिरहेका एक अधिकृतले भने,‘गुन्डा नाइकेदेखि डकैत मुद्दामा जेल सजाय भोगीरहेका व्यक्तिसँग उहाँको अस्वभाविक कारोबार छ ।’

गत चैत २६ गते रानीबारीमा लालेन्द्र शेरचन्दको घरमा भएको डकैत घटनामा पक्राउ परेका अभियुक्त विक्रम श्रेष्ठ र डिएसपी ढुंगेलबीच फोन र एसएमएस आदान प्रदान भएको खुलेको थियो । श्रेष्ठ र ढुंगेलबीच महाराजगञ्जस्थित भेनस रेष्टुरेन्टमा भेट भेट भेटेकै दिन शेरचन्दको घरमा डकैती भएको थियो । प्रहरी हिरासतमा रहेका श्रेष्ठले डीएसपी ढुंगेलसँगको भेटघाट भएको स्वकारेपछि गृहमन्त्रालयले उनीमाथि कारबाही थालेको थियो ।

९८५११५५१८४ नम्बरको मोबाइलबाट श्रेष्ठले डीएसपी ढुंगेलको ९८५११८०००० नम्बरमा चैत २७ गते साँझ ६ बेर २३ मिनेटमा र २८ गते अपराह्न तीन बजेर पाँच मिनेटमा संवाद गरेको रेकर्ड प्रहरीसँग सुरक्षित छ । त्यस्तै श्रेष्ठको ९८५११५५१८४ मोबाइलबाट डिएसपी ढुंगलेको ९८०८२३७०८२ मोबाइलमा चैत २८ गते बिहान १० बजेर ३७ मिनेटमा र चैत २९ गते अपराह्न १२ बजेर ४७ मिनेटमा फोनमा कुराकानी भएको कलडिटेलमा देखिएको थियो । श्रेष्ठले ढुंगेलको मोबाइलमा सन्देश पनि पठाएका थिए।

श्रेष्ठले प्रहरी बयानमा भने जग्गाको विषयमा डीएसपी ढुंगेलसँग भेट गरेको दाबी गरेका छन्। चैत १३ मा पठाएको सन्देशमा उल्लेख थियो, ‘दाई दीपेश ९८५१२४८५१८’।स्रोतका अनुसार डिएसपी ढुङ्गेल र डकैत मुद्दाका अभियुक्त श्रेष्ठको जग्गामा साझेदारी छ ।

यसअघि राजधानीको शान्तिनगरमा गोली प्रहारबाट मृत्यु भएका शरद गौचनको हत्यामा मुख्य अभियुक्त भनिएका समिरमान बस्नेतसँग ढुङ्गेलको गहिरो नाता छ । स्रोतका अनुसार डिएसपी ढुङ्गेलले बस्नेतको कारोबार सम्हाल्दै आएका थिए । ढुंगेलको खातामा करोडौँ रकम देखिएपछि अनुसन्धान अधिकारीले गुन्डा नाइके र डकैत मुद्दाका अभियुक्तको रकम व्यवस्थापन गरेको पत्ता लगाएका छन् ।