निर्मला, नयाँ युग र मेरो सरकार

यो बस्ती
यो गाउँ
यो शहर
यो देश
कसैको रहेनछ यो सरकार ।

आशुमा पौडिएकी निर्मलाकी आमा
पीडामा पिल्सिएका निर्मलाका बुवा
न्यायको भिख माग्दै गरेको निर्मलाको आत्मा
निर्मलालाइ न्याय दे भन्दै घाँटी सुकाएको म
कसैको रहेन छ यो सरकार ।

आफुले बनाएको मुर्ति
आफुले बनाएको मन्दिर
आफुले सिलाएको मेयर साबको कोट
छुन निषेधित हर्के
कसैको रहेनछ यो सरकार ।

प्रसुती हुदा ज्यान गुमाएकी नन्दकला
गाजो काट्दा भिरबाट खसेको पुणे
दुई छाक टार्न धौ भएर,
कतार पुगेको अटल
दाइजोको नाउँमा ,
झुन्ड्याइएकी रमिला
कसैको रहेनछ यो सरकार ।

सुन्दरता फिजाएर बसिरहेको रारा
आफ्नो हैसियत ,
पर्खिरहेको जुम्लाको स्याउ
कर्णालीको अध्यारो ,
हटाउन उत्सुक तिला
कसैको रहेनछ सरकार ।

आक्रोश ,पीडा,अन्याय ,गुनासो
मनभरी पालेर बसेको
म एक यो देशको नागरिकको मनले
भन्न मानिरहेकै छैन
कि मेरो देशमा एउटा सरकार छ
जस्ले नयाँ युग ल्यायो ।