बमले उडाइदिने धम्की आएपछि विमान आपतकालिन अवतरण

ब्रिटिश फाइटर जेटद्धारा सुरक्षा

एजेन्सी, एयर इन्डियाको एउटा जहाजमा बम राखिएको हल्ला चलेपछि लन्डनमा आपतकालिन अवतरण गरिएको छ ।

एयर इन्डियाको बी ७७७ फ्लाइट ए १९१ विमान मुम्बईबाट अमेरिकातर्फ उडान भरिरहेका बेला बमले उडाइदिने धम्की आएपछि लण्डनमा आपतकालिन अवतरण गरेको हो । विमान आपतकालीन अवतरण गराउँदा ब्रिटिस फाइटर विमानहरुले सुरक्षा दिएका थिए ।

घटनाबारे बेलायतको रक्षा मन्त्रालयले भनेको छ,ब्रिटिश फाइटर जेटको सुरक्षामा एयर इन्डियाको जहाज लण्डनस्थित स्टेनस्टेड विमानस्थलमा सुरक्षित अवतरण गरेको छ । अज्ञात समूहबाट ट्वीटमार्फत बमको धम्की आएपछि विमान डाइबर्ट भएको जनाइएको छ ।

बिहीबार बिहान १० बजेर १५ मिनेटमा आपतकालीन अवतरण भएको सो विमान केही समय एयरपोर्टमा तैनाथ सुरक्षाकर्मीहरुको विशेष निगरानीमा राखेर अमेरिका उडेको सञ्चारमाध्यामहरुले जनाएका छन् ।