गुठी विधेयक फिर्ता लिन सांसदहरुको माग

काठमाडौँ ,नेपाली कांग्रेसले गुठी विधेयक फिर्ता लिन सरकारसँग माग गरेको छ । पुस्तौँ पुस्तादेखि चलिआएको गुठी सम्बन्धी व्यवस्थालाई सरकारले नियन्त्रणमा लिन खोजेको भन्दै कांग्रेसले विरोध जनाएको हो । प्रतिनिधिसभाको बुधबारको बैठक सुरु हुनासाथ नेपाली कांग्रेसका सांसद्हरुले विरोध जनाएपछि सभामुख कृष्णबहादुर महराले बोल्न समय दिनुभएको थियो ।

प्रमुख प्रतिपक्षी दलका तर्फबाट कांग्रेस नेता प्रकाशमान सिंहले गुठी सम्बन्धी विधेयक गलत मनसायबाट आएको टिप्पणी गर्दै फिर्ताको माग गर्नुभयो । गुठीसम्बन्धि विधेयकमा गुठियारहरुलाई पुस्तौं पुस्तादेखि स्थापना भएको निजी गुठीलाई सार्वजनिक गुठीमा लगेपछि प्राधिकरमार्फत नियन्त्रणमा लिनका लागि गतल मनासायबाट विधेयक आएको सांसद सिंहको भनाइ थियो ।

‘उपत्यकामा धेरै परिवारले आफ्नो पारिवारिक पुजा गर्ने, जात्रा गर्ने परम्परादेखि चल्दै आएको रीतिरिवाजलाई जीवन्त राख्ने काम भइरहेको ठाउँमा प्राधिकरणमार्फत राखेर निजी गुठीलाई सरकारको नियन्त्रणमा ल्याउन खोजिएको सिंहले आरोप लगाउनुभयो ।

त्यस्तै राष्ट्रिय जनता पार्टीका सांसद अनिल कुमार झाले गुठी सम्बन्धी विधेयक सरोकारवालासँग छलफल नगरि आएको भन्दै तत्काल फिर्ता लिन माग गर्नुभयो । आफ्नो सम्पत्तिको रक्षा गर्न पाउने अधिकार सबैलाई भएको झाको भनाई थियो ।

4
Shares