सिक्किममा गोलेको चमत्कार, उल्टाए चाम्लिङको २५ वर्षे लामो सत्ता

भारतको इतिहासमा सबैभन्दा लामो समय राज गरेका सिक्किमका मूख्यमन्त्री पवन चाम्लिङको सत्ता कुनै समय उनकै मन्त्री परिषद्मा काम गरेका प्रेम सिंह तामाङ गोलेले उल्टाइदिएका छन्। बिहिबार सार्वजनिक भएको मत परिणाममा गोले नेतृत्वको सिक्किम क्रान्तिकारी मोर्चाले ३२ सिट मध्ये १७ सिटमा विजय हासिल गरेपछि चाम्लिङको सत्ता उल्टिएको हो।

चाम्लिङ नेतृत्वको सिक्किम डेमोक्रेटिक फ्रन्ट १५ सिटमा खुम्चिएको छ। यस नतिजाले सिक्किममा चाम्लिङको २५ वर्ष लामो सत्ताको अन्त्य भएको छ।

सन् २०१४ मा भएको अघिल्लो विधानसभा चुनावमा गोलेको पार्टी १० सिट जितेको थियो भने चाम्लिङको पार्टीले २२ सिट जितेको थियो।

यस चुनावमा गोलेले भ्रष्टाचारलाई अन्त्य गर्ने, विकास कामलाई अगाडी बढाउने र युवालाई रोजगारी दिने विषयलाई चुनाबको प्रमुख मुद्दा बनाएका थिए।

परिवर्तन र ‘२५ वर्षे राजाको शासनको अन्त्य’ उनको प्रमूख चुनावी नारा थियो। ‘म तपाईंहरूसँग २५ वर्ष मागिरहेको छैन। मलाई ५ वर्ष दिनोस्, मेरा सबै वाचा पूरा गर्छु’, उनी भन्ने गर्थे।

बहुमत पाएसँगै गोले नेतृत्वको मोर्चाले अब सिक्किमको नयाँ सरकार बनाउनेछ। त्यसैगरी लोकसभाको सिटमा पनि गोलेको पार्टी नै विजयी बएको छ। भारतको लोकसभामा सिक्किम राज्यबाट १ सिट को प्रतिनिधित्व हुने गर्छ।

सन् १९९४ देखि चाम्लिङ सिक्किमका मूख्यमन्त्री रहँदै आएका थिए। चाम्लिङ अघि भारतमा सबैभन्दा लामो समय सत्तामा रहने रेकर्ड पश्चिम बंगालका मूख्य मन्त्री ज्योति बसुको नाममा थियो। उनी सन् १९७७ देखि सन् २००० सम्म बंगालको मूख्यमन्त्री थिए।

३२ वर्षको उमेरमा राजनीतिक जीवन सुरू गरेका चाम्लिङ सन् १९८९ देखि ९२ सम्म मूख्यमन्त्री नर बहादुर भण्डारीको मन्त्रीमण्डलमा मन्त्री थिए।

त्यसपछि सन् १९९३ मा भण्डारीको साथ छोडेर चाम्लिङले सिक्किम डेमोक्रेटिक फ्रन्ट खोले। त्यसको अर्को वर्ष सन् १९९४ मा भएको चुनावमा भण्डारीको पार्टीलाई हराएर उनी मूख्यमन्त्रीको कुर्सीमा पुगे।

अहिले सो इतिहास दोहोरिएको छ।

चाम्लिङकै पूर्वमन्त्री गोलेले अहिले उनको सत्ता अन्त्य गरिदिए।

चाम्लिङको सत्ता उल्टइदिने गोलेको राजनीतिक यात्रा चाम्लिङसँगै सुरू भएको थियो।

चाम्लिङले सन् १९९३ मा सिक्किम डेमोक्रेटिक फ्रन्ट खोलेसँगै गोले शिक्षण पेसा छोडेर राजनीतिमा आएका हुन्।

त्यसपछि सन् १९९४ मा भएको निर्वाचनबाट गोले पहिलो पटक सांसद चुनिए।

सांसद चुनिएसँगै उनी चाम्लिङ् नेतृत्वमा बनेको सरकारमा गोले मन्त्री बने। उनी सन् १९९४ देखी सन् २००९ सम्म लगातार ३ पटक मन्त्री भए।

त्यसक्रममा उनले पशुपालन, उद्योग र भवन तथा आवास मन्त्रीको रूपमा काम गरे।

सन् २०१३ मा चाम्लिङको पार्टी छोडेर सिक्किम क्रान्तिकारी परिषद् गठन गरे।

त्यसपछि २०१६ मा गोलेलाई सरकारमा रहँदा भ्रष्टाचार गरेको भन्दै मुद्दा चलाइयो। सो मुद्दामा उनी झण्डै एक वर्ष जेल बसे। यसपालीको निर्वाचनमा पार्टीले गोलेलाई मूख्यमन्त्रीका रूपमा घोषणा गर्‍यो। पार्टीले घोषणा गरेपनि उनले विधानसभा चुनाव भने लडेनन्।

उनको निर्वाचन क्षेत्रबाट गोलेका छोरा आदित्य गोलेले लडे। उनी सो सिट उनका छोराले जितेका छन्।

पार्टीले गोलेलाई मूख्यमन्त्रीका रूपमा अगाडी सारेपछि चाम्लिङले जनताहरूलाई ढाँटेको भन्दै विरोध गरेका थिए।

‘भ्रष्टाचार मुद्दामा दोषी ठहरिएका गोलेले कुनै पनि चुनाव लड्न पाउँदैनन, उनी कसरी मूख्यमन्त्री बन्छन्?’, निर्वाचनमा आफ्नो उम्मेदवारी दर्ता गरेसँगै चाम्लिङले भनेका थिए।

गोले मूख्यमन्त्री बन्छन वा बन्दैनन् भन्नेमा अझै दुविधा देखिएको छ। भारतको संविधानमा विधानसभा सदस्य नभएपनि मूख्यमन्त्री बन्न पाउने प्रावधान छ तर ६ महिनाभित्रमा विधानसभामा निर्वाचित नभए मूख्यमन्त्री पद जान्छ।

गोलेका समर्थकले पार्टीले जितेको कुनै एउटा विधानसभा सिट खाली गराएर निर्वाचन लड्ने बताएका छन्।

तर निर्वाचन आयोगले उनलाई निर्वाचन लड्न दिन्छ कि दिदैन टुङ्गो छैन्।