दलाल मार्फत भारत लैजान लागेका ४ जना बालकको उद्दार

दलाल मार्फत भारतको सिमला लैजान थालिएका ४ जना बालकहरुको उद्दार गरिएको छ । बुधबार नेपाल भारत सिमा नाका रुपैडिहा हुदै सिमला लैजान थालिएका बालकहरुलाई ज्ञान नेपालले उद्दार गरेको हो ।

उद्दार गरिएका बालकहरु जाजरकोट जुनिचादे गाउँपालिका वडा नम्बर ५ गर्खाकोट घर भएका अन्दाजी १४ देखी १५ बर्ष उमेर सम्मका रहेका छन । जसमा एकै ठाउँका जयलाल बस्नेत, यज्ञ बस्नेत, कृष्ण बस्नेत र राम परियार छन ।

महिला तथा बालबालिका बेचबिखन विरुद्ध काम गर्दै आएको ज्ञान नेपालले संकास्पद रुपमा जान थालेको जानकारी पाएपछि सोधपुछ गरेको थियो ।

दलालले भारतको सिमलामा राम्रो काम लगाई दिन्छु भनी लग्न थालेको बालकहरुले बताएपछि घटनाबारे खुल्न आएको हो । उद्दार गरिएका बालकहरुलाई सिविन नेपालको जिम्मा लगाईएको छ ।

उनीहरु सबै न्युन आर्थिक अवस्था भएका घरपरिवारका सदस्य रहेको पाईएको छ । दलाल भने पहिला नै सिमा नाका काटी सकेकाले थप बुझ्न नसकिएको ज्ञान नेपालका सहजकर्ता सपना विष्टले जानकारी दिनुभयो ।

विसंः २०६७ साल देखी सामाजिक कार्यमा सक्रिय रहेको ज्ञान नेपालले हाल सम्म ८ हजार भन्दा बढी बालबालिका तथा महिलाहरुको सिमा नाकाबाट उद्दार गरिसकेको छ ।

यसले सिमा नाकामा बुथ स्थापना गरी मानव ओसार पसार तथा बेचबिखन जस्ता जघन्य अपराधहरु नियन्त्रण गर्न सरकारी निकाय सँगको सहकार्यमा निगरानी गर्ने काम गरिरहेको छ ।