भारतमा सत्रौं लोकसभा निर्वाचनको घोषणा

११ अप्रिलबाट मतदान

भारतमा सत्रौं लोकसभाको निर्वाचन घोषणा भएको छ। प्रमुख निर्वाचन आयुक्त सुनील अरोडाले आइतवार साँझ यसको घोषणा गरेका छन्।

लोकसभाको चुनाव ७ चरणमा सम्पन्न गराइनेछ। पहिलो चरणको चुनाव ११ अप्रिल, दोस्रो चरणको १८ अप्रिल, तेस्रो चरणको २३ अप्रिल, चौथो चरणको २९ अप्रिल, पाँचौ चरणको ६ मे, छैटौं चरणको चुनाव १२ मे र सातौं चरणको चुनाव १९ मेमा हुनेछ। २३ मेदेखि मतगणना शुरु हुने आयुक्तले बताएका छन्।

उम्मेदवारको पहिलो पहिलो चरणको नामांकन १८ मार्चमा हुनेछ भने अन्तिम नामांकन २५ मार्चमा हुनेछ। उनले निर्वाचन आचारसंहिता उल्लंघन गर्नेलाई कडा कारबाही गरिने स्पष्ट पारेका छन्। आयोगले ९९.३६ प्रतिशत मतदातासँग फोटोसहितको मतदाता परिचयपत्र रहेको जनाएको छ। वर्तमान लोकसभाको कार्यकाल ३ जूनमा समाप्त हुँदै छ। लोकसभाका ५४३ सिटमा चुनाव हुनेछ। निर्वाचन आयोगले राति १० बजेदेखि बिहान ६ बजेसम्म लाउडस्पिकर प्रयोग गर्न नपाइने जनाएको छ।

पहिलो चरणमा २० राज्यका ९१ सिटमा, दोस्रो चरणमा १३ राज्यका ९७ सिटमा, तेस्रो चरणमा १४ राज्यका ११५ सिटमा, चौथो चरणमा ९ राज्यका ७१ सिटमा, पाँचौं चरणमा ७ राज्यका ५१ सिटमा, छैटौं चरणमा ७ राज्यका ५९ सिटमा र सातौं चरणमा ८ राज्यका ५९ सिटमा चुनाव हुनेछ।