नेपाल दोस्रो एकदिवसीयमा विजयी,रोमाञ्चक खेलमा नेदरल्यान्ड्स १ रनले पराजित

लियो बदला

दोस्रो ओडीआईमा नेपालले नेदरल्यान्ड्सलाई १ रनले हराएको छ । यसअघिको पहिलो एकदिवसीय खेलमा नेदरल्यान्ड्ससँग पराजित बनेको नेपालले आज बदला लिन सफल भएको छ ।  २ सय १७ रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्स अन्तिम बलमा ११५ रन बनाउँदै अलआउट हुन पुग्यो ।

नेदरल्याड्सविरुद्ध १ रनको रोमान्चक जीत हात पार्ने क्रममा सन्दीप लामिछानेले सर्वाधिक ३ विकेट लिए । यस्तै ललित भण्डारीले २ विकेट लिँदा सोमपाल कामी कप्तान पारस खड्का, बसन्त रेग्मी र दिपेन्द्र सिंह ऐरीले समान एक–एक विकेट लिए ।  यस्तै नेदरल्याण्ड्सका बारेसीले व्यक्तिगत ७१ रन जोडेपनि हार टार्न सकेनन् ।

यसअघि टस जितेर पहिले ब्याटिग गरेको नेपालले ४८ ओभर ५ बलमा अलआउट हुँदै २ सय १६ रन जोडेको थियो । कप्तान पारस खड्का र सोमपाल कामीको अर्धशतकीय पारीको मद्दतमा नेपालले मध्यम स्कोर खडा गरेको हो । अझै अनौठो संयोग त के भयो भने पारसजस्तै सोमपालले पनि अर्थशतक पूरा गर्न छक्का प्रहार गरेको बल हराएपछि अर्को बल ल्याएर खेल सुचारु गरिएको थियो ।

पहिलो इनिङ भर ३ पटक बल हरायो । सोमपालभन्दा अघि पारसले २ पटक छक्का प्रहार गरेको बल हराएको थियो। ५ चौका र ३ छक्काको मद्दतमा सोमपालले ६१ रन जोड्दा पारस ५१ रन बनाएर आउट भए । उनले ६ चौका र २ छक्काको मद्दतमा अर्धशतक पूरा गरेका थिए । यस्तै सुवास खकुरेल र दीपेन्द्र ऐरी समान १९, आरिफ शेख १६, ज्ञानेन्द्र मल्ल १३, रोहित पौडेल ६, अनिल साह ४ र वसन्त रेग्मी १ रन बनाएर पेबिलियन फर्किए ।

सोमपालको शानदार पारीको मद्दतमा नेपालले ४४ ओभर ३ बलमा २ सय रनको आँकडा पार गरेको थियो । अन्तिम विकेटका लागि १२ रनको साझेदारी गर्ने क्रममा सन्दीप लामिछानेले ८ र ललितसिंह भण्डारीले ४ रनको योगदान गरे । यसअघि भएको पहिलो ओडीआईमा नेपाल ५५ रनले पराजित भएको थियो । आजको खेल नेपालले जितेसँगै सिरिज बराबरीमा टुंगिएको छ ।