२३ नेपाली नाइजेरियामा बन्धक

दलालको हातमा २५ लाख रुपैयाँ !

अलग बाटो र उपायबाट अमेरिका लैजाने भन्दै २२ महिनाअघि थाइल्यान्ड हुँदै नाइजेरिया पुर्‍याइएका २३ नेपालीलाई मानव तस्करले लेगोसमा बन्धकसरह बनाएर राखेका छन् ।

काठमाडौं, जेठ २६ । अलग बाटो र उपायबाट अमेरिका लैजाने भन्दै २२ महिनाअघि थाइल्यान्ड हुँदै नाइजेरिया पुर्‍याइएका २३ नेपालीलाई मानव तस्करले लेगोसमा बन्धकसरह बनाएर राखेका छन् ।

बिचल्ली पारिएकामध्ये बाग्लुङका बिविन्द्रप्रसाद श्रेष्ठका दाजु रवीन्द्रले दिएको जानकारीअनुसार काठमाडौंदेखि नाइजेरियासम्म सञ्जाल बनाएका मानव तस्करको समूहले उनीहरूलाई लेगोसको एउटा होटलमा बाहिरसमेत निस्कन नदिई राखेका छन् ।

रवीन्द्रका अनुसार उनीहरू सबैको पासपोर्ट जफत गरी गैरकानुनी हैसियतमा राखिएको छ । ‘३० मध्ये ६ जना दलालको चंगुलबाट उम्केर काठमाडौं आएका रहेछन्, उनीहरूले काठमाडौंमा प्रहरी र परराष्ट्रमा दिएको निवेदनपछि एक जना स्थानीय एजेन्टलाई शुक्रबार पक्राउ गरिएको थाहा पाएको छु,’ रवीन्द्रले भने ।

विविन्द्रले अमेरिका जान २५ लाख रुपैयाँ दलाललाई बुझाएका थिए । विदेश उडेका सबैलाई काठमाडौंबाट दिल्ली हुँदै बैंकक र त्यहाँबाट लेगोस, मेक्सिको हुँदै अमेरिका लैजाने भनिएको थियो । -कान्तिपुर दैनिकबाट