शैक्षिक सुधारको गन्तव्य स्थल नलगाडको कालिका प्रा.वि.

नगरपालिकाकै नमुना विद्यालय

नलगाड नगरपालिका–२ गरीमा रहेको कालिका प्राथमिक विद्यालय शैक्षिक सुधारको गन्तव्य स्थल बन्न पुगेको छ । शैक्षिक गुणस्तर अभिवृद्धी गर्न जिल्लाका सबै नगर तथा गाउँपालिकामा अभियान चलिरहको वेला गरीमा रहेको कालिका प्रावि शैक्षिक सुधारको गन्तव्य स्थल बन्न पुगेको हो ।

नलगाड नगरपालिकाको नगर शिक्षा शाखाले शैक्षिक सत्र २०७४ को लागि लिएको बार्षिक परिक्षामा कालिका प्राविले प्रथम स्थान हासिल गरेको छ । उक्त विद्यालयका प्रअ ठाकुरनाथ शर्माले शैक्षिक सुधारमा ठुलो योगदान गरे बाफत २०६७ सालको शिक्षा दिवसका अबसरमा राष्ट्रिय स्तरको सम्मान प्राप्त गरिसकेका शिक्षक हुन् । उनलाई राष्ट्रिय स्तरको सम्मानमा मेडल र सम्मान पत्रद्धारा सम्मान गरिएको थियो । त्यसैगरि उक्त विद्यालयकी शिक्षिका यशोदा देवी शर्माले पनि २०७३ सालको शिक्षा दिवसको अबसरमा जिल्ला स्तरीय सम्मान प्राप्त गरिसकेकी शिक्षिका हुन् । शैक्षिक सुधारमा योगदान गरेको उच्च मुल्याङ्कण गर्दै जिल्ला शिक्षा कार्यालय, जाजरकोटले यशोदा देवी शर्मालाई २०७३ सालमा सम्मान पत्रद्धारा सम्मान गरेको थियो । २०४९ सालमा स्थापना भएको कालिका प्राविमा बाल शिक्षा देखि कक्षा १ हुदै कक्षा ५ सम्मको पढाई हुने गरेको छ ।

शिक्षकले दैनिक ८ घण्टी पढाउनु पर्छ

कक्षा १ देखि नै अंग्रेजी बिषय पढाई हुने उक्त बिद्यालयमा दुई वटा मात्र शिक्षक दरबन्दी रहेको छ । दरबन्दीमा रहेका शिक्षक ठाकुरनाथ शर्मा त्यस विद्यालयका प्रअ हुन भने, यशोदा देवी शर्मा दरबन्दीकी शिक्षिका हुन् । विद्यालयको निजी श्रोतवाट तलव खादै आएका रामलाल जैसी उक्त विद्यालयमा अध्यापन गराईरहेका अस्थायी शिक्षक हुन् । बाल शिक्षा सहयोगी कार्यकर्ताका रुपमा रहेकी रचना जैसीले पनि उक्त विद्यालयका अन्य कक्षाहरुमा पनि पढाउदै आएकि छन् ।

बाल शिक्षामा अध्ययनरत २५ जना बालबालिकाहरुलाई बिहान १० बजेदेखि दिउसो २ बजेसम्म आफ्नो बच्चा काँखमा च्यापेर बालमैत्री तरिकाले पढाई रहेकी रचनाले दिउसो २ बजे पछाडी अन्य कक्षाहरुमा पढाउदै आएकि छन् । कक्षा १ देखि कक्षा ५ सम्ममा दैनिक ३० घण्टी पढाई हुने उक्त विद्यालयमा अध्यापन गराउने शिक्षक, शिक्षिका जम्मा ३ जना मात्र रहेका छन् । प्रत्येक शिक्षक, शिक्षिकाले दैनिक ८ घण्टी पढाउदा पनि ६ घण्टी बाँकी रहने भएको हुदा बाल शिक्षा सहयोगी कार्यकर्ताले पनि अन्य कक्षाहरुमा पढाउनु पर्ने अबस्था आएको विद्यालय प्रअ ठाकुरनाथ शर्माको भनाई रहेको छ ।

भरखरै सुरु भएको नयाँ शैक्षिक सत्रमा त्यस विद्यालयमा कक्षा १ देखि कक्षा ५ सम्म अध्ययन गर्ने विद्यार्थीहरुमा ६० जना छात्र र ७१ जना छात्रा गरि जम्मा संख्या १ सय ३१ जना विद्यार्थी संख्या रहेको प्रअ शर्माले जानकारी दिए । प्रअ शर्माले दिएको जानकारी अनुसार यस बर्ष त्यस विद्यालयमा अध्ययन गर्ने जम्मा विद्यार्थीहरुमा दलित ४२, जनजाती १६ र अन्य ७३ जना रहेका छन् ।

शिक्षक पढाउन विद्यार्थीले गर्छन माग

कालिका प्राथमिक विद्यालयका शिक्षक, विद्यार्थीहरु बिचको सम्बन्धनै बग्लै रुपमा देखा पर्दै आएको छ । त्यस विद्यालयमा अध्ययनरत बाबालिकाहरुले शिक्षक, शिक्षिकावाट अपार माया ममता पाएपछि आफ्नो मातृ तथा पृती स्नेहीतालाई पनि बिर्सीने गरेका छन् ।

कालिका प्राथमिक विद्यालय गरीको कक्षा ३ मा अध्ययनरत छात्रा चाँदनी बिष्ट नलगाड नगरपालिका–१३ सिउनकी बालिका हुन् । पढाईका लागि सिउनवाट कालिका प्राविमा पुगेकी चाँदनी बिष्टले आफ्ना आमा, बुवावाट पाउने माया भन्दा बढी माया विद्यालयका शिक्षक शिक्षिकावाट पाउन थालेपछि विद्यालयमै रमाउन थालेकि छन् । बहुँकक्षा शिक्षण विधीमा आधारित समय तालिका अनुसार शिक्षक, शिक्षिका आफ्नो कक्षा कोठामा पुग्न ढिलाई गर्न वित्तिकै ८ बर्षीय चाँदनी विष्ट शिक्षक, शिक्षिकालाई बोलाउन विद्यालय अफिस कोठामै पुग्ने गरेकि छन् । शिक्षक बोलाउनलाई अफिस कोठामै पुगेकि चाँदनीले शिक्षकको हात समातेरै कक्षा कोठासम्म पुर्याउने गरेकि छन् ।

चाँदनी जस्तै कक्षा २ मा पढ्ने ६ बर्षिय सपना हमाल, कक्षा ३ मा पढ्ने ८ बर्षिय बिपना हमाल, कक्षा २ मा पढ्ने ६ बर्षिय कमल गौतम लगाएतका अधिकांस विद्यार्थीहरुले हामीलाई छिटो पढाउनु पर्यो भनेर अफिसमै पुग्ने गरेको शिक्षिका यशोदा देवी शर्माको भनाई रहेको छ । शिक्षक दरबन्दी कमीका कारण पढाई बाहेक विद्यालयका अन्य अतिरिक्त कामकाबारेमा सोच्न समेत हामीलाई फुर्सद हुदैन यशोदाले भनिन्–‘हामीलाई राम्रोसंग खाना खाने पनि समय हुदैन, कयौं पटक खाना लागेको खाना पनि छोडेर स्कुल पुगेका छौं, एउटै शिक्षकले धेरै घण्टी पढाउनु पर्ने अबस्था भएको हुदा कक्षा कोठामा प्रवेश गर्नु अगाडी हामीले आफुलाई तयारी अबस्थामा राख्नेसम्मको फुर्सद हुदैन ।’

नगरपालिकाकै नमुना विद्यालय

शैक्षिक सुधारका लागि नलगाड नगरपालिकाले कालिका प्राथमिक विद्यालयलाई नगरकै नमुना विद्यालयका रुपमा विकास गर्न थालेको छ । कक्षा कोठामा बहँु शिक्षण विधी लागु गरिएको छ । हरेक कक्षाकोठामा खेलकुद, मनोरन्जन तथा विभिन्न शैक्षिक सामाग्रीको ब्यबस्था गर्नुको साथै सफा र शुद्ध खानेपानी पिउने बानीको बिकास गराउन प्रत्येक कक्षा कोठामा फिल्टरको ब्यबस्था गरिएको छ ।

भौतिक पुर्वाधार बिकास भन्दा शैक्षिक गुणस्तर अभिवृद्धीमा जोड दिदै आएका त्यस विद्यालयका शिक्षकलाई विद्यालय पूर्वाधार विकासका क्षेत्रमा जिल्ला शिक्षा कायालयवाट करोडौंको बजेट बिनियोजन हुदा पनि हालसम्म त्यस विद्यालयमा करोडौंको बजेटले छुन सकेको थिएन् । नलगाड नगरपालिकाको नगरसभाले यसबर्षका लागि एकमुष्ट विनियोजन गरेको २ लाख ५९ हजार २ सय रुपैयावाट पैरो नियन्त्रण गर्नका लागि तारजाली भर्नुको साथै भवन प्लष्टर गरेर मर्मत गरिएको छ । ७५ हजार नलगाड नगरपालिका र बाँकी रकम बैकल्पिक उर्जाको अनुदानमा हजार वार्ड क्षमताको सोलार सेट जडान गरिएको छ ।

आगामी बर्षमा उक्त विद्यालयमा कम्प्युट शिक्षा सञ्चालन गर्नुको साथै बालमैत्री खेलमैदान शौचालयको ब्यबस्था नलगाड नगरपालिकाले गरिदिने योजना रहेको नगर प्रमुख टेकबहादुर रावलले वताए ।

२०४६ सालमा नियुक्ति लिएका शिक्षक ठाकुरनाथ शर्माले २ महिना निर्मल ज्योति आधारभुत विद्यालय थाप्लामा अध्यापन गरेका थिए भने, १० बर्ष जनक आधारभुत विद्यालय नलगाड नगरपालिका–२ मा अध्यापन गरेका थिए । २०५६ सालमा कालिका प्राथमिक विद्यालयमा सरुवा भएका शिक्षक ठाकुरनाथ शर्मा प्रधानाध्यापकको भुमिकामा रहेर हालसम्म उक्त विद्यालय सञ्चालन गर्दै आएका छन् । २०५१ साल मंसिर १६ गते शिक्षिकाको नियुक्ति लिएकी यशोदा देवी शर्माले भने, नियुक्ति लिए देखि हालसम्म त्यसै विद्यालयमा अध्यापन गर्दै आएकी छन् ।