पूर्वसांसदको गोली हानी हत्या

एजेन्सी, युक्रेन, रसियाली पूर्वसांसद डेनिस भोरोनेन्कोभको बिहीबार कीभमा गोली हानी हत्या गरिएको युक्रेनी प्रहरीले जनाएको छ ।  कीभका प्रहरी प्रमुख एन्ड्रिय क्रिस्चेन्कोले एक युक्रेनी टेलिभिजनसँगको कुराकानीमा पूर्व रसियाली सांसदको मृत्यु भएको पुष्टि गर्नुभएको छ । मृतक रसियाली पूर्वसांसद रहेको प्रहरी अनुसन्धानबाट पुष्टि भएको छ भने घटनाबारे थप अनुसन्धान जारी छ, उहाँले बताउनुभयो । युक्रेनी केही सञ्चारमाध्यमले पूर्वसांसदको हत्याका पछाडि रसियाको नै हात रहेको आशङ्का गरिएका समाचार प्रसारण गरे पनि यसको मस्कोद्वारा खण्डन गरिएको छ ।

मस्को प्रशासनले पूर्वसांसदको हत्यामा रसियाली हात रहेको भन्ने दाबीप्रति कुनै सत्यता नरहेको बताउँदै यसलाई बेतुकको दाबी भनी बिहीबार खण्डन गरेको छ । युक्रेनले हत्यालाई राज्यद्वारा गरिएको आतङ्कवाद भनी प्रतिक्रिया दिएको छ । रसियाली राज्य सञ्चालित न्युज एजेन्सीले क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभलाई उद्धृत गर्दै आफ्ना पूर्वसांसदको हत्यामा रसियाली हात रहेको भन्दै आएका तथाकथित आरोपप्रति कुनै सत्यता नभएको बताउनुभएको छ ।