अफगान–पाक सीमामा फेरि तनाव, दुवै पक्षबाट गोलाबारीको दाबी
इस्लामावाद । अफगानिस्तान र पाकिस्तानबीचको सीमामा फेरि तनाव बढेको छ । पाकिस्तानी स्थानीय अधिकारीहरूले अफगानिस्तानका सुरक्षाकर्मीले रातभर पाकिस्तानी सीमा चौकीमा मोर्टार तथा अन्य भारी हतियारबाट गोलाबारी गरेको दाबी गरेका छन् । अफगान पक्षले भने आफ्ना सुरक्षाकर्मीले कुनै आक्रमण नगरेको जनाएको छ ।

पाकिस्तानी अधिकारीहरूका अनुसार सीमापारबाट आतङ्कवादी समूहको घुसपैठ प्रयास विफल पारेपछि अफगान तालिबानका सुरक्षाकर्मीले पाकिस्तानी सीमा चौकीलाई लक्षित गरी गोलाबारी गरेका थिए । जवाफी कारबाहीमा पाकिस्तानी सेनाले अफगानिस्तानका सीमा चौकी, मोर्टार प्रहार गर्ने स्थान तथा अन्य रक्षात्मक संरचनामा तोपखाना प्रयोग गरी आक्रमण गरेको दाबी गरिएको छ ।
पक्टिया र नङ्गरहार प्रान्ततर्फबाट आतङ्कवादीहरूले पाकिस्तान प्रवेश गर्ने प्रयास गरेको पाकिस्तानी अधिकारीहरूको दाबी छ । पाकिस्तानले पाकिस्तानी तालिबान (टीटीपी) का लडाकुलाई ‘फितना–उल–खवारीज’ नामले सम्बोधन गर्दै आएको छ ।
पाकिस्तानले अफगान तालिबान सरकारमाथि आफ्नो भूमिबाट आतङ्कवादी गतिविधि सञ्चालन गर्न दिएको आरोप लगाउँदै आएको छ भने अफगान पक्षले उक्त आरोप अस्वीकार गर्दै आएको छ । पछिल्लो घटनामा केही अफगान सुरक्षाकर्मी हताहत भएको तथा केहीले स्थान छाडेको पाकिस्तानी अधिकारीहरूले दाबी गरेका छन् । यी दाबीहरूको स्वतन्त्र पुष्टि भने हुन सकेको छैन ।
यसअघि पाकिस्तानले पूर्वी अफगानिस्तानमा
आतङ्कवादीका आश्रयस्थललाई लक्षित गरी हवाई आक्रमण गरेको थियो । उक्त घटनामा पाकिस्तानले २८ जना आतङ्कवादी मारिएको दाबी गरेको थियो भने अफगान अधिकारीहरूले कम्तीमा तीन सर्वसाधारणको मृत्यु र चार जना घाइते भएको बताएका थिए ।
पछिल्लो तनावले पाकिस्तान र अफगानिस्तानबीच स्थायी शान्तिका लागि चीन, टर्की, कतार र साउदी अरेबियाले गरिरहेको मध्यस्थता प्रयासमा समेत असर पर्न सक्ने चिन्ता बढेको छ । पछिल्ला सीमापार हिंसात्मक घटनालाई लिएर दुवै पक्षबीच आरोप–प्रत्यारोप जारी छ ।

