वैचारिक संघर्ष र क्रान्तिको प्रश्न

विषयप्रवेश : झन्डै पाँच दशकदेखि त्याग, बलिदान र संघर्षको इतिहास बोकेको नेपालको कम्युनिस्ट आन्दोलन लामो समयसम्म टुटफुट, विभाजन र वैचारिक संघर्ष तथा अनेकौँ उतारचढाव, निराशा र विखण्डनका बीचबाट वर्गीय विश्लेषण गर्दै नेपाली समाजमा सदियौँदेखि जरा गाडेर बसेको सामन्तवादी राज्यव्यवस्थाले सिर्जना गरेको वर्गीय, जातीय, क्षेत्रीय तथा लैङ्गिक उत्पीडनविरुद्ध २०५२ साल फागुन १ गते महान् जनयुद्धको उद्घोष भयो।

दस वर्षसम्म सामन्ती राज्यसत्ताको पूर्ण अन्त्य गरी शोषण, विभेद, उत्पीडनमुक्त नयाँ तथा न्यायपूर्ण समाजवादी राज्यसत्ता निर्माण गर्ने महान् ध्येयका साथ लाखौँ नेपाली युवायुवतीहरू वर्गीय क्रान्तिको यात्रामा लामबद्ध भयौँ। दर्जनौँ युद्धमोर्चामा आफ्नो छाती थापेर लडेका थियौँ। कुनै व्यक्तिगत पद, प्रतिष्ठा वा स्वार्थका लागि थिएन, त्यो त उत्पीडित वर्गको पूर्ण मुक्ति, न्यायपूर्ण समाजको निर्माण, जनताको वास्तविक सत्ता, वैज्ञानिक समाजवाद स्थापनाको महान् आकांक्षाबाट प्रेरित थियो। हजारौँ योद्धाहरूले आफ्नो जीवन उत्सर्ग गरे, असङ्ख्य परिवारले पीडा र वियोग सहे तर क्रान्तिको यात्राबाट पछि हटेनन्, बरु नेतृत्वको दिमागमा क्रान्तिको अन्त्य हुँदै गएको रहेछ। त्यसकारण दस वर्षसम्म लडेको महान् जनयुद्ध अन्ततः २०६३ साल मंसिर ५ गते विस्तृत शान्ति सम्झौतामार्फत राजनीतिक रूपान्तरणको नयाँ चरणमा प्रवेश गर्‍यो। त्यसपछि नेपालमा निरङ्कुश राजतन्त्रको अन्त्य हुँदै लोकतान्त्रिक गणतन्त्र स्थापनासँगै नेपाली राजनीतिको मूल प्रवाहमा वर्ग, जाति, क्षेत्र, लिङ्ग तथा पहिचानका सवाललाई स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्यो। जनताले लामो संघर्षबाट प्राप्त केही राजनीतिक अधिकार र पहिचान संस्थागत गर्ने अवसर पाए तापनि जनयुद्धले बोकेको मूल उद्देश्य, उत्पीडित वर्गको पूर्ण मुक्ति, आर्थिक, सामाजिक, सांस्कृतिक शोषणको अन्त्य र वैज्ञानिक समाजवादी राज्यव्यवस्थाको सपना अधुरै रह्यो।

परन्तु अधुरो क्रान्तिलाई पूरा गर्ने उद्घोषका साथ २०६९ साल असार ५ गते एकीकृत नेकपा (माओवादी) बाट क. किरणको नेतृत्वमा पार्टीको पुनर्गठन गर्दै प्रचण्डमा देखापरेको नवसंशोधनवादी प्रवृत्तिका विरुद्ध विद्रोह भयो। तथापि क्रान्ति अनिवार्य छ, अधुरो क्रान्ति पूरा गर्नुपर्छ भन्ने राजनीतिक वैचारिक दृष्टिकोणलाई अगाडि सार्दै देशभरिका पार्टी संगठनलाई व्यवस्थित र नवसंशोधनवादका विरुद्ध वैचारिक संघर्षलाई अभियानमार्फत आमजनसमुदायको बीचबाट क्रान्तिको आवश्यकता र औचित्यबारे व्यापक बहस सिर्जना गरे तापनि पार्टीभित्र भने क्रमशः दुईलाइन संघर्षले तीव्रता पाएको थियो। तसर्थ क्रान्तिको अपरिहार्यता र परिवर्तनका सम्भावनाबारे आशा र सपनाहरू बाँडेतापनि व्यवहारले विस्तारै विस्तारै दक्षिणपन्थी संसदवादी रुझान हाबी थियो।

परन्तु यी रुझानहरू दोस्रो संविधान सभाको चुनावमा प्रस्ट भयो। पार्टी चुनावमा जाने कि चुनावलाई क्रान्तिको आधारको रूपमा सशक्त बहिष्कारमा जाने भन्ने विषयले पार्टीका नेतृत्व पंक्तिमा दुई धार देखापर्‍यो। तसर्थ क्रान्तिकारी नेता कार्यकर्ताहरू राज्यसत्तासँग प्रत्यक्ष संघर्षको जोखिम मोलेर चुनाव बहिष्कार गर्दै शरीरका अङ्ग गुमाए, त कतिपय कमरेडहरूका शरीरमा बमका छर्राहरू देख्दै थियौँ। तर नेतृत्वको अर्को पंक्ति भने राजधानीको कार्यालयमा बसेर शान्तिपूर्ण बहिष्कार हो भन्दै वक्तव्यबाजीमा मस्त थिए। यही प्रवृत्तिका कारणले पार्टीभित्र दक्षिणपन्थी, संशोधनवादी र अकर्मण्यतावादका विरुद्ध क्रान्तिकारीहरूले पेचिलो वैचारिक संघर्ष गर्दै क. विप्लवले पार्टीमा फरक दस्तावेज प्रस्तुत गर्दै तत्कालीन अवस्थामा क्रान्तिकारी धारको नेतृत्व गर्नुभयो।

परन्तु क्रान्तिकारी नेता कार्यकर्ताहरूले मिति २०७१ मंसिर ८ गते किरणबाट पार्टीलाई अलग गर्‍यौँ। क्रान्तिकारी आन्दोलनलाई राजनीतिक, वैचारिक र सांगठनिक रूपमा जवाफ दिनु हाम्रो ऐतिहासिक जिम्मेवारी थियो। तसर्थ क्रान्ति कसरी सम्पन्न गर्ने? भन्ने मूल प्रश्नको ठोस उत्तर खोज्नु हाम्रो अगाडि चुनौती थियो। यही चुनौतीभित्र सम्भावनाका नयाँ ढोकाहरू पनि खुलिरहेका थिए। यही उद्देश्यका साथ पार्टीको आठौँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा दशौँ हजार जनसमुदायको विशाल उपस्थितिबीच उद्घाटन गर्‍यौँ। रोल्पाको ऐतिहासिक गाउँ थवाङमा बन्दसत्र सुरु भयो। महाधिवेशनमा गहन वैचारिक संघर्षपछि हामीले ‘एकीकृत जनक्रान्तिको कार्यदिशा’ पारित गर्‍यौँ। कार्यदिशामाथि पार्टीभित्र मतभेदहरू पनि प्रकट भए। केही नेता कार्यकर्ताले यसलाई दोधारे कार्यदिशाका रूपमा व्याख्या गरे भने बहुमत नेता कार्यकर्ताले यसलाई नेपाली समाजको वस्तुगत परिस्थिति र क्रान्तिको आवश्यकतासँग मेल खाने सही कार्यदिशाका रूपमा स्वीकार गर्दै उत्साहपूर्वक पारित गर्‍यौँ। तर पारित गरेता पनि पर्याप्त थिएन। त्यसलाई व्यवहारमा रूपान्तरण गर्नु मुख्य प्रश्न थियो। त्यसैले पार्टीले ठूला-ठूला सांगठनिक अभियानहरू सञ्चालन गर्‍यौँ। ती अभियानहरूमा सक्रियतापूर्वक सहभागी भयौँ। जनताबीच पुग्दै आधार इलाका निर्माणको दिशामा अघि बढ्यौँ। जनयुद्धपछिको पार्टीको सांगठनिक जीवनभित्र यति ठूलो हलचल, परिचालनले नयाँ ऊर्जा पैदा गर्‍यो। साथै संघर्षको क्षेत्रमा पनि भ्रष्टाचार, महँगी, कालोबजारी, सामाजिक विकृति र जनविरोधी गतिविधिका विरुद्ध हामीले निरन्तर संघर्ष गर्दै जनसमुदायको व्यापक समर्थन र सहभागिताका कारण सत्तामा बसेका केपी–प्रचण्डहरू समेत आतङ्कित बन्न पुगे। जनताको बढ्दो प्रतिरोध र पार्टीको प्रभाव विस्तार हुँदै गएपछि सत्ताले आफ्नो असली चरित्र देखायो। जनताको आवाजलाई दबाउन, क्रान्तिकारी आन्दोलनलाई रोक्न दलाल संसदीय पुँजीवादी सत्ताको मन्त्रिपरिषद्को निर्णयबाट नेकपालाई २०७५ साल फागुन २८ गते प्रतिबन्ध लगायो। तसर्थ प्रतिबन्धले तत्कालीन पार्टीको यात्रा रोक्न सकेन, बरु त्यसले संघर्षलाई अझ नयाँ उचाइमा पुर्‍यायो। हरेक प्रतिबन्धले, दमन र अवरोधले क्रान्तिकारी शक्तिको परीक्षा लिन्छ। इतिहासको कठोर परीक्षाबाट गुज्रँदै विचारलाई अझ धारिलो, संगठनलाई अझ सुदृढ, संघर्षलाई अझ व्यापक बनाउनु नै हाम्रो दायित्व हुन्छ। जनताको मुक्ति, वैज्ञानिक समाजवादी राज्यव्यवस्थाको निम्ति त्यही संकल्प, त्यही संघर्ष, त्यही बलिदानको निरन्तरता थियो। तसर्थ २५–३००० सम्म नेता, कार्यकर्ता र जनताहरूले जेल, नेल, यातना, १२ जना योद्धाहरूको बलिदानले क्रान्तिको आधिभेरी ल्याएको थियो।

परन्तु नेतृत्वको मस्तिष्कमा पलाएको सम्झौतावादी सोच र प्रतिक्रान्तिकारी प्रवृत्तिले क्रान्तिकारी पंक्तिमा गम्भीर शंका जन्मायो—कतै यो क्रान्तिको बाटोबाट विचलन र जनताप्रतिको धोका त होइन? मिति २०७७ फागुन २० गतेका दिन प्रतिबन्ध फुकुवा र तीनबुँदे सम्झौतासँगै क्रान्तिकारी आन्दोलनको समाप्ति थियो। तीनबुँदे सम्झौता भएको केही महिना बित्न नपाउँदै पार्टीभित्र वैचारिक संघर्षका स्वरहरू उठ्न थाले। केही कमरेडहरूले केन्द्रीय समितिको एघारौँ बैठकमै स्पष्ट रूपमा प्रश्न उठाउँदै भने, पार्टी अब संशोधनवादतर्फ उन्मुख हुँदैछ, त्यसैले पार्टीभित्र गम्भीर वैचारिक संघर्षको आवश्यकता छ। त्यसपछि सिङ्गो पार्टी संगठनभित्र तीव्र वैचारिक बहस सुरु भयो। त्यो वैचारिक संघर्ष पार्टीको बाह्रौँ केन्द्रीय समितिको बैठकमा चुनावी कार्यदिशा–कार्यनीतिको पक्ष र विपक्षमा गम्भीर वैचारिक संघर्ष चल्यो। केन्द्रीय समितिका (बहुमत) कमरेडहरूले सैद्धान्तिक रूपमा पार्टी संसदीय चुनावमा सहभागी हुन नहुने धारणा अघि सारे। बरु स्वतन्त्र उम्मेदवारहरूलाई आवश्यकता अनुसार सहयोग गर्नु उपयुक्त हुने र पार्टीबाहिरका स्वतन्त्र तथा जनपक्षीय उम्मेदवारहरूलाई अगाडि बढाउँदै जनतासँगको सम्बन्ध विस्तार गर्नुपर्ने विचार प्रस्तुत भयो।

परन्तु यो वैचारिक संघर्षबाट उठाइएका यी गम्भीर प्रश्नहरूलाई बेवास्ता गर्दै पार्टीलाई वैचारिक रूपमा एकताबद्ध क्रान्तिकारी दिशामा सुदृढ बनाउनेतर्फ अघि बढ्नुको सट्टा चुनावमा सहभागी हुने होडबाजी बढ्दै गयो। त्यसपछि पार्टीमा अवसरवाद, संसदीय संशोधनवादी प्रवृत्तिले पार्टीभित्र आफ्नो प्रभाव विस्तार गर्दै गयो। यसले पार्टीको क्रान्तिकारी चरित्रलाई कमजोर बनाउँदै पुनः विचलनकारी प्रवृत्तिका कारणले पार्टी एकढिक्का हुन सकेन। बरु पार्टीभित्रको वैचारिक तथा राजनीतिक अन्तरविरोध झन् गहिरिँदै गयो, पार्टी विभाजनको संघारमा पुग्यो।

परन्तु क्रान्तिकारीहरूले विप्लवद्वारा अवलम्बन गरिएको चुनावपरस्त कार्यदिशा–कार्यनीतिका विरुद्ध निरन्तर वैचारिक संघर्ष गर्दै २०७९ साल वैशाख २६ गते चितवनमा सम्पन्न राष्ट्रिय भेलाबाट क्रान्तिकारी पार्टी नेकपा (बहुमत) को पुनर्गठन गर्‍यौँ। त्यसपछि पार्टी नेतृत्वमा रहेका क. कञ्चनले पार्टीभित्र आफूखुसी ढङ्गले विषयहरू प्रवेश गराउँदै जानुभयो। दर्शनमा स्थापित एकता–संघर्ष–रूपान्तरणको द्वन्द्वात्मक पद्धतिलाई छोडेर संघर्ष–एकता–रूपान्तरणको विषयलाई अनावश्यक रूपमा पार्टीभित्र प्रवेश गराइयो। परिणामतः पार्टीभित्र वैचारिक एकताभन्दा संघर्षको पक्ष अनावश्यक रूपमा प्रधान बन्न गयो। तसर्थ प्रत्यक्ष पार्टी संगठनमा एकता सुदृढीकरणको वातावरण बन्न सकेन। बरु क्रान्तिप्रति इमानदार, त्याग, बलिदानको भावना बोकेर आएका कमरेडहरू एकपछि अर्को गर्दै पार्टी संगठनबाट बाहिरिन थाले। तर पार्टी संगठनभित्र यस्ता समस्या किन उत्पन्न भए, यसको वर्गीय, राजनीतिक, वैचारिक तथा संगठनात्मक समीक्षा नेतृत्वले गम्भीरतापूर्वक समाधान गर्नुको सट्टा संगठनभित्र एकपछि अर्को समस्या थपिँदै गयो। यिनै समस्याहरू विद्यमान हुँदाहुँदै पनि कार्यदिशा, कार्यनीति, संगठन र संघर्षलाई स्पष्ट तथा व्यवस्थित नगरी फेरि क. किरण नेतृत्वको पार्टीसँग एकता गरियो। एकता भएको केही महिनामै व्यक्तिवादी प्रवृत्तिले टाउको उठाउन थाल्यो। ‘म किरणपछिको नेता हुनुपर्छ’ भन्ने पदकेन्द्रित र व्यक्तिकेन्द्रित बहसले पार्टीभित्र स्थान पायो। वर्गकेन्द्रित, संगठनकेन्द्रित र संघर्षकेन्द्रित राजनीतिक वैचारिक बहसबाट हामी क्रमशः विमुख हुँदै गयौँ। त्यसको ठाउँमा व्यक्ति, पद र नेतृत्वको वरिपरि केन्द्रित बहस छलफलमा रमाउने प्रवृत्ति हाबी भयो। यिनै गलत प्रवृत्तिका कारण पार्टी एकता अपेक्षित रूपमा सफल हुन सकेन। अन्ततः एकता भंग भयो, नेकपा (बहुमत) को पुनर्गठन गर्‍यौँ। यसरी पटक-पटकको एकता, विभाजन र पुनर्गठनले पार्टी संगठनलाई गम्भीर क्षति पुर्‍यायो। पार्टीभित्र देखापरेका उपर्युक्त समस्या र गलत प्रवृत्तिहरूको समाधानका लागि पार्टीको नवौँ राष्ट्रिय महाधिवेशन आयोजना गरियो। तर उक्त महाधिवेशनमा क. कञ्चनद्वारा प्रस्तुत दस्तावेज जस्ताको तस्तै पारित हुन सकेन। बरु प्रतिनिधि, पर्यवेक्षक कमरेडहरूले दिएका सुझाव, सल्लाह र आलोचनाका आधारमा दस्तावेजलाई परिमार्जन गरी पारित गरियो। तर महाधिवेशनमा पनि क्रान्तिको दिशा, वर्गसंघर्ष, संगठन निर्माण र जनसंघर्षलाई केन्द्रमा राखेर बहस हुन सकेन। बरु पद–नेतृत्वकेन्द्रित बहसले प्रधानता पायो। जसरी भए पनि आफू निकट व्यक्तिलाई केन्द्रीय समितिमा ल्याउनुपर्छ, आवश्यक परे निर्वाचनकै माध्यमबाट भए पनि आफ्नो पक्ष बलियो बनाउनुपर्छ भन्ने प्रवृत्ति हाबी भयो। यस्ता गम्भीर समस्याका बाबजुद पनि पार्टीको नेतृत्वमा पुनः क. कञ्चन नै निर्वाचित हुनुभयो।

परन्तु महाधिवेशन भएको केही समयपछि केन्द्रीय समितिको दोस्रो पूर्ण बैठक बस्यो। उक्त बैठकको मूल कार्यभार नै नवौँ राष्ट्रिय महाधिवेशनबाट पारित दस्तावेजलाई गम्भीरतापूर्वक कार्यान्वयनको तहमा व्यवस्थित रूपमा लैजानु थियो। तर विडम्बना, महाधिवेशनबाट पारित दस्तावेजलाई समेत समयमै प्रकाशन गरी कार्यकर्ताको हातमा पुर्‍याइएन। पार्टीको विचार, सिद्धान्त, राजनीतिक कार्यदिशा र आगामी कार्यभारबारे स्पष्ट दस्तावेज नै कार्यकर्ताको हातमा पुग्न सकेन भने जनताले त्यसलाई बुझ्ने र ग्रहण गर्ने अवसर कसरी प्राप्त गर्न सक्छन्? यही कारणले पार्टीको प्रमुख नेतृत्व र तल्ला समितिमा कार्यरत नेतृत्व तथा कार्यकर्ताहरूबीच राजनीतिक, वैचारिक र संगठनात्मक बुझाइमा एकरूपता कायम हुन सकेन। बरु यो बैठकले लामो समयदेखि नेतृत्वको वरिपरि सीमित रहेको संरचनालाई फराकिलो बनाउने उद्देश्यले केही ऊर्जावान्, जुझारु र सम्भावनायुक्त युवा नेताहरूलाई पार्टीको स्थायी समितिमा समेट्यो। यसले संगठनभित्र नयाँ आशा, नयाँ ऊर्जा, नयाँ सम्भावनाको सञ्चार गरेता पनि त्यो निर्णय दीर्घकालसम्म टिक्न नसक्नु भनेकै नेतृत्वमा दृष्टिकोणको समस्या र संगठनात्मक स्थायित्वको अभाव, नेतृत्वहरूबीचको अविश्वास, आन्तरिक पार्टी संगठनभित्रको अन्तर्विरोधले आशावादी बनेका युवाहरू र ऊर्जावान् नेताहरू पुनः अन्योल र निराश हुने अवस्था सिर्जना भयो।

परन्तु पार्टी संगठनमा पुरानै रोगबाट ग्रसित भयो। यी रोगहरूको उपचार गर्नका लागि केन्द्रीय समितिको तेस्रो पूर्ण बैठक बस्यो। त्यो बैठकमा पार्टीभित्र ऊर्जावान् र सम्भावनाशील युवा नेताहरूको उपस्थिति थियो। तर दोस्रो केन्द्रीय समितिको बैठकले गरेका केही संगठनात्मक निर्णयप्रति उनीहरूले गम्भीर प्रश्नहरू उठाएका थिए। ती प्रश्नहरूलाई जनवादी केन्द्रीयताको विधि–प्रक्रियामार्फत बहस, छलफल र संघर्षका आधारमा समाधान गर्नुपर्ने थियो। तर प्रश्नहरूलाई वैचारिक तथा संगठनात्मक बहसको विषय बनाएर समाधान खोज्नुको सट्टा नेतृत्वमा त्यसप्रति पर्याप्त चासो–चिन्ता देखिएन। बरु, ‘पार्टीबाट गए पनि हुन्छ’ भन्ने प्रकारको नोकरशाही प्रवृत्ति प्रकट भयो। यही प्रवृत्तिले संगठनभित्र उठेका असन्तुष्टि र प्रश्नहरूलाई समयमै सम्बोधन गर्न सकेन। परिणामतः ऊर्जावान् कमरेडहरू संगठनभित्रै वैचारिक संघर्ष र रूपान्तरणको प्रक्रियामा सहभागी हुने वातावरण कमजोर हुँदै गयो। अन्ततः पार्टीबाट बाहिरिने परिस्थिति निर्माण भयो। वास्तवमा यो केवल केही व्यक्तिको बहिर्गमनको घटना थिएन, यसले पार्टीको वैचारिक एकता, संगठनात्मक अनुशासन, सामूहिक संघर्षको संस्कृतिमाथि गम्भीर प्रश्न खडा गर्‍यो। यस प्रवृत्तिले पार्टीभित्र व्यक्तिवादी अराजकतावाद, स्वच्छन्दवाद, उत्तरआधुनिकतावादी प्रवृत्तिहरूका कारणले संगठन कमजोर भए पनि फरक पर्दैन, संगठन छाडे पनि फरक पर्दैन, सामूहिक अनुशासन र संघर्षको प्रक्रियाभन्दा व्यक्तिगत असहमति नै निर्णायक हुन सक्छ भन्ने मानसिकता विकसित हुन थाल्यो। यस्ता प्रवृत्तिले पार्टी संगठनलाई बलियो बनाउने होइन, बरु विघटन र विखण्डनतर्फ धकेल्ने काम गर्‍यो।

परन्तु केन्द्रीय समितिको चौथो पूर्ण बैठकमा पार्टीभित्र देखापरेका अन्तर्विरोध र संगठनात्मक कमजोरीमाथि गम्भीर बहस तथा छलफल गर्दै तिनको समाधानको ठोस बाटो पहिल्याउने अपेक्षा गरिएको थियो। तर विगतकै प्रवृत्तिले निरन्तरता पायो। कसलाई कारबाही गर्ने, को आफ्नो र को पराया, कसले गुटबन्दी गर्‍यो भन्नेजस्ता व्यक्तिकेन्द्रित बहसले नै प्राथमिकता पायो। पार्टी संगठनलाई कसरी सुदृढ बनाउने, संघर्षलाई कसरी व्यवस्थित, प्रभावकारी र परिणाममुखी बनाउने तथा क्रान्तिको बाटोलाई कसरी अझ स्पष्ट, वस्तुगत र व्यवहारिक बनाउने भन्ने मूल प्रश्नहरूमा अपेक्षित गम्भीर वैचारिक बहस हुन सकेन। विचार र सिद्धान्तको स्पष्टताभन्दा भावनात्मक विषयहरूले बढी स्थान पाए। कार्यशैलीमा देखिएका कमजोरी, संगठनभित्र बढ्दै गएका असन्तुष्टि तथा अन्तर्विरोधका वास्तविक कारणहरू पहिचान गरी तिनको समाधान खोज्ने प्रयास पनि पर्याप्त हुन सकेन। पार्टीभित्रका अन्तर्विरोधलाई वस्तुगत रूपमा विश्लेषण गर्दै समाधानतर्फ अघि बढ्नुपर्ने अवस्थामा नेतृत्व स्वयं ‘को मेरो, को तेरो’ भन्ने संकीर्ण घेराभित्र सीमित हुन पुग्यो। त्यसैगरी, संगठनको वास्तविक अवस्थाको गहिरो अध्ययन र आवश्यक परामर्शबिना योजनाहरू कोठाभित्रै बन्न थाले। व्यक्तिगत सम्बन्ध, निकटता र गुटगत समीकरणले संगठनको वस्तुगत अवस्थालाई ओझेलमा पार्न गयो। फलतः पार्टी संगठनभित्र देखा परेका समस्याहरूको वास्तविक गहिराइसम्म पुग्ने, तिनका मूल कारण पहिचान गर्ने र दीर्घकालीन समाधानको बाटो पहिल्याउने कार्यमा नेतृत्वहरू अपेक्षित रूपमा सफल हुन सकेनन्।

परन्तु केन्द्रीय समितिको पाँचौँ पूर्ण बैठक, उक्त बैठकले पार्टी संगठनमा देखापरेका समस्याहरूको समाधान गर्दै संगठनलाई नयाँ उचाइमा पुर्‍याउनुपर्ने आवश्यकता थियो। तर पार्टीलाई सुदृढ र क्रान्तिकारी बनाउन निरन्तर मेहनत गरिरहेका बेला पार्टी नेतृत्वमा संशोधनवादी प्रवृत्ति देखा पर्न थाल्यो। पार्टी नेतृत्वले आफ्नो प्रस्ताव सचिवालयको बैठकमा प्रस्तुत गर्‍यो। उक्त प्रस्तावमा अर्धभूमिगत, अर्धवैधानिक आवरणमा नयाँ ढङ्गको राजनीतिक यात्रातर्फ अघि बढ्ने आशय प्रकट भयो। हामीले प्रश्न गर्‍यौँ, यदि पार्टीलाई निर्वाचन आयोगमा दर्ता गर्ने दिशामा जाने हो भने प्रचण्ड, बाबुराम, विप्लवसँग नवसंशोधनवाद तथा संसदीय संशोधनवादका विरुद्ध राजनीतिक वैचारिक संघर्ष गर्दै क्रान्तिकारी पार्टी निर्माण गर्नुको औचित्य के रह्यो? यही प्रश्नसहित सचिवालयको पूर्ण बैठकले उक्त प्रस्तावलाई खारेज गरिदियो। यस घटनापछि पार्टीको नेतृत्वप्रति गहिरो अविश्वास पैदा भयो। नेतृत्वको चिन्तनमा क्रान्तिको स्पष्ट दृष्टि हराउँदै संशोधनवादको प्रभाव देखिन थालेको अनुभूति भयो। संगठनभन्दा व्यक्ति प्रधानता देखिन थाल्यो, सिङ्गो केन्द्रीय समितिले गरेका निर्णयहरू कार्यान्वयन नहुने अवस्था सिर्जना भयो। व्यक्तिवादी प्रवृत्तिले पार्टीभित्र जरा गाड्न थालेको महसुस भयो। यस्ता प्रवृत्तिहरूले क्रान्तिकारी आन्दोलनलाई अगाडि बढाउन कठिन हुन थाल्यो। वर्गदुश्मनका विरुद्ध केन्द्रित गर्नुपर्ने ठाउँमा पार्टी संगठनभित्र अनावश्यक अन्तरसंघर्षमा समय खर्च भयो। परिणामतः वर्गसंघर्षलाई तीव्र बनाउनुपर्ने ऊर्जा र समय आन्तरिक विवाद, अविश्वास, संघर्षमै खपत हुन थाल्यो। यसले क्रान्तिकारी पार्टी निर्माणको हाम्रो मूल उद्देश्य र यात्रामाथि नै गम्भीर चुनौती खडा गर्‍यो।

परन्तु नेतृत्वको चाहनाविपरीत पार्टी केन्द्रीय समितिको छैठौँ पूर्ण बैठक बस्यौँ, तर तत्कालीन पार्टी महासचिव क. कञ्चनले बस्न मान्नुभएको थिएन। आफू अल्पमतमा पर्ने बैठक र राष्ट्रिय सम्मेलन किन गर्ने भन्ने अडान उहाँले राख्नुभएको थियो। तर बैठक नै नबस्ने हो भने पार्टी एकढिक्का कसरी रहन सक्छ भन्ने प्रश्न हामीले गम्भीरताका साथ उठाएका थियौँ। यतिबेला पार्टीलाई विभाजनबाट जोगाउँदै राष्ट्रिय सम्मेलनको आवश्यकतालाई मध्यनजर गर्दै अन्ततः पार्टीको बैठक पोखरामा बस्ने निर्णय गर्‍यौँ। तर बैठक सामान्य थिएन, विभाजनको बैठक बन्ने हो कि एकताको आधार तयार गर्ने बैठक बन्ने हो भन्ने गम्भीर प्रश्नले सताएको थियो। तथापि केही कमरेडहरूको अथक मेहनत र पहलका कारण बैठकमा व्यक्तिकेन्द्रित बहस र विवादहरू उठे पनि अन्ततः एक हदसम्म बैठकलाई एकताबद्ध दिशातर्फ लैजान सम्भव भयो। बैठकले सामूहिक नेतृत्वको अवधारणाअनुसार अध्यक्षमण्डल गठन गर्‍यो। प्रथम राष्ट्रिय सम्मेलनको मिति पनि ठोस गरियो। फरक दस्तावेजलाई तल्लो तहसम्म लैजाने निर्णय गर्‍यौँ। तर विडम्बना के भयो भने, व्यक्तिवादी अराजकताले केन्द्रीय समितिका निर्णयहरूलाई बेवास्ता गर्दै आफूखुसी ढङ्गले गतिविधि सञ्चालन गर्न थाल्यो। पार्टीको निर्णय, विधि र सामूहिक नेतृत्वको सुझाव–सल्लाहविपरीत गरिएका यस्ता गतिविधिले क्रमशः पार्टी संगठनलाई कमजोर र धराशायी बनाउने काम भयो। अझ दुःखद पक्ष त के रह्यो भने, यस प्रक्रियामा पार्टीको प्रमुख नेतृत्व नै सक्रियताका साथ लाग्नुभयो। पार्टी एकताको सम्भावना क्रमशः क्षीण हुँदै गयो। एकपछि अर्को गर्दै उत्पन्न भएका यिनै विवाद, असहमति र संगठनात्मक संकटका कारण सायद नेपाली कम्युनिस्ट आन्दोलनको इतिहासमै विरलै देखिएको एउटा दुःखद परिस्थिति सिर्जना भयो, जहाँ पार्टीको प्रमुख नेतृत्व नै विघटनको चक्रमा फस्न पुग्नुभयो।

अन्ततः
नेतृत्व फेरिँदै जानेछ, झण्डा फेरिँदै जानेछ, नाराहरू फेरिँदै जानेछन् तर जनताको अधुरो सपना भने उही ठाउँमा उभिइरहनेछ। त्यसैले क्रान्तिको यात्रा कुनै व्यक्तिप्रति अन्धसमर्पणको यात्रा होइन, जनताको मुक्तिको प्रश्नमा निरन्तर वैचारिक संघर्षमार्फत हरेक पराजयले नयाँ प्रश्न जन्माउँछ र हरेक अधुरो सपनाले नयाँ पुस्तालाई सोच्न बाध्य बनाउँछ। यसर्थ क्रान्तिको खोजी केवल विगतको गौरवगाथा दोहोर्‍याउनु होइन, आफ्नै कमजोरीमाथि निर्मम आत्मसमीक्षा गर्दै वैज्ञानिक समाजवादी क्रान्तिको यात्रा, उत्साह, संघर्ष, क्रान्ति वा विगतका अनुभवबाट सिकेर यस्तो राजनीतिक संस्कार निर्माण गर्ने हो, जहाँ प्रतिक्रान्तिभन्दा क्रान्ति ठूलो होस्, नेतृत्वभन्दा विचार ठूलो होस्, व्यक्तिभन्दा संगठन ठूलो होस्, संगठनभन्दा जनता ठूलो होऊन् र दलाल पुँजीवादी सत्ताभन्दा जनताको मुक्ति ठूलो हुनेछ।

लेखक  नेकपा (बहुमत) का युवा नेता हुनुहुन्छ।