दिपक चलाउने बने नेकपा (बहुमत) का महासचिव, ८५ सदस्यीय केन्द्रीय समिति चयन
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलनले उदयबहादुर चलाउने ‘दिपक’लाई महासचिव चयन गर्दै ८५ सदस्यीय केन्द्रीय समिति निर्वाचित गरेको छ ।

असोज ५ गतेदेखि काठमाडौंमा सुरु भएको सम्मेलन असोज ८ गते सम्पन्न भएको हो। सम्मेलनले पार्टीको नयाँ नेतृत्व तथा केन्द्रीय समिति चयन गरेको हो।
महासचिव प्रणाली अवलम्बन गरेको पार्टीले तत्कालीन अध्यक्ष मण्डलका अध्यक्षसमेत रहेका चलाउने ‘दिपक’लाई महासचिवमा चयन गरेको हो।
नवनिर्वाचित ८५ सदस्यीय केन्द्रीय समितिमा ३९ जना नयाँ सदस्य थपिएका छन्। त्यस्तै, पुरानो केन्द्रीय समितिमा रहेका १० जना नेताले केन्द्रीय समितिबाट बिदाइ लिँदै पार्टीमा फरक जिम्मेवारी सम्हाल्ने भएका छन्।
केन्द्रीय समितिबाट बिदाइ लिनेमा पूर्व स्थायी समिति सदस्यहरू कृष्ण धमाला ‘गम्भीर’, डिडी पाण्डे ‘प्रतीक’, देवकला अधिकारी ‘मुक्ति’ लगायत रहेका छन्।
महासचिवमा चयन भएका दिपक तत्कालीन जनमुक्ति सेनाका पूर्व डिभिजन सह–कमाण्डरसमेत हुन्।
सम्मेलनले नयाँ केन्द्रीय समिति चयन गर्नुका साथै पार्टीको आगामी राजनीतिक तथा सांगठनिक कार्यदिशासम्बन्धी विषयमा समेत निर्णय गरेको जनाइएको छ ।

