देवानगञ्ज र गोलबजार घटनामा दुई सीडीओसहित ८ अधिकारीलाई कारबाही सिफारिस
काठमाडौं । सुनसरीको देवानगञ्ज र सिरहाको गोलबजारमा भएका घटनाबारे छानबिन गर्न गठित समितिले दुई प्रमुख जिल्ला अधिकारी (सीडीओ) सहित ८ जना सुरक्षा अधिकारीलाई कारबाही गर्न सिफारिस गरेको छ।

दुवै समितिले भदौ २ गते गृहमन्त्री सुधन गुरुङलाई प्रतिवेदन बुझाएका थिए। प्रतिवेदन बुझाएको करिब एक महिना भए पनि अहिलेसम्म कार्यान्वयनमा आएको छैन। प्रतिवेदन सार्वजनिकसमेत गरिएको छैन।
सुनसरीको देवानगञ्ज गाउँपालिका–३ स्थित कप्तानगञ्जमा दुई समुदायबीचको विवादपछि साउन १० गते भएको झडपमा तीन जनाको मृत्यु भएको थियो। त्यसपछि साउन १४ गते सिरहाको गोलबजारमा प्रदर्शनका क्रममा प्रहरीसँगको झडपमा १८ वर्षीय गणेश यादवको मृत्यु भएको थियो।
छानबिन समितिले कप्तानगञ्जमा मृत्यु भएका तीनै जनाको मृत्यु सुरक्षाकर्मीको गोली लागेर भएको निष्कर्ष निकालेको छ। गोलबजारमा पनि प्रहरीको गोली लागेर गणेश यादवको मृत्यु भएको समितिको निष्कर्ष छ।
समितिले सुनसरीका तत्कालीन सीडीओ बासुदेव घिमिरे र सिरहाका सीडीओ सुरेन्द्र पौडेललाई कारबाही गर्न सिफारिस गरेको छ।
त्यस्तै, कप्तानगञ्ज घटनामा इलाका प्रहरी कार्यालय देवानगञ्जका तत्कालीन इन्स्पेक्टर राकेश राई, जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी चन्द्र खड्का र सशस्त्र प्रहरीका डीएसपी नन्दकिशोर महतलाई कारबाही गर्न सिफारिस गरिएको छ।
सिरहाका एसपी बासु पाठक, डीएसपी रमेश पाल र जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर सुमन नेपालीलाई पनि कारबाही गर्न सिफारिस गरिएको छ।
समितिले कारबाहीको प्रकृति भने तोकेको छैन। गृह मन्त्रालयका अधिकारीका अनुसार समितिले विभागीय कारबाही गर्न सिफारिस गरेको हो।
छानबिन समितिले देवानगञ्जको कप्तानगञ्जमा नेपाल प्रहरी र सशस्त्र प्रहरीबाट गोली चलेको तथा त्यसबाट तीन जनाको मृत्यु भएको निष्कर्ष निकालेको छ। गोलबजारमा भने प्रहरीको गोली लागेर गणेश यादवको मृत्यु भएको उल्लेख गरिएको छ।
दुवै घटनामा भिडबाट समेत गोली चलेको अफवाह फैलिए पनि छानबिन समितिले सुरक्षाकर्मीबाहेक अन्यत्रबाट गोली चलेको नदेखिएको प्रतिवेदनमा उल्लेख गरेको छ।
गृह मन्त्रालयले भने प्रतिवेदन अध्ययनको चरणमा रहेको जनाएको छ।

