कृत्रिम अभाव देखाएर ग्यासमा कालोबजारी भइरहेको छ : गुणराज लोहनी

काठमाडौं । खाना पकाउने ग्यासको चरम अभाव, कालोबजारी र बढ्दो महँगीविरुद्ध नेकपा (बहुमत) ले काठमाडौंमा विरोध प्रदर्शन गरेको छ ।

शनिबार माइतीघरदेखि बबरमहलसम्म गरिएको प्रदर्शनमा सहभागीहरूले थालमा काँचो चामल राख्नुका साथै खाली थाल बजाउँदै सरकारविरुद्ध नाराबाजी गरेका थिए ।

प्रदर्शनलाई सम्बोधन गर्दै नेकपा (बहुमत) का अध्यक्ष मण्डलका सदस्य गुणराज लोहनीले ग्यासमा कृत्रिम अभाव सिर्जना गरी कालोबजारी भइरहेको आरोप लगाए ।

उनले ग्यास डिलरहरूले दिउँसो अभाव देखाएर रातिको समयमा महँगो मूल्यमा ग्यास बिक्री गर्ने गरेको दाबी गरे । यस्तो कार्यमा प्रशासनिक निकाय तथा सम्बन्धित मन्त्रीहरूको संरक्षण र कमिसनको खेल रहेको आरोपसमेत लोहनीले लगाए ।

लोहनीले ग्यासको आपूर्ति तत्काल सहज बनाउन सरकारलाई चेतावनी दिँदै एक–दुई दिनभित्र समस्या समाधान नभए कालोबजारी गर्ने डिलरहरूको सूची सार्वजनिक गर्ने बताए ।

‘एक–दुई दिनभित्र सहज रूपमा ग्यास वितरण नभए कालोबजारी गर्ने डिलरहरूको सूची सार्वजनिक गरिनेछ,’ उनले भने, ‘त्यसपछि जनता आफैँ पुगेर ग्यास कब्जा गरी निःशुल्क वितरण गर्न बाध्य हुने अवस्था आउन सक्छ ।’

प्रदर्शनकारीहरूले ‘दुई तिहाइको सरकार, चार तिहाइको सङ्कट’, ‘भोको पेटले के भन्छ, भरी ग्यास दे भन्छ’ र ‘महँगीको मार, ग्यासको हाहाकार, कहाँ छ सरकार ?’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।

नेकपा (बहुमत) ले ग्यासको सहज आपूर्ति, कालोबजारी नियन्त्रण र बढ्दो महँगी तत्काल रोक्न सरकारसँग माग गरेको छ ।