ओलीको निरन्तरता र नेतृत्व त्यागको बहसमा अड्कियो एमाले पुनर्गठन

काठमाडौं । नेकपा एमालेको पुनर्गठनसम्बन्धी सुझावमा कार्यदलभित्र सहमति जुट्न नसकेपछि पार्टीभित्र नेतृत्वको निरन्तरता र त्यागको विषय पेचिलो बनेको छ।

काभ्रेको बल्थलीमा तीन दिनसम्म चलेको आवासीय बैठकमा उपाध्यक्ष रामबहादुर थापा र महासचिव शंकर पोखरेलले प्रस्तुत गरेका छुट्टाछुट्टै प्रतिवेदनमाथि छलफल भएको थियो। तर दुवै प्रतिवेदनका महत्वपूर्ण विषयमा सहमति हुन नसकेपछि साझा धारणा बनाउन थप गृहकार्य गर्ने निर्णय भएको छ।

थापाको प्रतिवेदनमा अध्यक्ष केपी शर्मा ओलीलाई नेतृत्वमै राखेर पार्टी अघि बढाउनुपर्ने धारणा प्रस्तुत गरिएको छ। महासचिव पोखरेलको प्रतिवेदनमा भने पार्टी पुनर्गठनका लागि नेतृत्वले त्याग गर्नुपर्ने लगायतका विषय उठाइएको छ।

दुई प्रतिवेदनमा देखिएको फरक धारणा मिलाउन उपाध्यक्षद्वय रामबहादुर थापा र विष्णु पौडेल तथा महासचिव शंकर पोखरेललाई जिम्मेवारी दिइएको छ। उनीहरूले बैठकमा उठेका विषयसमेत समेटेर साझा प्रस्तावको मस्यौदा तयार गर्नेछन्।

कार्यदल सदस्य तथा एमाले सचिव राजन भट्टराईका अनुसार बैठकमा उठेका विषयलाई समावेश गरी अन्तिम मस्यौदा तयार गर्ने जिम्मेवारी तीन नेतालाई दिइएको हो। त्यसपछि कार्यदलको अर्को बैठक बस्नेछ।

एमालेभित्र पुनर्गठनको विषयमा नेतृत्वको निरन्तरता, जिम्मेवारी हस्तान्तरण र पार्टी संरचनामा आवश्यक परिवर्तनबारे फरक–फरक धारणा देखिएपछि साझा निष्कर्षमा पुग्न थप छलफल आवश्यक भएको हो।