ग्यासमा कालोबजारी नियन्त्रण गर्न बहुमतका १२ जवसमोर्चाको चेतावनी

काठमाडौं । देशभर ग्यास अभाव चर्किँदै गएपछि नेकपा (बहुमत) निकट १२ वटा जनवर्गीय संगठन तथा मोर्चाले तत्काल ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न सरकारसँग माग गरेका छन् ।

आज संयुक्त प्रेस वक्तव्य जारी गर्दै उनीहरूले ग्यास अभावका कारण विद्यार्थी, सुत्केरी महिला तथा आम नागरिकले दैनिक जीवनमा सास्ती खेप्नुपरेको बताएका छन् । समस्या समाधान गर्नुको सट्टा सरकारका मन्त्री तथा ग्यास उद्योगी–व्यवसायी एक–अर्कालाई दोषारोपण गर्दै जिम्मेवारीबाट पन्छिन खोजेको उनीहरूको आरोप छ ।

उनीहरूले तत्काल ग्यास आपूर्ति सहज बनाउन, कृत्रिम अभाव र कालोबजारी नियन्त्रण गर्न तथा जनतालाई महँगी र अभावको मारबाट मुक्त गर्न सरकारसँग जोडदार माग गरेका छन् ।

साथै, ग्यास अभावका कारण जनताको विचल्ली बनाउने सरकारविरुद्ध संघर्षमा उत्रिन आम जनसमुदायलाई आह्वान गर्दै जनताका हरेक जनसंघर्षको नेतृत्व गर्न आफूहरू तयार रहेको घोषणा गरेका छन् ।

संयुक्त वक्तव्यमा अखिल नेपाल किसान महासंघका संयोजक गुणराज लोहनी ‘प्रविर’, अखिल नेपाल जनसाँस्कृतिक महासंघका संयोजक रोजन रखाल, अखिल नेपाल महिला संगठनकी संयोजक अञ्जना तामाङ, अखिल (क्रान्तिकारी) का संयोजक विरेन्द्र शाह, कम्युनिष्ट युवा संगठन नेपालका संयोजक झलक विश्वकर्मा, अखिल नेपाल जनस्वास्थ्यकर्मी संगठनका संयोजक लोकेन्द्र सार्की, प्रगतिशील खेलकुद महासंघ नेपालका संयोजक विवेक दाहाल, अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका कार्यकारी सदस्य दिनेश घिमिरे, जनक्रान्तिका घाइते तथा अपाङ्ग संगठन नेपालका संयोजक शिव गौतम, तामाङ राष्ट्रिय मुक्ति मोर्चाका संयोजक सुन्तली तामाङ, राई दनुवार राष्ट्रिय मुक्ति मोर्चा नेपालका संयोजक कुमार राई र माझी राष्ट्रिय मुक्ति मोर्चा नेपालका संयोजक भक्त माझीले हस्ताक्षर गरेका छन् ।

उनीहरूले ग्यासजस्तो अत्यावश्यक वस्तुको आपूर्तिमा देखिएको समस्या तत्काल समाधान नगरे जनस्तरबाट संघर्ष अघि बढ्ने चेतावनीसमेत दिएका छन् ।

यस्तो छ विज्ञप्ति :