जेनजीको आन्दोलन कब्जा गरेर संरचना ध्वस्त पारिए : सांसद विक

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) की सांसद पार्वती विकले जेनजी आन्दोलनको जगमा बनेको सरकारले आन्दोलनका उपलब्धिको रक्षा गर्न सक्यो वा सकेन भन्ने प्रश्न उठाएकी छन्।

प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै उनले जेनजी आन्दोलनको भावना अनुसार मुलुक अगाडि बढेको छ वा छैन भन्ने विषयमा गम्भीर समीक्षा आवश्यक रहेको बताइन्। भदौ २३ गतेको आन्दोलन वास्तविक रूपमा जेनजीहरूको भए पनि भदौ २४ गते आन्दोलन हाइज्याक गरिएको उनले दाबी गरिन्।

आन्दोलन कब्जा गरी सयौँ वर्ष लगाएर निर्माण गरिएको देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको संरचना ध्वस्त पारिएको उनले बताइन्।

मंगलबार शहीद दिवसका दिन माइतीघर मण्डलामा लक्ष्मीदेवीले आत्मदाहको प्रयास गरेको घटनाप्रति सरकार गम्भीर हुनुपर्नेमा उनले जोड दिइन्। नागरिकलाई आत्महत्या गर्नेसम्मको अवस्थामा पुर्‍याउने वातावरण किन निर्माण भयो भन्दै उनले सरकारलाई प्रश्न गरिन्।

प्रतिनिधिसभामा बोल्दै सांसद विकले भनिन्, ‘जेनजी आन्दोलनको जगमा बनेको सरकारले आन्दोलनका उपलब्धिको रक्षा गर्न सक्यो कि सकेन, त्यो ठुलो चुनौतीको विषय बनेको छ। २३ भदौको आन्दोलन साच्चिकै जेनजीहरूको आन्दोलन थियो, २४ गते जेनजी आन्दोलनलाई हाइज्याक गरियो र हामीले सयौँ वर्ष लगाएर बनाएका संरचना ध्वस्त बनाए।’

माइतीघरको घटनाबारे बोल्दै उनले थपिन्, ‘हिजो शहीद दिवस मनाउँदै गर्दा लक्ष्मीदेवीले आत्मदाहको प्रयास गर्नुभएको घटनामा म गम्भीर छु, किन आज नागरिकलाई आत्महत्या गर्नुपर्नेसम्मको वातावरण निर्माण गरियो? घाइतेहरूको उपचार किन भएन? आज किन शहीदका सपना पूरा हुन सकेनन्? २४ गते सिंहदरबार जलाउने को थियो? जेनजीहरूले आज २४ भदौको ध्वंसको जिम्मा लिँदैनौँ भनिरहेका छन्।’

जेनजी आन्दोलनसम्बन्धी राष्ट्रिय मानव अधिकार आयोगले तयार पारेको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न समेत सांसद विकले सरकारको ध्यानाकर्षण गराइन्।