विपद्मा चीनको अतुलनीय सहयोग, परराष्ट्रमन्त्रीले दिए धन्यवाद
काठमाडौं । नेपालमा आएको विनाशकारी बाढी र पहिरोपछि छिमेकी चीनले उद्धार तथा राहतका लागि सहयोग थप तीव्र बनाएको छ।

चीनको सहयोगले उद्दार र राहतमा सहयोग पुगेको मात्र छैन विस्थापितको व्यवस्थापन र पुनर्निर्माणमा पनि ठुलो भरोसा बढेको छ।
चीनको सहयोगप्रति परराष्ट्रमन्त्री शिशिर खनालले धन्यवाद समेत दिनुभएको छ। चिनियाँ राजदुतसँगको भेटमा उनले कृतज्ञता जाहेर गर्दै प्राकृतिक प्रकोपको मिलेर सामना गर्ने आवश्यकता पनि औंल्याए ।
बाढीले नेपाल र चीन दुबैतर्फ क्षति भएको चर्चा गर्दै मन्त्री खनालले प्रभावित क्षेत्रमा चीनको थप सहयोगको अपेक्षा गरे । उनले बाढीमा चिनियाँसहितका विदेशी नागरिक पनि परेकाले उनीहरुको खोज, उद्दार र राहत लाई पहिलो प्राथमिकता दिइएको बताए ।
परराष्ट्रमन्त्री र राजदुतबीचको खुला कुराकानीले यसअघि उत्पन्न केही आशंका र फैलाइएका भ्रम पनि अन्त्य भएकाछन् । यसअघि बाढी प्राकृतिक वा मानव सृजित भन्ने प्रश्न संसदमा उठाइएको थियोे । यस्तै, बाढी प्रभावित क्षेत्रमा रहेका आयोजना र नागरिकको सुरक्षामा पनि प्रश्न उठाइएको थियो ।
दुई देशबीच घनिभूत छलफल, सहमति र सहकार्यमाथि विशेष जोड दिइएको छ ।
बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहत सामग्रीसहित चिनियाँ टोली परिचालन भएको छ भने पछिल्लो चरणमा डीएनए परीक्षण विशेषज्ञदेखि पानी शुद्धीकरण उपकरणसम्म नेपाल आइपुगेका छन्।
विपद्का बेला चीनले नेपाललाई सहयोग गरेको यो पहिलोपटक भने होइन।
२०७२ सालको विनाशकारी भूकम्पदेखि कोरोना महामारी र मेलम्ची बाढीसम्म चीनले विभिन्न समयमा नेपाललाई गरेको सहयोगको शृंखला लामो छ।
भोटेकोसी तथा नेपाल–चीन सीमा क्षेत्रलाई प्रभावित बनाएको विनाशकारी बाढीपछि चीनले नेपालतर्फ राहत र उद्धार सहयोग विस्तार गरेको छ।
अगस्ट ३० मा चिनियाँ वायुसेनाका दुई वटा Y-20 ठूला सैनिक परिवहन विमान काठमाडौं आएका थिए। ती विमानमा बाढी प्रभावितका लागि करिब ५० टन आपत्कालीन राहत सामग्री, उद्धार उपकरण र सुरुङ उद्धारसम्बन्धी विशेषज्ञ टोली ल्याइएको थियो।
त्यसपछि सेप्टेम्बर १ मा चीनबाट राहत सामग्रीको दोस्रो खेप काठमाडौं आइपुग्यो। यसपटक ड्रोन, डीएनए परीक्षणका उपकरण तथा रिएजेन्ट, पानी शुद्धीकरण उपकरण र प्रकाश उपकरण ल्याइएको छ। साथै पाँच जना डीएनए पहिचान विशेषज्ञ पनि नेपाल आएका छन्। उनीहरूले विपद् प्रभावित क्षेत्रमा नेपाली पक्षसँग मिलेर काम गर्नेछन्।
त्यति मात्रै होइन, चीन सरकारले नेपाललाई २० लाख अमेरिकी डलर आपत्कालीन बाढी राहत सहयोग उपलब्ध गराएको छ। चिनियाँ रेडक्रसले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि थप २ लाख अमेरिकी डलर सहयोग गरेको छ।
चीनले राहत सामग्री र नगद सहयोगसँगै विपद् प्रभावित क्षेत्रका उपग्रह/क्षेत्रीय तस्बिर, जलविज्ञान तथा मौसमसम्बन्धी सूचना पनि नेपाललाई उपलब्ध गराइरहेको जनाएको छ।
सेप्टेम्बर ३ मा चीनले सहयोगको तेस्रो खेप नेपालमा पठायो । चिनियाँ जनमुक्ति सेनाको वायुसेनाको वाई २० ए ठूलो क्षमताको मालवाहक विमानमार्फत राहत सामग्री आयो । साथमा, चिनियाँ फोरेन्सीक विज्ञको १० सदस्यीय टोली पनि नेपाल आयो । चौथो खेप अन्तर्गत फोरेन्सीक विज्ञको टोली आएको हो ।

नेपालमा विपद् पर्दा चीनले फरक–फरक चरणमा आफ्नो सहयोग विस्तार गर्दै आएको देखिन्छ।
तर अहिलेको विपद् भने नेपाल र चीन दुवै देशलाई प्रभावित बनाउने सीमा क्षेत्रको प्राकृतिक विपद् भएकाले यसको प्रकृति विगतका विपद्भन्दा फरक छ।
यही कारण अहिलेको चिनियाँ सहयोगलाई केवल राहतमा सीमित नराखी उद्धार, पहिचान, सूचना आदानप्रदान र आगामी पुनर्निर्माणमा समेत केन्द्रित गर्नुपर्ने आवश्यकता देखिएको छ।
अहिलेको विपद्ले नेपाल–चीन सहकार्यलाई राहतबाट दीर्घकालीन विपद् व्यवस्थापन र जोखिम न्यूनीकरणतर्फ लैजाने अवसर पनि दिएको छ।


